अस्पतालबाट थुनुवाको भाग्ने असफल प्रयास
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली अस्पतालबाट एक थुनुवाले भाग्ने असफल प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेको थुनुवा अस्पताल लैजाने क्रममा भाग्ने प्रयास गरेका हुन् । चोरी मुद्दामा पक्राउ परेका भानु नगरपालिका-१ नयाँबस्तीका २० वर्षीय सुजन परियारले मंगलबार दमौली अस्पताल लैजाने क्रममा भाग्ने प्रयास गरेका थिए ।
आफुलाई सन्चो नभएको भनेपछि अस्पताल लगिएका उनी अस्पताल पुर्याउने क्रममा भागेका हुन् । उनलाई केही बेरमै व्यास नगरपालिका-३ स्थित शिवपञ्चायन मन्दिर नजिकबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए । उनले भने, ‘अस्वस्थ भएको भन्दै अस्पताल लैजाने क्रममा भाग्ने कोशिस गरेका हुन्, नियन्त्रणमा लिइसकेका छौ ।’
परियारलाई व्यास नगरपालिका-२ गणेशमानचोकस्थित लोकप्रिय स्वास्थ्य क्लिनिक चोरी गर्दै गरेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनले सोही स्वास्थ्य क्लिनिकबाट असार ३२ गते एक लाख ३५ हजार रुपैयाँ नगद चोरी गरेको आरोप लागेको छ ।









