रामचन्द्रको प्रष्टोक्ति : ओलीले हाइज्याक गरेको गठबन्धन फर्काउन प्रचण्डलाई विश्वासको मत

भञ्ज्याङ समाचारदाता/काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट हाइज्याक भएको गठबन्धन पूरानै ठाउँमा फर्काउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले विश्वासको मत दिनुको कारण खुलाउँदै भने, ‘हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो । विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं ।’

गठबन्धनका संयोजक केपी शर्मा ओलीले संसद विघटनको बचाउ गरेको भन्दै पौडेलले त्यसबाटै हाइज्याक भएको गठबन्धन फर्किने आशा व्यक्त गरे । उनले प्रचण्डलाई विश्वासको मत दिएपछि आफूले ढुक्क महसुस गरेको समेत बताए ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।

नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।

विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् । सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजको बैठकमा २७० सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।

एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् ।

सदनमा बोल्दै प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker