माघको सोमवार नै व्यासेश्वर महादेवको व्रत किन ?

देव बस्न्यात

लौकिक कथा

कुनै एक समयमा पारकोट भन्ने देशको बन्देथोकमा एक जना ज्यादै धनवान व्यापारी बस्दथ्यो । उस्को नाम मनजित थियो । मनजितको घरमा धनको कुनै कमी थिएन। सन्तान सुखको लागि उस्ले ७/७ वटी कन्यासंग विवाह गरेको थियो । तरपनि उक्त साहुलाई सन्तान सुख भने प्राप्त हुन सकेन । दिन प्रतिदिन मनजित बूढो हुँदै गयो । सन्तान नभएकाले मनजितलाई चिन्ता बढदै गयो । अनेकौं ज्योतिषहरुकहाँ आखर देखाउन गयो । अनेकौ बैद्यहरुकहाँ उपचारको लागि गयो । भने सुनेका अनेक उपायहरु अबलम्बन गर्‍यो। तैपनि त्यस मनजितको सन्तान प्राप्तिको समस्या समाधान हुन सकेन । यस पृथ्वीमा रहेका शिवका अनन्य भक्तहरु मध्येमा मनजित धनसम्पतीले परिपूर्ण भएता पनि सन्तान नहुनाले सदैव दुःखी बनेको थियो । उस्को शरीरमा दिनको भोक र रातको निन्द्रा पनि हरायो । उ पागल जस्तै भयो । उ यत्रतत्र भौंतारिएर घुम्न थाल्यो ।

एक दिन महादेव पार्वती आफ्नै शिवमहलको बार्तलीमा बसेर गफ गर्दै थिए । आफ्ना अरुका भक्तहरुका कथा प्रसङ्गहरु चलाई रहेका थिए । त्यही बेला पार्वतीले सन्तान बिनाको दुःखी तर व्यवहारले धनी व्यापारी साहुलाई सम्भिmइन । भगवान शिवको अनुहार तर्फ हेरेर अकमकाई अकमकाई भन्न थालिन । हे प्रभो हजुरको लिला पनि अपरामपार छ । सन्तान भएर दुःखी भएका र सन्तान नभएर दुःखी भएका दुबै थरी देखी रहेको छु । सन्तानले डाँडाकाँडा ढाकेकाहरु काहाँ सन्तान माथि सन्तानको खाताखात छ । सन्तान नहुनेहरुकहाँ नभएको नभएकै छ । हे प्रभो ! हजुर दुःखीलाई दुःखै दुःख र सुखीलाई सुखै सुख प्रदान गर्नुहुँदो रहेछ । सन्तान भएर दुःखी भएका र सन्तान नभएर दुःखी भएको पनि दुबै थरिदेखि रहेको छु । हजुर दुःखीलाई दुखैदुःख र सुखीलाई सुखैसुख प्रदान गर्नु हुँदो रहेछ । जस्को सन्दुसमा सुन छ उस्कै घरको सेफमा हिरै हिराले भर्ने काम गर्नुहुँदो रहेछ । हे प्रभु यो त भेदभाव भएन र – यो त अचाक्ली भएन र ? यो त परकाष्ठा नै भएन र ? प्राण भन्दा प्यारी संगिनी पार्वतीको गम्भिर प्रश्नले भगवान शिवजीलाई धर्म संकट बनायो । महादेव भन्छन् हे पार्वती मानिसहरुको सुख दुःख र रस रङ्ग लगायतका विविध पक्षबारे बुझ्न पृथ्वीमा मनुष्य भएर जन्मनु पर्दछ । पार्वतीलाई बुझाउन महादेवले लाख प्रयास गरे । पार्वतीको हठको अगाडी महादेवको केही सीप चलेन ।

कुनै एक दिन महादेव पार्वती दुबै पति पत्नीको रुपमा मानिसको रुप धारण गरेर घुम्दैघुम्दै अन्नापूर्ण श्रृङ्गखलाको काखमा अबस्थित शङ्करतीर्थ आइपुगे । साँझ परेकोले पार्वतीले शंकर तीर्थमै बास बस्ने विचार गरिन । हे पार्वती यहां भयानक मुख भएकी, ठाउँ न कुठाउँ डरलाग्दो कर्कश स्वरले कराउँदै हिंड्ने स्वभाव भएकी, मानव जीव समेत घात गर्ने स्वाभावकी लामाखुट्टा भएकी औल वंशकी डेङ्गुरुपि कर्कटी राक्षशी र जती गुन लगाए पनि गुनै नदेख्ने बैगुनी निरगुनी (निर्गु) राक्षसहरु बस्दछन् । यस शङ्कर क्षेत्रमा बास बसियो भने ती राक्षस र राक्षसीहरुले हाम्रो मानवरुपी शरिरलाई मृत्युको सन्मुख पुर्‍याउने भएकाले वरपरका गाउँहरुमा घरबास खोज्न पर्ने व्यहोरा शङ्करजीले पार्वतीलाई बताए । तसर्थ हे पार्वती नजिकैको गर्गऋषिको तपस्थली गल्बुगाउँमा बास बस्न जाऔं भने । गल्बुगाउँमा जाने क्रममा उही दुःखी व्यापारी शङ्कर तीर्थमा भौतारिदै भौतारिदै हिडिरहेको पार्वतीले देखिन । महादेव माथि उस्को भक्ति भाव देखेर पार्वतीलाई सारै दया जागेर आयो । पार्वतीले महादेवलाई भनिन् हे महादेव यो व्यापारी हजुरको अनन्य भक्त हो । यो हजुर प्रति साह्रै नै भक्ति भाव राख्दछ । तर सन्तान सुख प्राप्त गर्न नसकेर भौतारियर हिंडिरहेको छ । सन्तानकै खातिर पागल जस्तै बनेर हिंडी रहेको छ । हे महादेव हजुरले यस्को मनोकामना पूर्ण गर्नै पर्दछ भनेर पार्वतीले जोड दिइन ।

महादेव भन्नु हुन्छ, हे! पार्वती यो संसार कर्मक्षेत्र हो । खेतमा कोदो रोपेर धानको फल प्राप्त गर्न सकिंदैन । कोदो रोपेको ठाउँमा कोदोको फल नै पाउन सकिन्छ । त्यसैले हे पार्वती ! जस्ले जस्तो कर्म गरेको छ त्यस्तै फल प्राप्त गर्दछ । यस व्यापारीले पूर्व जन्ममा सन्तान प्राप्त गर्ने कुनै कर्म गरेको छैन । त्यसैले यस जन्ममा उस्लाई सन्तान सुखको भाग्य नै छैन । पार्वतीले अत्यन्त विनम्रका साथ महादेवलाई भन्नुभयो हे! महादेव हजुर आफ्ना भक्तहरु प्रति दयालु हुनुहुन्छ । भक्तहरु प्रति दया गर्नु हुन्छ । आफ्ना भक्तहरुको समस्त दुःख हरण गर्नुहुन्छ । यदी हजुरले यस व्यापारीको दुःखकष्ट हरण गर्नु भएन भने देवीदेवता प्रति मानिसहरुमा रहेको आस्था स्वतहः हट्दै जान्छ । केही प्राप्त हुँदैन भने मानव जातिहरुले हजुर हाम्रो सेवा व्रत नै किन गर्ने ? भक्तलाई वरदान नदिने भगवानको पूजाआजा किन गर्ने ? अहिले त सच्याईको नाममा नेपालमा क्रिश्चियन धर्म, ताओ धर्म, इस्लाम धर्महरुको प्रचार प्रसार बढेको छ रे । नेपालमा कंशहरुले शासन गरेका हुनाले सनातनधर्म मान्नेहरुलाई सैतान भन्न थालिएको छ भन्ने सुन्छु । त्यसै सनातन धर्म मान्ने नेपाली भक्तहरुको संख्यामा कमी हुँदै छ रे ! भन्ने सुनेको छु । मानिसले हाम्रो पूजा आराधाना छोडे भने हाम्रो महत्व नै के रहृयो र । पार्वतीको कुरा सुनेर महादेवको मन पग्लियो। महादेव भन्नु हुन्छ हे पार्वती यस व्यापारीले पूर्व जन्ममा सन्तान प्राप्त गर्ने कुनै धर्म कर्म गरेको छैन । त्यसैले दुःखी भएर यो हालतमा आफ्नो जीवन व्यतित गरिरहेको छ । यसको भाग्यमा सन्तानै हुने योग नै छैन । तथापि हे! पार्वती त्रि्रो आग्रहमा म यस व्यापारीलाई १२ वर्षमात्र आयु भएको पुत्र प्राप्तिको वरदान दिनसक्छु । त्यो भन्दा बढी सुख प्राप्त गर्ने सुअवसरहरु यस्को ललाटमा लेखेको छैन । हे पार्वती ! र्सवप्रथम यो श्लोकको अर्थ त्यस व्यापारीलाई सम्झाउ ।

शिवस्याभ्यान्तरे शक्ति शक्ते रभ्येन्तरेशिवः।
अन्तर नैवजानीयत चन्द्र चन्द्रिक योरिवः।। -सिद्धासिद्यान्त पद्धति)

जसरी चन्द्रमासंग चांदनी कहिल्यै भिन्न हुँदैन त्यसै गरी शिव र शक्तिमा अन्तर कहिल्यै हुँदैन । शिव भित्रै शक्ति छिन र शक्ति भित्रै शिव छन् ।१ शक्ति बिनाको शिव शव हो । शव माने आत्मा बिनाको शरिर हो। जस्लाई सरल भाषामा मरेको अर्थात लाश भन्ने गरिन्छ। संस्कृतको शिःसा शब्दमा रहेका “शिः”ले भगवान शिव र “सा”ले भगवान शिवको अर्द्धाङ्गनिी पार्वतीलाई इङ्गित गर्दछ । तर्सथ शिशाको अर्थ हुन्छ “शिव पार्वती” अर्थात शिवशक्ति । यसबाट शिव र शक्तिको अनन्य सम्बन्ध छ भन्ने बुझिन्छ । त्यसैले हे ! पार्वती तिमी त्यस मनजितको समिप गएर विशेष गरेर माघ महिनाको सोमवारका दिन अर्धनारीश्वर स्वरुप व्यासेश्वर महादेवको पूजा आरधाना गर्न उत्प्रेरित गर । पूजा आराधना पश्चात शिवपुराण पाठ गर या शिव पुराण सुन्ने गर भगवान व्यासेश्वर महादेव खुसी भएर तिमीलाई सन्तान प्राप्तिको वरदान दिनेछन भनेर त्यस व्यापारीका छेउ गएर भगवान शिवजीको तपस्या गर्ने विधि सुनाएर आउ भन्दा भए ।

महादेवको अनुमती पाएकी पार्वतीले त्यस व्यापारीको छेउ गइन र भनिन । हे मनजित सोमबार शिवजीको प्रीय दिन हो । प्रत्येक सोमबारको दिन भगवान व्यासेश्वर महादेवको पूजा आराधना गरे । भगवान शिवजी चांडै खुसी हुनेछन । पार्वतीले भनिन हे मनजित बिहान बेलुका ç नमः शिवाय तथा ç व्यासेश्वर महादेवाय नमः मन्त्रका साथ भगवान शीवजीको पूजा आराधना गर। दिउँसो २ देखि ३ बजेको समय भित्र नुन र तेल नमिर्साई बनाइएको शाकाहारी परिकार एक छाक मात्र खाएर व्रत बस्नुपर्दछ भनेर सुनाइन । तब मात्र तिमीलाई सन्तान सुख मिल्नेछ भनेर सुनाइन् । व्यासेश्वर महादेवको पूजा आरधना गरेमा कुमारी कन्याले राम्रो सुयोग्य वर, विवाहिता स्त्रीले पूजा आरधना गरेमा परिवारमा सुख शान्ति र पतिको लामो आयु र विवाहित तथा अविवाहित पुरुषले भगवान व्यासेश्वर महादेवको पूजाआजा गरेमा पतिवर्ता पत्नी र गुणीपुत्र प्राप्त हने बताइन । माता पार्वतीको सल्लाह प्राप्त गरेको उक्त साहुले माघ महिनाको पहिलो सोमवारदेखि १००८ सोमवारका दिनहरुमा पुत्र प्राप्तिको कामना गर्दै हरेक दिन विहान उक्त शिलाशैल कैलाश पर्वतमा गएर भगवान व्यासेश्वर महादेवको मन्दिरमा श्रीविर्गह अगाडि र साँझमा मुकुन्देश्वरी डाँडको गुफामा गएर मणिमुकुन्देश्वर महादेवको शिलामा दियो बालेर पूजाआराधाना गर्दो भयो। यसरी दिव्य १००८ हप्ता उक्त व्यापारीले व्यासेश्वर महादेवको मन्दिरमा बिहान र साँझमा मुकुन्देश्वर महादेव मन्दिरको श्रीविर्गह अगाडि दियो बाल्ने गर्दथ्यो ।

भगवान शिव मनजितको व्रतबाट प्रभावित हुनुभयो । भक्तको व्रतबाट खुसी भएका भगवानले मनजितलाई इच्छाएको बरदान माग्न आग्रह गर्नुभयो । हे प्रभु आजसम्म मेरो कुनै सन्तान भएका छैनन् । सन्तान नभएका कारण मैले दुःखी जीवन व्यतित गरिरहेको छु । हे प्रभु मरणोपरान्त पिण्ड पानी दिने सन्तानको रुपमा एउटा छोरा बरदान पाउँ । हे मनजित तेरो भाग्यमा सन्तान नै छैन । तथापि भक्तको आग्रहलाई म नकार्न सक्दिन । तसर्थ म तिमीलाई १२ वर्षको आयु भएको पुत्र प्राप्तिको बरदान दिन्छु । यस बाहेक म तिमीलाई अन्य सन्तान सुख भने दिन सक्दिन । भगवानको बरदानबाट मनजितमा हर्ष पनि भएन र बिस्मात पनि भएन । पुत्रप्राप्ती हेतु शिलाशैल मन्दिर गई व्यासेश्वर महादेवको निरन्तर पूजाआराधाना गर्दो भयो । उसले पूजा आरधनालाई निरन्तरता दिंदै रहृयो । केही समय व्यतित भएपछि प्रभुको कृपाले मनजितको श्रीमती गर्भवती भई । गर्भ रहेको दश महिना पछि साहुनीले अति सुन्दर छोरो पाईन । छोरो जन्मिएको खुसियालीमा महाजनको घरमा ठूलो उत्सव मनाइयो । छोटो आयु भएको छोरा जन्मिएकाले मनजितलाई कुनै प्रसन्नता भएन । सबैका अगाडि महाजन पनि खुसी व्यक्त गरी रहेको थियो । बालक ११ वर्षो भयो। आमाले छोराको व्रतबन्ध, बिबाह आदि संस्कार सम्पन्न गर्ने कुरा उर्ठाईन। छोराको आयु थोरै भएकाले यस बारेमा मनजितले कुनै वास्ता देखाएन । तर पनि मनजितले विद्या आर्जन गर्नका लागि छोरालाई काशी -कास्की) पठाउने निधो गर्‍यो ।

व्यापारी मनजीतले आफनै साला यज्ञजितको साथमा छोरा कालजीतलाई विद्या अध्ययनका लागि काशी (कास्की) पठायो । तिमीहरु जुन स्थानमा पुग्दछौ त्यहाँ/त्यहाँ गएर यज्ञ र ब्राहृमण भोजन गराउँदै विद्या आर्जनका लागि काशी जानु भनेर साहुले आवश्यक खर्चपर्च दिएर पठायो । मामा भान्जाहरु पनि यज्ञ सम्पन्न र ब्राहृमण भोजन गराउँदै आफ्नो यात्रा अगाडी बढाउँदै गएका थिए। जाँदाजाँदै बाटोमा खैरेनी शहर थियो । सोही खैरेनी शहरमा दगामकोटे राजाको छोरीको विवाह हुँदै थियो । ऋषिङ्ग रानीपोखरीबाट राजाकी छोरीको बिबाह गर्न बरियात लिएर आउँदै थिए। बेहुला हुने ऋषिङ्गे राजकुमार भने जन्मजात काना थिए। काना राजकुमारलाई राजकुमारी देलान नदेलान राजालाई चिन्ता बढदै गयो । राजाको मनमा छली विवाह गर्ने सोच पलायो । त्यही बेला बेहुला राजकुमारका बरियात र महाजन पुत्र बीच दुलेगौंडामा अचानक भेट भयो । ऋषिङ्गे महाराजले आफ्ना बेहुला राजकुमार भन्दा महाजन पुत्रलाई अति सुन्दर देखे । सुन्दर महाजन पुत्रलाई बेहुला बनाई बारात अगाडि बढाउने तर्फराजाको मन गयो । राजाले सुन्दर महाजन पुत्र र उस्को मामा यज्ञजितसंग भलाकुशरी गरे। राजाको प्रस्तावमा दुबै मामा भान्जाले स्वीकारे । दुबै पक्ष बीच सहमती भयो । सहमती अनुसार महाजन पुत्र बेहुलाको पहिरन लगाएर बरियाँतपछि लगाई राजदरवारमा जाँदा भए । राजाले महाजन पुत्रको सहयोगमा बिबाह यज्ञ, गोडधुवा, सप्तपदी, सातफेरा र कन्यादान लगायतका सम्पूर्ण कार्य सम्पन्न गर्ने विचार गरे । बिना रोकतोक महाजन पुत्र र राजकुमारी बीचको विवाहको काम सम्पन्न भयो । त्यसै बेला मामा यज्ञजितले राजकुमारीको पछयौरीको एक छेउमा हे राजकुमारी ! ति म्रो विवाह त छलपूर्वक मेरो भान्जा यमजितसंग सम्पन्न भएको छ । जुन राजकुमारसंग त्रि्रो विवाह हुने भनिएको थियो त्यो राजकुमार कानो छ । मेरो भान्जा विद्या आर्जनका लागि काशी जाँदै छन् भनेर लेखिदिएका थिए ।

विवाह सम्पन्न भएपछि राजाले महाजन पुत्र यमजितलाई यथेष्ट धन दौलत दिए र बिदाई गरे । तर उता महाजन पुत्र गएपछि राजकुमारीले मेरो बिबाह ऋसिङ्गका राजकुमारसंग नभइ अरु कुनै महाजन पुत्रसंग विवाह भएकोले राजकुमारसंग ऋषिङ्गको दरबार भित्रिन सक्दिन भनिन । मेरा असली पति त विद्या आर्जनका लागि काशी गएका छन । अध्ययन सिध्याएर घर फर्केपछि मात्र म आफ्नो घर जानेछु भनेर राजकुमारीले सबैलाई सुनाइन । केही छिनको सोधखोजबाट राजकुमारीका माता पिताले सही कुरा पत्ता लगाए । राजाले राजकुमारीलाई ऋषिङ्गे राजकुमारका साथ कन्या बिदाइ गरेनन् । जन्ति बेहुली बिना रित्तै ऋषिङ्ग दरवारमा फिर्ता भयो । उता महजन पुत्र र उसको मामा काशी -कास्की)मा पुगे । यमजितले आफ्नो पढाइ र यज्ञयज्ञादि कर्म सँगसँगै गर्दै गयो । यमजित बाह्र वर्ष पुगेको दिन पनि यज्ञको आयोजना भइरहेको थियो । यमजित अचानक बिरामी भयो । मामा आज मलाई सञ्चो भएन के गरुं भन्यो । “भान्जा ! हजुर भित्र कोठामा गई आराम गर्नु होला । अरु सबै काम म तयार गरौला” भनेर मामाले भन्यो । यज्ञ यज्ञादि काम गर्न मामा भान्जालाई बोलाउन कोठा भित्र गयो । आराम गर्न कोठामा गएको भान्जाको केही समय भित्रमै यमदुतहरुले प्राण पखेरु उडाएर यमलोक लाँदा भए । मामालाई भान्जाको प्राण पखेरु उडे जस्तो लाग्यो । मामाले भान्जाको नाडी छाम्यो । भान्जा साँच्चिकै र्स्वर्गवास भएका रहेछन् । भान्जा मरेको देखेर मामालाई साह्रै पिर पर्न गयो । यदी मैले भान्जाको मृत्यु शोकका कारण यज्ञ कार्य गरिन भने, भान्जाको मायाँले रुन कराउन थाले भने यज्ञको सम्पादनमा विघ्न आउने छ भन्ने महसुस गर्‍यो । यथाशी घ्र यज्ञजितले यज्ञ सम्पन्न गर्नमा मन केन्द्रित गर्दो भयो । यज्ञ सम्पन्न हुनासाथ ब्रहृमणलाई सिधा दान दिएर बिदाबादी पनि गर्‍यो ।

मामा यज्ञजित भान्जाको मृत्युमा रुन, कराउन र छट्पटाउन थाल्यो । संयोगवस त्यस दिन माता पार्वती आफ्ना पति भगवान शिवजीको साथ त्यही बाटो आफ्नो माइती देश अन्नपूर्ण हिमाल तर्फगइरहेकी थिइन । बाटोमा कुनै मान्छे ठूलो स्वरले रोइरहेको आबाज माता पार्वतीले सुनिन । माता पार्वतीले शिवजी तर्फर्फकदैं भन्नुभयो हे स्वामि महाराज ! यहाँ नजिकै कुनै दुखिया रोइ रहेको छ । हे भगवान उस्को कष्ट निवारण गरिदिनुहवस् भनिन् । शिव र पार्वती दुबै जनाले नजिकै गएर हेरे । पार्वतीले चिनी हालिन, हे भगवान यो त त्यही महाजन पुत्र हो । जो हजुरको वरदान स्वरुप महाजनले पुत्र उपहार पाएको थियो । शिवजीले आज्ञा गर्नु भयो हे पार्वती! जतिसम्म यो बालकको आयु थियो त्यति यस्ले भोग गरिसकेको छ । अब कुरा नगर म सुन्नेवाला छैन भनेर शिवजीले मुण्टो बटार्नु भयो रे! महादेवले पार्वतीलाई भन्नु भयो हे भगवान यी दुबै मामाभान्जा दिन रात हजुरकै नाममा यज्ञयज्ञादि गरेर हिंडिरहेका छन् । मर्ने समयको अन्तिम समयसम्म यमजित हजुरकै पूजामा तल्लिन थियो। भक्तहरु उपर दया धर्म गर्नुपर्दछ । तर्सथ हे भगवान यस बालकको आयु बर्ढाई दिनुहवस नत्र यसका मातापिता तड्पी तड्पी मृत्यु वरण गर्नेछन्। पार्वतीको बारम्बारको आग्रह र भगवान शिवजीले आफ्ना पाली (भक्त)हरु प्रति अनुपम निगाह जताएकाले कालजितले पुनः नवजीवन प्राप्त गर्दो भयो ।

पशवजीको कृपाले कालजित जीवित हुन पुग्यो । शिव र पार्वती कैलाश तर्फलाग्दा भए । भान्जाले पुनःजीवन प्राप्त गरेकाले मामाभान्जा दुबै जना पहिले जसरी यज्ञदान र ब्रहृमण भोजन गर्दथे त्यही रीतले कर्महरु गर्दै घर तर्फो साइत गर्दा भए । मामाभान्जा दुबै जना मिलेर खैरेनीटारमा पुगेर पुनः यज्ञ प्रारम्भ गरे। महयज्ञको खरानीको थुप्रो देखियो। खरानीको थुप्रो भएकाले खरानीटार भनियो। कालन्तरमा खरानीटार खैरेनीटारले सम्वोधित हुन थाल्यो । दगामकोटे राजाले त्यस महाजन पुत्र कालजित र उस्को मामा यज्ञजितलाई चिनेर दरबार लगेर हार्दिक स्वागत गरेका थिए । राजकुमारीले आफना पतिदेव आएको थाहा पाएर गोडाधोइ गोडाको पानी खाई हार्दिक स्वागत गर्दीर् भइन् । गलेखामकोटे राजाले छोरी ज्वाईलाई धेरै धन सम्पती नोकरचाकरका साथ बिदा गर्दा भए । घर नजिक आई पुगेपछि मामा यज्ञजितले छोरा शेराबेसी आइपुगेको खबर बाबा आमालाई सुनाउँदा भए । उता बाह्र वर्षपुगेपछि केटाको मातापिता मुकेन्देश्वरीको कोट पुगेर खड्गदेवीको पूजा आरधना गरेर छोरा आउने बाटो हेरिरहने गर्दथे ।

छोरा सकुशल घर फर्किएको खबरले महाजनका बूढाबूढी दुबैले हर्षाश्रु बहाउँदा भए । छोरा सकुशल फर्किएमा मुकुन्देश्वरीबाट बन्दिपुर घर फर्किने र नआएमा भिरबाट हामफालेर प्राणत्याग गर्ने भनि प्रतिबद्ध भइ छोराको बाटो कुरेर बसेका थिए रे । पुत्रबधु र प्रशस्त धन सम्पति समेत लिएर छोरा आएको खबर आफ्ना बन्धु यज्ञजितबाट थाहा पाएर उक्त महाजनका बूढाबूढी छोरा, बुहारी र साला सबै जना र्सवप्रथम व्यासेश्वर महादेव शैलशम्भोको मन्दिर दमौलीमा लगि विधिवत पूजाआजा गरी तत्पश्चात छोरा बुहारीलाई गृहप्रवेश गर्राई आनन्द पूर्वक रहँदा भए रे । जस्ले माघ महिनाको चारै सोमवार समेत १०८ सोमवारको दिन विधि विधानपूर्वक व्रत लिने र व्यासेश्वर महादेवको पूजाध्यान गर्दछन् उनीहरुको मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको सुन्नमा पाइन्छ । अन्य सोमवारका दिन भन्दा श्रावण र माघ महिनाको सोमवार व्रत बसी यो कथा पढ्ने र सुनाउने गर्‍यो भने अपुत्रले पुत्र र अविवाहित व्यक्तिहरुमा महिला भए सुयोग्य बर तथा पुरुष भएमा सुयोग्य वधू प्राप्त गर्ने जनविश्वास रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker