भूमिहिन सुकुम्बासी पहिचान र प्रमाणीकरणको काम अगाडी बढाउन माग
भञ्ज्याङ न्यूज

नेपाल भूमिहिन सुकुम्बासी संगठन तनहुँले भूमिहिन सुकुम्बासी पहिचान र प्रमाणीकरणको कामलाई अगाडी बढाउन माग गरेको छ ।
राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै संगठनले अघिल्लो आयोगले लिएको आवेदन फारम अनुसार काम अगाडी बढाउन, नापनक्सा गरी भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थितलाई व्यवस्थित गराउने कुरामा ध्यान दिन माग गरेको हो ।
संगठनका अध्यक्ष अर्जुन सेन्चुरीले बुझाएको ज्ञापनपत्रमा आयोग पुनःगठन भएको एक वर्षबितिसिक्दा पनि काम हुन नसकेको भन्दै कामलाई गति दिन आग्रह गरिएको छ ।
वि.सं. २०७६ साल चैत १२ गते गठन भएको तत्कालिन आयोगले स्थानीय पालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने क्रममा तनहुँ जिल्लाभर एक हजार एक सय ७० भूमिहिन दलित, एक हजार चार सय पाँच भूमिहिन सुकुम्बासी, २४ हजार अव्यवस्थित बसोबासी घरपरिवारले निवेदन दिएपनि काम अगाडी बढ्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।










