तनहुँको भानुले तीनवटा प्राविधिक शिक्षालयलाई अनुदान रकम दिने, वर्षे र हिउँदे गरी ४५ दिन बिदा
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले तीन वटा प्राविधिक शिक्षालयलाई प्रयोगशाला व्यवस्थापनका लागि अनुदान रकम निकासा गर्ने भएको छ । नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले नगरपालिका अन्तर्गत सञ्चालित तीनवटा सामुदायिक कलेजहरुलाई भौतिक पूर्वाधार सुधारका लागि प्रस्तावका आधारमा ३ लाखका दरले निकासा दिने र तीनवटा प्राविधिक शिक्षालयहरुका लागि १ लाख ५० हजार रुपैयाँका दरले प्रयोगशाला व्यवस्थापनका लागि अनुदान निकासा दिने निर्णय गरेको हो ।
नगरप्रमुख उदयराज गौलीको अध्यक्षतामा बसेको बैठकले विद्यालय व्यवस्थापन समिति गठन नभएका कारणबाट हालसम्म सम्झौता हुन नसकेका विद्यालयहरुलाई एक हप्ता भित्र प्रक्रिया पुरा गरी कार्यक्रमको लागि सम्झौता गर्न आउन पत्राचार गर्ने र नआएमा ती कार्यक्रमहरु अन्य विद्यालयहरुमा स्थानान्तरण गरिने समेत निर्णय गरेको छ ।
उपप्रमुख आशा थापा, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी लगायतका सहभागितामा बसेको बैठकले भानु नगरपालिका अर्न्तर्गतका विद्यालयहरुमा वर्षे तथा हिउँदे बिदा गरी जम्मा ४५ दिन कायम गर्ने निर्णय गरेको नगर शिक्षा समितिले जानकारी गराएको छ । यसका लागि २०७८ असार २० देखि साउन २३ र पौष २९ देखि माघ ८ गतेसम्म निर्धारण गरिएको छ ।
यस्तै, शिक्षक दरबन्दी मिलान कार्यको कार्यान्वयन/व्यवस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको बैठकले कोभिड-१९ का लागि अत्यन्त जोखिम अवस्थामा रहेका विद्यालयका शिक्षक तथा कर्मचारी र बालबालिकाहरुका लागि प्राथमिकताका साथ कोभिड-१९ विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने भएको छ ।
परिमार्जित स्थानीय शिक्षा ऐन २०७७ भानु नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशन गर्ने तथा खुद पुलमा रहेका प्राथमिक तहका शिक्षकहरुको रोक्का रहेको तलब भत्ता यथाश्रि्र निकासा गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।










