तनहुँ-१ मा उपनिर्वाचनको सरगर्मी बढ्दै, जालझेल होइन निष्ठाको राजनीति गर्छु : एमाले उम्मेदवार खनाल
भञ्ज्याङ न्यूज

तनहुँ-१ मा उपनिर्वाचनको सरगर्मी बढ्न थालेको छ । चैतको गर्मीसंगै उपनिर्वाचनको सरगर्मीको पारो पनि बढ्दै गएको छ । निकै चासो र चर्चाको रुपमा हेरिएको तनहुँ-१ को उपनिर्वाचनका उम्मेदवारहरु पनि अहिले आ-आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरुले चुनावी गतिबिधिलाई तीब्र पार्न थालेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन् । व्यास नगरपालिका-३ निमचोकमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उनले तनहुँ-१ को समग्र विकासका लागि उम्मेदवारी दिएको बताएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वणिर्म वाग्लेले प्रसिद्ध छाब्दीबाराही मन्दिरको पूजाआजा गरी चुनावी अभियान थालेका छन् । व्यास-१४ का स्थानीय मतदातासँग भेट गरी देश र जिल्लाका लागि केही गर्ने सोच बोकेर आएको बताए । उनले निर्वाचनमा विजयी भएमा तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ मा नौ जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा -समाजवादी)बाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारहरु पनि चुनावी अभियानमा जुटेका छन् ।
त्यस्तै, तनहुँ-१ मा वैशाख १० गते हुने प्रतिनिधीसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका र्सर्वेन्द्र खनालले जालझेल होइन निष्ठाको राजनीति गर्न आफु चुनावी मैदानमा उत्रिएको बताएका छन्। प्रेस चौतरी नेपाल तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलन उम्मेदवार खनालले सधैं देश र जनताको हितमा राजनीति गर्ने आफ्नो सोच रहेको बताए ।
‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’, उनले भने, ‘म यही ठाउँमा जन्मिएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ मेरो छैन ।’
३० वर्षराष्ट्र सेवकको रुपमा काम गरेको आफुसंग अनुभव रहेको चर्चा गर्दै उनले भने, ‘देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्छु । मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुशी ल्याउने, जिल्लालाई छुट्टै पहिचान दिन म लागि पर्नेछु ।’
राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था, शान्ति सुरक्षा र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले सांसदको रुपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबी गरे । ‘सुशासन र सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा मैले गरेको योगदानको समिक्षा गर्ने हो भने यहाँ म भन्दा योग्य उम्मेदवार अरु लाग्दैन’, उनले भने, ‘बिगतको कार्य दक्षता र योगदान नै आफ्ना जीतका आधार हो । यहाँका मतदाताले त्यो मूल्याङ्कन गरी पक्कै निर्वाचित गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’
समृद्धिका लागि सुरक्षित वातावरण अपहरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्रथामिकता दिएर भ्रष्टाचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्रस्थानमा राख्ने प्रतिवद्धता जनाएका उम्मेदवार खनालले जनताका समस्यामा भन्दा सत्ता केन्द्रित राजनैतिक प्रवृत्तिले जिल्लाको अपेक्षित बिकास नभएको टिप्पणी गरे ।
‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र बिकासका लागि काम गर्न चाहन्छु’ उनले भने, ‘जनताका सामु अनेकौ प्रतिवद्धता गर्ने र काम नगर्ने प्रवृत्ति तोडन चाहेको छु । प्रतिवद्धता बमोजिम काम गर्ने आफ्नो बानी रहेको छ ।’ देशको पछिल्लो परिस्थिती, कानुनमा भएका त्रृटि र कमजोरीले आफुलाई राजनीतिमा होमिन प्रेरित गरेको उनले सुनाए। उम्मेदवार खनालले आफुलाई लाग्दै आएको सांसद अपहरण आरोपको प्रसंगमा उनले भने ‘म जीवनभर त्यस्ता अपराधका विरुद्ध लडेको छु । मलाई राजनीतिक प्रतिशोध राखेर झुठो मुद्दाको आरोप लगाइयो त्यसको पीडा मैले जीवनभर भोग्नुपर्ने भयो ।’
जनताको प्रतिनिधिको रुपमा काम गर्ने चाहना भएकाले बिगतको योगदानलाई सुक्ष्म विश्लेषण गरेर मत दिन मतदातालाई उम्मेदवार खनालले आग्रह गरेका छन् ।
यस्तै, नेकपा एमालेको तर्फबाट उम्मेदबार बनेका खनाल अहिले राष्ट्रिय रुपमा चर्चामा छन् । खनालको उम्मेदबारीले तनहुँको निर्वाचन पनि चर्चामा छ । नेपाल प्रहरीको महानिरिक्षकको रुपमा प्रहरी संगठनको नेतृत्व गरेका खनालकै कार्यकालमा नेपाल प्रहरी लगातार दुइ वर्ष उत्कृष्ट संगठनको रुपमा पुरस्कृत भएको थियो ।
प्रहरी महानिरिक्षकको रुपमा उत्कृष्ट छवि निर्माण गरेका खनालले तनहुँमा उम्मेदबारी दिएपछि उनको कार्यकालमा प्रहरीले गरेका राम्रा कामहरु तनहुँका मतदाताले स्मरण गर्न थालेका छन् । त्यसमध्ये बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणको प्रहरी अनुसन्धान पनि मुख्य हो ।
काठमाण्डौ बालुवाटार स्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता भएको घटनाको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान पुरा गरी गृहमन्त्रालयलाई आफ्नो प्रतिबेदन बुझाएको थियो । २०४७ सालको अन्तरिम सरकारको पालाबाट सुरु भएको सो सरकारी जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्री हुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य र प्रमाण रहेको प्रहरीको अनुसन्धान प्रतिबेदन उल्लेख गरिएको छ ।
सो सरकारी जग्गा हिनामिनाको घटनाको छानविन र अनुसन्धानको मुख्य कमान्डर तत्कालिन प्रहरी महानिरिक्षक र्सर्वेन्द्र खनाल थिए । तत्कालिन प्रहरी महानिरीक्षक खनालको कमान्डमा केन्द्रीय अनुन्धान व्युरोले उक्त सरकारी जग्गा हिनामिनाको विस्तृत अनुसन्धान गरेको थियो । सेटिङमा हडपिएको सो जग्गा सरकारकै नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानबिन समितिको सुझावका आधारमा मन्त्रिपरिषद् बैठकले ललितानिवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई जिम्मा दिएको थियो । उक्त छानविन समिति २०७५ असार १५ गते गठन भई समितिले सोही वर्षो मंसिर २६ गते नेपाल सरकार समक्ष प्रतिबेदन बुझाएको थियो ।
उक्त ललिता निवास प्रकरणको छानविन प्रतिबेदन उपलब्ध गराउने सम्बन्धमा उक्त प्रकरण ठगि तथा लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा अनुसन्धानको क्रममा रहेको छ । तत्कालिन महानिरिक्षक खनालले कुनै राजनीतिक दवाव र प्रभावमा नपरी उक्त जग्गा हिनामिनाको विस्तृत अनुसन्धान पुरा गरेका थिए । जुन प्रतिबेदनको आधारमा प्रहरीले दोषीहरुलाई मुद्दा चलाउने तयारी गरेको थियो ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज विहीबार बिहान ९ देखि अपराहृन १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराहृन ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिहृन पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराहृन ५ बजेसम्म मतदान हुनेछ ।
तनहुँ-१ मा एक लाख २३ हजार ४९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा १८५ मतदाता घटेर एक लाख २३ हजार ३०५ कायम भएको छ। मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाहरूले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ । मंसिर ४ गतेसम्म तनहुँ-१ मा एक लाख २३ हजार ४९० मतदाता थिए। निर्वाचनमा ६६ हजार ९६५ मत खसेकामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३१८ मत प्राप्त गरी विजयी भएका थिए । पौडेलका प्रतिस्पर्धी नेकपा -एमाले) का एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।










