अदुवाले उचित मूल्य नपाएको तनहुँका कृषकको गुनासो
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको भिमाद नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिका क्षेत्रमा अदुवा खेती राम्रो हुने गर्छ । यस क्षेत्रमा अदुवा उत्पादन राम्रो हुने हुँदा निर्वाहमुखी रुपमा अदुवा खेती गर्ने यस क्षेत्रका कृषकहरुले व्यवसायीक रुपमा अदुवा खेती गर्दै आएका छन् ।
कृषकका बारीमा अहिले अदुवाको उत्पादन भएर बिक्रीका लागि तयारी अवस्थामा छ । तर अदुवाले भने सोचेजस्तो बजार नपाएको कृषकहरुको गुनासो छ । बजार लग्न तयारी अवस्थामा रहेको अदुवाले उचित मुल्य नपाउदा कम मूल्यमा भएपनि बिक्री गर्न बाध्य भएको भिमाद नगरपालिका-४ रजजिडाँडाका कृषक तुलबहादुर रानाले बताए ।
उनले भने, ‘अहिले अदुवाको खासै मुल्य नहुँदा हामीले उत्पादन गरेको अदुवाले सोचेजस्तो बजार पाउन सकेको छैन । बजार लग्न अदुवा तयार भइसके । बारीमै अदुवा कुहाउनु भन्दा कम मुल्यमा बिक्री गर्दा बिउको खर्च जुट्छ कि भनेर बिक्री कम मुल्यमै बिक्री गर्न बाँध्य छौं ।’
गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको कृषक रानाले बताए । ‘विगत दुइ वर्षदेखि धार्नीको दुइ सय रुपैयाँदेखि दुइ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएका थियौं’, कृषक रानाले भने, ‘यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाँध्य छौं । यस वर्ष धार्नीको एक सय रुपैयाँमै बेच्नुपर्ने अवस्था आएको हुँदा अदुवा खेतीको लगानी समेत नउठ्ने हो कि भन्ने चिन्ता भएको छ ।’
बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा कृषक मर्कामा पर्ने गरेका छन् । तनहुँमा उत्पादित अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको स्थानीय कृषकहरु बताउँछन् । अदुवा बारीमै कुहिने, सुक्ने भएपछि कृषकले निकाल्न थालेका छन् ।
बार्षिक सात सय धार्नी अदुवा उत्पादन गर्दै आएका कृषक रानाले यो वर्ष अदुवा कुहिएकाले छिटो निकालिएको बताए । यस क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले एक सयदेखि नौ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेका उनले बताए । रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् ।
यहाँका कृषकले समूह बनाएर अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको उनले बताए । बिक्री नभएका अदुवाको सुठो बनाएर बिक्रीका लागि बजारमा पठाइने कृषक रानाले बताए । कृषकहरुले माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोप्ने गर्दछन् ।
भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन बिक्रीका लागि बजार खोजी गर्ने गरेको बताए । ‘गत वर्ष करिब २८ मेटि्रक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्रीका लागि तयार रहेको थियो’, अध्यक्ष खनालले भने, ‘गत वर्ष प्रतिकेजी ४० रुपैयाँमा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको थियो । यस वर्ष प्रतिकेजी २८ रुपैयाँमा खरिद गर्ने तयारी भइरहेको छ।’
‘नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो’, उनले भने, ‘कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो । केही भने यहीको बजारमा खपत हुन्छ ।’
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताउँछन् । तीन तहको सरकारले बजारको व्यवस्थापन गर्न भूमिका खेलेमा कृषि प्रधान देशको भनाइलाई सार्थक बनाउन सकिने उनको भनाई छ ।
उनले भने, ‘विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य-मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ ।’
कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ । यस पेशामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले नै कदम चाल्नुपर्ने अवस्था रहेको छ ।
अदुवा उत्पादन वृद्धि
अदुवाको बजार मूल्य र बजार पाउन समस्या भए पनि तनहुँमा अदुवा उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
उत्पादनको क्षेत्रफल घट्दो छ । अदुवाको बजार पाउन समस्या भएको छ । तर उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताए । उनका अनुसार तनहुँमा आर्थिक वर्ष २०७७/७८ मा पाँच सय १२ हेक्टर क्षेत्रफलमा सात हजार पाँच सय ४० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा पाँच सय १७ हेक्टर क्षेत्रफलमा सात हजार छ सय २२ मेट्रिक टन अदुवा उत्पादन भएको तिवारीले बताए । कृषिमा लगानी वृद्धि गरी इलेक्टिक प्रशोधन गरी बिक्रीका लागि अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न सके कृषकको आकर्षण बढ्ने उनले बताए ।
प्रतिकेजी ६० रुपैयाँका दरले बिक्री गर्दा तनहुँबाट ४५ करोडको अदुवा बिक्री वितरण हुने गरेको छ । किसानले प्रति धार्नी एक सय रुपयाँमा बेच्नुपर्ने परिस्थितिले भने कम हुने उनले बताए ।










