दमौलीमा “व्यास कोशेली घर” सञ्चालन : घरेलु हस्तकला, मासदेखि गिठ्ठाभ्याकुरसम्म एकैथलोमा
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी तनहुँले दमौलीमा ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याएको छ । व्यास-३ मालपोत लाइनमा सोमबार एक कार्यक्रमका बीच कोशेली घर सञ्चालनमा ल्याएको हो ।
घरेलु उद्योगमा उत्पादित वस्तुदेखि तनहुँको मुख्य उत्पादन मास, पिडालुदेखि वन जंगलमा पाइने गिठ्ठाभ्याकुर कोशेली घरमा राखिएको छ । तनहुँका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज तथा साना उद्यमीहरुद्वारा उत्पादित बस्तुहरु सुपत मुल्य र सहज रुपमा बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी तनहुँकी अध्यक्ष कल्पना गौलीले बताइन् ।

बजारको पहुँच बाहिरा रहेका ग्रामीण क्षेत्रदेखि बजारसम्म उत्पादित कृषि उपज तथा साना लगानीमा सञ्चालन गरिएका घरेलु उद्योगहरुमा उत्पादन गरिएका बस्तु तथा हस्तकला कोशेलीका रुपमा उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यका साथ कोशेली घर सञ्चालनमा ल्याइएको अध्यक्ष गौलीले बताइन् ।
कोशेली घरमा गाउँबस्तिमा उत्पादित अदुवा, तरुल, पिडालु, मास, मस्याङ्ग, गहतका साथै जंगलमा पाइने गिठ्ठाभ्याकुर, सिस्नो, सिम्लिकान, कोइरालो जस्ता कन्दमुलसमेत राखिएका छन् । अध्यक्ष गौलीले भनिन्, ‘तनहुँ मकै, आलु, कोदो, बेसार तथा हरिया सागसब्जि उत्पादनको लागि पनि उर्वर भुमि हो । तनहुँमा उत्पादित मास, पिडालु, सुन्तलाको माग राम्रो छ तर सहज रुपमा बजारीकरण हुन सकेको छैन ।’

कोशेली घरको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कोशेली घरलाई तनहुँको प्रतिष्ठा बनाउनुपर्नेमा जोड दिए । उनले जिल्लाका कृषक तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका उपजहरु सहज रुपमा बिक्री वितरणका लागि कोशेली घरलाई थलोका रुपमा बिकास गर्नुपर्ने बताए ।
यस्तै, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोशेली घरलाई स्थायीत्व दिनका लागि नगरपालिका आवश्यक सहकार्य र समन्वय गर्न तत्पर रहेको बताए । उनले भने, ‘हामी कुनै कार्यक्रममा जाँदा बजारमा प्रिन्ट गरिएका फोटोहरु मायाको चिनोका रुपमा लिनेदिने गर्र्छौ । अब यहि कोशेली घरमा पाइने अर्गानिक बस्तुहरु मायाको चिनो तथा कोशेलीको रुपमा दिने कार्यको विकास गर्न आवश्यक छ ।’ कोशेली घरलाई नगरपालिकाले विउपूँजिका रुपमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कार्यक्रममा सहभागी घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले भने, ‘हाम्रा ग्रामीण बस्तिका कृषकहरुले उत्पादन गरेका अदुवा, पिडालु, मास तथा तरकारीले सहजै बजार नपाउँदा कुहिएर खेरा गएका छन् । कृषकहरुले श्रमको उचित मुल्य पाएका छैनन । यो समस्य केही हदसम्म समाधान गर्न यो कोशेली घर सफल हुनेमा विश्वस्त छु ।’

कोशेली घरमा जिल्लाका १० वटै पालिकामा उत्पादित कृषि उपज, हस्तकला, घरेलु उत्पादनहरु संकलन गरी बिक्री बितरण गरिने भएको छ । कोशेली घरमा वन तरुल, बेथेको मस्यौरा, गुन्द्रुक, टाइटनको चिउरा, कर्कलोको गावा, मुलाको चाना, रातो तथा पहेलो बेसार, सिरम्लाको चामल, अनादीको चामल, खैरो र कालो भट्टा, कोदोको पिठो, तान्द्रे कर्कलो, भुटेको मकै, कालो सिमी, हातेतानमा तयार गरिएको ढाँकाको कपडा, हातले बुनेका झोला, बाँसबाट बनेका डोको, डालो, नाङ्लो, गुन्द्री, तोरीको तेल लगायतका वस्तु राखिएको छ ।

यी बस्तुहरु उपभोगका लागि सिमित समय हुने हुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसंग समन्वय गरी चाडै ब्रि्रीने सामाग्रीको म्याद तय गर्न कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले सुझाएका छन् । ‘कोशेली घरमा अर्गानिक र गाउँको हावापानीमा उत्पादन भएका कृषि उपजहरु पाइन्छ भनि उपभोक्ताहरुले खरिद गरी लाग्नुहुन्छ’, उनले भने, यदि अनजानमै म्याद गुज्रिएको खानेकुरा सेवन गरे स्वास्थ्यमा समस्य पनि देखिन सक्छ र कोशेली घरप्रतिको विश्वनियता कम हुन्छ । त्यसैले गुणस्तरमा पनि ध्यान दिन जरुरी छ ।’

यस्तै, कोशेली घरमा राखिएका वस्तु जिल्लामा आउने पर्यटकले कोशेली घरमा आएर तनहुँको चिनो/कोशेली स्वारुप लिएर जान सक्ने महिला उद्यमी जिल्ला कार्य समिति तनहुँकी उपाध्यक्ष बसुन्धरा घर्तीले बताइन् । उनले भनिन्, ‘एकै थलोमा जिल्लामा उत्पादित हरेक बस्तुहरु पाउने भएपछि उपभोक्तालाई एकै स्थानमा आएर आफुलाई आवश्यक सामाग्री खरिद गर्न सहज हुने छ ।’ उक्त कोशेलीघरका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट गत आर्थिक वर्षमा ५ लाख, चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।










