तनहुँमा अदालतीय विवाह गर्नेको संख्या बढ्दै

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँमा पछिल्लो समय अदालतीय विवाह (कोट म्यारिज) गर्ने जोडीको संख्या बढ्दो छ । सामाजिक परम्परा अनुसार विवाह नगरी अदालतीय प्रक्रियबाट विवाहबन्धनमा बाँधिने जोडिको संख्या बढ्दै गएको छ ।

जिल्ला अदालत तनहुँको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १२ वटा जोडीले अदालतीय प्रक्रियाबाट विवाह गरिसकेका छन् । आ.व. २०७७/०७८ मा ५, आ.व. २०७६/०७७ मा २ र आ.व. २०७५/०७६ मा १३ वटा जोडीले अदालतीय प्रक्रियाबाट विवाह गरेका थिए ।

नयाँ मुलुकी देवानी संहिता लागू भएपछि जोडीहरु अदालतमा आएर विवाह गर्न थालेको श्रेस्तेदार मिनबहादुर कुँवारले बताए । उनले भने, ‘विदेशमा बस्ने नेपाली नागरिकले नेपालमा बसेका केटा/केटीलाई विवाह गरी पुनः विदेश लग्नुपर्ने हकमा वा अर्को विदेशी नागरिकसंग विवाह गर्ने हकमा बढि अदालतीय प्रक्रियाबाट विवाह गर्ने गरेको पाइएको छ ।’

संसारभर नै अदालतले दिएको प्रमाणपत्रलाई विश्वसनीय मानिने भएका कारणले पनि अदालतीय विवाह बढेको उनले बताए । ‘विश्वका सबै देशमा अदालतीय विवाहको मान्यता हुने हुँदा विदेशमा डिपेन्डेन्टमा लिएर जानका लागि पनि अदालतीय विवाह गरिएको देखिन्छ’, उनले भने, ‘जिल्लाको हकमा विदेशिएका नागरिकले आफ्ना प्रेमीप्रमिकालाई आफुसंगै लग्नका लागि वा विदेशी नागरिकसंग विवाह गर्नका लागि अदालतीय प्रक्रियाबाट विवाह गर्ने गरेका छन् ।’

पछिल्लो समय विभिन्न उद्देश्यका लागि विदेशिने नेपालीहरुको संख्या बढ्दो छ । अदालतमा विवाह गरेको प्रमाणपत्रले विदेशमा पनि सहज हुने भएकाले पनि अदालतीय विवाह गर्नेहरुको संख्या बढेको हुनसक्ने जिल्ला अदालतका तामेल्दार डिट्ठा योगेन्द्रदेव खनालले बताए ।

उनका अनुसार हालसम्म अदालतमा विदेशी नागरिकसंग र विदेशीयका नेपालीसंग गरी १८ वटा जोडीले अदालतीय प्रक्रियबाट विवाह गरिसकेका छन् । त्यस्तै, ७ जोडीले अदालतीय प्रक्रियाबाट अन्तरजातीय विवाह गरेका छन् ।

प्रायः नेपाली नागरिकले भारतीय र फिलिपिन्स नागरिकसंग अदालतमा आएर विवाह गरेका छन् । उनले भने, ‘नेपाली नागरिक सम्बन्धित देशमा जाने र उता प्रेम सम्बन्ध भएपछि नेपाल फर्किएको केही समयपछि अदालतीय प्रक्रियाबाट विवाहबन्धनमा बाँधिने गरेका छन् ।’

खनालका अनुसार दुवै नेपाली नागरिक भएको अवस्थामा सर्वप्रथम अदालतमा गएर विवाह गरिपाउँ भनेर निवदेन सहित केटाकेटीको स्थानीय ठेगाना रहेको स्थानीय तहबाट अविवाहित रहेको भन्ने सिफारिस पत्र बुझाउनुपर्ने छ । सबै कागजात जुटाइसकेपछि नागरिकताको सक्कल प्रमाणपत्रसहित इजलासमा पेश गर्नुपर्छ र श्रेस्तेदारले प्रमाणपत्र दिएपछि अदालतीय विवाह सम्पन्न हुन्छ ।

त्यस्तै विदेशी नागरिकसंग विवाह गर्दा नेपाली नागरिकले अविवाहित प्रमाणपत्र र विदेशी नागरिकले पनि सम्बन्धित देशको राजदूतावासबाट अविवाहित रहेको सिफारिस ल्याउनुपर्छ । सबै प्रक्रिया पूरा गरेपछि अदालतको इजलासमा पेश गरी श्रेस्तेदारले प्रमाणपत्र प्रदान गरेपछि अदालतीय विवाह सम्पन्न हुने प्रक्रिया छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker