“गण्डकी प्रदेशमा एमालेले बहुमतको सरकार बनाउँछ”
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेकपा (एमाले)का नेताहरुले गण्डकी प्रदेशमा आफ्नो सरकार बन्ने गरी आगामी चुनावमा बहुमत ल्याउने दावी गरेका छन् । केही स्थानीय तह र वडामा प्राविधिक कारणले जित निकाल्न नसकेकोमा प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप सुधार हुने नेताहरुको दावी छ ।
तनहुँको बन्दिपुरमा आइतबार र सोमबार आयोजित संगठनात्मक कार्यशालामा नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)ले संघ र प्रदेशमा बहुमतसहितको सरकार बनाउने दावी गरे । उनले देश अहिले एमालेमय भएकाले संघ र प्रदेश दुबैमा बहुमतका साथ सरकार बनाउने दाबी गरे ।
‘कम्युनिष्टको भविश्य देख्न चाहनेहरु अहिले नेकपा (एमाले)मा प्रवेशको लर्को चलेको र जनताले पनि विश्वास गरेको पार्टी नेकपा (एमाले) भएकाले जित सुनिश्चित छ’, उनले भने, ‘निष्ठा र प्रतिष्ठाको राजनीति गर्नेलाई जनताले सत्तामा पुर्याउछन् । कार्यनीति, सिद्धान्त र बैचारिक हिसावले अडिग भएर अघि बढ्नुपर्छ ।’
पार्टी केन्द्रीय संगठन विभाग प्रमुख एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले ‘पार्टी संगठन र समाधानका सम्बन्धमा’ कार्यपत्र प्रस्तुत गर्दै पार्टी कमिटी केन्द्रदेखि टोलसम्म सक्रियताका साथ चुनावमा होमिनुपर्ने बताए ।
पार्टीका सबै संगठनले सांगठनिक गतिविधि देखाएर अघि बढ्न उनले निर्देशन दिए । उनले भने, ‘समावेशीताको सिद्धान्त एमालेले मात्रै बुझेको छ । दलाल-नोकरशाही-पुँजीवादको अन्त्य गरेर समाजवादको आधार निर्माण गर्नेकार्यमा सबैले नेकपा (एमाले)लाई साथ दिन र गोलबद्ध हुन आव्हान गर्दछु ।’
पार्टी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले ‘संगठनात्मक अवस्था, समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपा (एमाले) को जितको आधार नै संगठन भएको बताइन् । पार्टीको सबै जनसंगठनको सक्रियता र जनताको भरोसाबाट नेकपा (एमाले) आगामी चुनावमा पहिलो पार्टी बन्ने अवसरलाई सबैले सदुपयोग गर्न उनले आग्रह गरिन् ।
कार्यक्रममा पार्टीको जनसंगठन संयोजक भानुभक्त ढकालले जनसंगठन क्रियाशील भएमात्रै पार्टीले विजयी हासिल गर्ने भएकाले जनसंगठन सक्रिय ढंगले लाग्न आग्रह गरे र पार्टी संगठन सदस्य कर्ण थापाले नेकपा (एमाले)मा नयाँ सदस्यता लिने र नवीकरण गर्ने क्रम बढेको भन्दै भदौ १५ गतेभित्र सबैले पार्टी सदस्यता नवीकरण गर्न आग्रह गरे ।
कार्यशालामा विभिन्न जिल्लाबाट सहभागि जिल्ला अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलगायत गरी ११ र जनसंगठनको एउटा गरी १२ समूह गरेर पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव संकलन गरिएको छ ।
नेकपा -एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष मोहन रेग्मीले स्वागत गरेका थिए भने सचिव धनञ्जय दवाडीले सहजिकरण गरेका थिए ।









