अब जिल्लाको विकासमा हलचल आउँछ : वरिष्ठ नेता पौडेल
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब जिल्लाको विकासमा हलचल आउने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले मलाई व्यवस्थाको चिन्ता भएकाले जिल्ला आउन कमी भएको बताउँदै अब विकासमा हलचल आउने दाँबी गरेका हुन् ।
आगामि संघीय निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रने आन्तरिक तयारी गरेका नेता पौडेलले पत्रकार सम्मेलनमा भने पार्टीको निर्णयानुसार अगाडि बढ्ने बताएका छन् ।
आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले पार्टीले आफ्नो आवश्यकता कसरी महसुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने बताएका छन् ।
‘मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुशलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ’, उनले भने, ‘१४औं महाधिवेशनमा सभापतिले देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो ।’
‘न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्छ’, नेता पौडेलले भने, ‘पार्टीभित्र कसैलाई पनि अन्याय हुन हुँदैन । पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ ।’
‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने हुन्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘विगतका सरकारले गरेका गल्ती दोहोर्याउने छुट वर्तमान सरकारलाई छैन ।’
वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रष्ट पारे । मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरुको मूल लक्ष्य रहेको पौडेलको भनाइ थियो ।
‘अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो’, उनले भने, ‘मुलुकमा स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन छ ।’










