बन्द हुने भयो इन्टरनेट एक्स्प्लोरर

इन्टरनेट एक्स्प्लोरर बन्द हुने भएको छ । २७ वर्ष पुरानो यो वेब ब्राउजर जेठ १ (बुधबार) बाट सधैंका लागि बन्द हुने माइक्रोसफ्टले जनाएकाे छ । सन् १९९५ मा विन्डोज ९५ को एड–अन प्याकेजका रूपमा इन्टरनेट एक्स्प्लोरर सुरु भएकाे थियो । माइक्रोसफ्टको प्याकेज किन्दा एक्स्प्लोरर सित्तैमा उपलब्ध हुन्थ्यो ।

सन् ९० काे दशकमा इन्टरनेटमा प्रवेश गर्न प्राय: मानिसहरू इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्थे । त्यतिबेला यो खुब लोकप्रिय थियो । तर, अन्य ब्राउजरले गुणस्तरीय सेवा दिन थालेपछि एक्स्पोलररको लोकप्रियता घट्दै गयो । समय यस्तो पनि आयो, एक्स्प्लोररलाई स्लो स्पिडको पर्याय मान्न थालियो । यसको ढिलो गतिलाई लिएर अनेक मिमहरू बनेका छन् ।

पछिल्लो समय विन्डोजमा अन्य ब्राउजर इन्स्टल गर्न इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्ने गरिएको थियो । विन्डोज टेनबाट भने माइक्रोसफ्ट एजले एक्स्प्लोररको स्थान लिएको थियो । इन्टरनेट एक्स्प्लोरर बन्द भएपछि यसमा चल्ने वेबसाइट र एप्लिकेसनहरू अब एजमा हेर्न सकिनेछ । माइक्रोसफ्ट एजका प्रोग्राम म्यानेजर सन लिन्डरसेले भनेका छन्, ‘माइक्रोसफ्ट एज द्रुत, सुरक्षित र थप अद्यावधिक छ । साथै पुराना र प्रतिष्ठित वेबसाइट र एप्लिकेसनका लागि पनि यो निकै अनुकुल छ ।’

सन् ९० को दशकमा प्रयोगकर्तालाई इन्टरनेटबारे परिचित गराउन इन्टरनेट एक्स्प्लोरर विशेष माध्यम थियो । त्यो बेला एनसीएसए मोजाइक, नेटस्केपजस्ता ब्राउजर उपलब्ध थिए । नेटस्केप र एक्स्प्लोररबीच व्यापक प्रतिस्पर्धा हुन्थ्यो । सन् १९९७ मा माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोरर ४.० सार्वजनिक गरेपछि माहोल तात्तिएको थियो । कम्पनीले ठूलो आकारको ‘ई’ बनाएर नेटस्केपको मुख्यालय अगाडि स्थापना गरिदियो । नेटस्केपले ‘ई’ लाई त्यहाँबाट हटाएर मोजिलाको ठूलो डाइनोसर मस्कट राखिदियो ।

त्यसपछि माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोररलाई विन्डोज अपरेटिङ सिस्टममा समाहित गरेर विश्वभर निर्यात गर्न थाल्यो । चार वर्षभित्रमा यसले ७५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भयो । सन् १९९९ मा एक्स्प्लोररले ९९ प्रतिशत बजार हिस्सा ओगटेको थियो । बजारमा एकाधिकार कायम गरेकोमा माइक्रोसफ्टविरुद्ध मुद्दा हालियो । त्यही बेला नेटस्केपले आफ्नो कोडबेस (सोर्स कोड) सार्वजनिक गर्दै गैरनाफामूलक मोजिला ब्राउजर सुरु गर्‍यो । सन् २००२ मा यसले फायरफक्स बजारमा ल्याएपछि प्रयोगकर्ताले वेब ब्राउजिङमा विकल्प पाए ।

सन् २०१० सम्म आइपुग्दा ओपेरा, सफारी, गुगल क्रोमजस्ता ब्राउजर चल्तीमा आइसकेका थिए । यिनले एक्स्प्लोररको बजार हिस्सा स्वात्तै हटाइदिए । सन् २०१५ मा विन्डोज टेन सार्वजनिक गर्दा माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोररलाई माइक्रोसफ्ट एजले प्रतिस्थापन गरेको थियो ।

आजको दिनमा फायरफक्स, गुगल क्रोम, माइक्रोसफ्ट एज, सफारी र ओपेरा मुख्य प्रतिस्पर्धी हुन् । तर, अहिले इन्टरनेटमा पहुँच बनाउने अनेक तरिका आइसकेका छन् । अधिकांशले मोबाइल डिभाइसबाटै इन्टरनेटमा प्रवेश गर्ने गरेका छन् । तसर्थ, अनलाइनमा जान मोबाइल ब्राउजर र एप्लिकेसनको धेरै प्रयोग हुन्छ । अधिकांश कम्पनीले आईओएस र एन्ड्रोइड डिभाइसका लागि मोबाइल–मैत्री वेब ब्राउजर बनाइसकेका छन् । झन्डै तीन दशक लामो इतिहास भएको इन्टरनेट एक्स्प्लोरर बन्द हुने खबरले यसका पुराना प्रयोगकर्ता एक हिसाबले खिन्न बनेका छन् । आजसम्म पनि इन्टरनेट एक्स्पोलररबाटै वेब सर्फिङ गर्ने प्रयोगकर्ता छन् । एजेन्सिको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker