मुलुकको समृद्धिका लागि उत्पादनमा वृद्धि गरौं : पूर्व अर्थमन्त्री महत
नेपाल वितरक महासंघको नवौं साधारण सभा
- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकलाई समृद्धि तर्फ लग्न कृषिसंगै अन्य उत्पादनका क्षेत्रलाई वृद्धि गर्नुपर्ने आवश्यकाता औल्याएका छन् । तनहुँको दमौलीमा शनिबार आयोजित नेपाल वितरक महासंघको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रसंगै उद्योग व्यवसायको उत्पादनलाई वृद्धि गर्न राज्यले ध्यान दिनेपर्ने बताए । उद्योगहरुको उत्पादन वृद्धि भएपछि देशमा व्यवसाय र वितरणको दायार पनि बढ्ने हुँदा यस क्षेत्रमा पूँजीगत लगानि वृद्धि गर्नुपर्ने बताउँदै डा. महतले सरकारले स्वदेशी तथा विदेशी पुँजीलाई पनि उत्पादन मुलक क्षेत्रमा लगानि गर्नुपर्ने बताए ।
उत्पादन बढेसंगै वितरण क्षेत्र बढ्दै जाने हुँदा आयाश्रोत र रोजगारीको वातावरण सृजना हुने चर्चा गर्दै पूर्व अर्थमन्त्री महतले प्रतिफल निस्कने गरी काम गर्नुपर्ने अहिलेको आवश्यकाता भएको र जनताको रोजगारी, आम्दानीको स्रोत बढाउँदै जीवनस्तर उकास्न सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने र यसका लागि सरकारको मुख्य भूमिका हुने बताए ।
अधिकृत विक्रेता संघ तनहुँको व्यवस्थापनमा आयोजित साधारण सभामा ४४ जिल्लाका करिब पाँच सय जना अधिकृत विक्रेताका प्रतिनिधि तथा प्रवेक्षकहरुको सहभागिता रहेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. महतले उद्योग, व्यवसाय क्षेत्रमा अत्याधिक राजनीतिककरण नगरी सम्बन्धित क्षेत्रका विज्ञ र यही क्षेत्रका व्यक्तिले नेतृत्व गर्नुपर्ने बताए ।
उद्योग व्यवसायीहरुको शोषण गर्न नहुने भन्दै उनले व्यवसायीहरुलाई सही ढंगले आयकर तिर्न समेत आग्रह गरेका छन् । उद्योग व्यवसाय क्षेत्रको प्रवर्द्धनका लागि उचित किसिमको कानुन निर्माण गरी सहि ढंगले कार्यान्वयनमा ल्याउनु पर्ने बताउँदै उनले व्यवसायीहरुले वैधानिक रुपमा नाफा कमाउने र कमाएको नाफा बापत आयाकर तीर्नुपर्ने बताए ।
कोरोना कहरका कारण व्यवसायिक गतिविधि ठप्प भएको चर्चा गर्दै पूर्व अर्थमन्त्री डा. महतले उद्योग तथा व्यवासायिहरु अब प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । उनले व्यवसाय बढाउन तथा, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अब हामी प्रविधिमैत्री बन्दै अगाडि बढ्नुपर्छ र यसका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
यस्तै, वर्तमान मुलुकको राजनीतिका विषयमा कुनै टिकाटिप्पणी नगर्ने भन्दै नेता महतले सर्वोच्च अदालतले सही निर्णय दिएको र मुलुकको राजनीति अब कसरी अगाडि बढ्छ, सरकारको नेतृत्व कसरी अगाडि बढ्छ भन्ने विषय अहिले अनिश्चिात रहेको बताए ।
नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष शुरेस अधिकारी लगायतका वक्ताहरुले वितरण महासंघलाई सरकारले अन्य व्यवसायिसरह हेर्न नहुने बताएका छन् । व्यवसायिहरुले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको भन्दै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्का हुने स्थिति नरहेको समेत गुनासो गरेका छन् ।










