स्थानीय निर्वाचनमा राम्रो परिणाम आए राजनीतिक परिस्थिति फेरिन्छ : प्रचण्ड

तनहुँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले राम्रो परिणाम हासिल गरे देशको राजनीतिक परिस्थिति फेरिने बताएका छन् । उनले निर्वाचनअघि नै हार स्वीकार गरेर निराश हुनुभन्दा एकताबद्ध भएर चुनावी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
तनहुँको आँबुखैरेनीमा मंगलबार आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तित्व, राजनीतिक इतिहास र पृष्ठभूमिलाई आधार बनाएर मतदान गर्ने बताए ।
स्थानीय तहका उम्मेदवार जनतामाझ प्रत्यक्ष परिचित हुने भएकाले उनीहरूको व्यक्तिगत छवि, व्यवहार र विगतको कामले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
‘संघको जस्तो स्थानीय हुँदैन । उम्मेदवार नै नचिनीकन, उसको इतिहास र पृष्ठभूमि नै थाहा नभईकन जनताले यसपटक भोट हाल्दैनन्’, उनले भने, ‘त्यसैले पहिलाको जस्तो हुरीबतास स्थानीय तहमा आउन सम्भव छैन ।’
उनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचनको परिणामबारे पहिल्यै निराश नहुन आग्रह गर्दै दृढतापूर्वक चुनाव जित्ने लक्ष्यसहित सक्रिय हुन निर्देशन दिए । एकताबद्ध भएर जनतामाझ पुग्न सके स्थानीय निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।
प्रचण्डले नयाँ भनिएका राजनीतिक शक्तिहरूबारे पनि जनताले विस्तारै बुझ्न थालेको दाबी गरे । बुद्धिजीवीहरूले नयाँ राजनीतिक शक्तिको वास्तविकता बुझिसकेको र गाउँघरका सर्वसाधारणले पनि क्रमशः बुझ्दै जाने उनले बताए ।
स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत पहिचान, राजनीतिक पृष्ठभूमि र जनतासँगको सम्बन्ध महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले पार्टी संगठनलाई सक्रिय बनाएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
यस्तै, उनले भदौ २३ गते युवाहरूले सुशासनको माग गर्दै गरेको आन्दोलनमा षड्यन्त्र र घुसपैठ भएको दाबी गरेका छन् । उनले भदौ २४ गतेका घटनालाई नियोजित विध्वंशको संज्ञा दिँदै त्यसबाट संविधान र गणतन्त्र समाप्त पार्ने प्रयास भएको बताएका छन् ।
प्रचण्डले युवाहरूको सुशासनसम्बन्धी मागलाई आधार बनाएर परिस्थितिलाई उत्तेजित बनाउने षड्यन्त्र भएको बताए । आन्दोलनका मूल उद्देश्य र त्यसक्रममा विकसित घटनाक्रमलाई अलग–अलग ढङ्गले बुझ्नुपर्ने उनको भनाइ थियो ।
उनले भदौ २४ गतेका घटनालाई कुनै पनि कोणबाट क्रान्ति भन्न नसकिने टिप्पणी गरे । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, निजी निवास तथा राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोडका घटना परिवर्तनको आन्दोलन नभई विध्वंश र प्रतिक्रान्तिको प्रयास भएको उनले बताए ।
प्रचण्डले ती घटनामार्फत संविधान समाप्त पार्ने र गणतन्त्र सिध्याउने षड्यन्त्र गरिएको दाबी गर्दै त्यो प्रयास सफल हुन नसकेको बताए । राजनीतिक दलका नेताहरूलाई अपहरणको शैलीमा नियन्त्रणमा लिने र विभिन्न रूपमा कब्जामा राख्ने गतिविधिसमेत भएको उनको भनाइ थियो ।
उनले भदौ २३ गतेको आन्दोलनमा उठेका युवाहरूका सुशासनसम्बन्धी माग जायज भए पनि त्यसलाई गलत दिशामा मोड्न खोजिएको दाबी गरे । सुशासन र जवाफदेहिताको मागलाई सम्बोधन गर्नुपर्नेमा त्यसैलाई आवरण बनाएर विध्वंश मच्चाउने प्रयास भएको उनको टिप्पणी थियो ।










