तनहुँमा ‘लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो

तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो ।
पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ ।
उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।” प्रमुख डा शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, “पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।”
उहाँका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको छ । उहाँले भन्नुभयो, “यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।”
गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उहाँले बताउनुभयो । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरुसँग नरहेको डा शाहको भनाइ छ । उहाँका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएकालाई पशुको उपचार कार्य पनि जारी रहेको छ ।
खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ ।
त्यस्तै पशु सेवा शाखाबाट डा शाहलाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ ।
आँबुखैरेनी गाउँपालिकाले लम्पी रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ । पछिल्लो समय गाउँपालिकाका सबै वडामा उक्त रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो । गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने बताउनुभयो ।
खोप लगाउनका लागि वडा नम्बर १ र ६ मा अनिल थापा, वडा नम्बर २ र ३ मा चित्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ र ५ सम्पूर्ण थापालाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन् । लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए तापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उहाँको भनाइ छ ।
जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ । गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा शाहले बताउनुभयो । उहाँका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker