तनहुँ-१ मा उपनिर्वाचनको तयारी सुरु, आकांक्षीको लर्को

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ ।

निर्वाचन आयोगले तनहुँ-१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो । क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

रिक्त हुने प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा, ८४ को उपदफा (७) बमोजिम प्रतिनिधिसभा कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाबाट पूर्ति गरिने व्यवस्था रहेबमोजिम यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

निर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई बुधबारदेखि यही चैत १२ गतेसम्म नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम दल दर्ता गर्ने समय उपलब्ध गराउने निर्णय भएको छ ।

उपनिर्वाचनका लागि तनहुँमा चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । त्यस्तै, २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिहृन प्रदान गरिनेछ ।

उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी थालिसकेको छ । निर्वाचन कार्यालयका प्रमुख ढकालले उपनिर्वाचनको मिति तोकिएसँगै आवश्यक तयारीका काम सुरु गरिएको जानकारी दिए ।

गत मंसिर ४ गतेसम्म तनहुँ-१ मा एक लाख २३ हजार ४९० मतदाता थिए । निर्वाचनमा ६६ हजार ९६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार ३१८ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराइ, पूर्व पार्टी सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल आकाङ्क्षी देखिएका छन् । दुइ पटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले यो पटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराइले बताएका छन् । भट्टराइले केही दिनअघिदेखि नै गाउँगाउँमा पुगेर मतदाता भेटघाट गर्न थालेका छन् । उनले भने, ‘पार्टीका सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेको छु, उहाँले उपनिर्वाचनको तयारी गर्नु भनिसक्नुभएको छ, मैले टिकट पाउनेमा कुनै शङ्का छैन ।’

पूर्वपार्टी सभापति पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन् । आफूले अहिलेसम्म अवसर नपाएकाले एकपटक अवसर पाउनुपर्ने भन्दै उनले राजधानीमा नेताहरूसँग भेटघाटमा लागेका छन् ।

संविधानसभा सदस्य पोख्रेलले विसं २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताउनुभयो । उनले भने, ‘अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन, यो पटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु ।’

यस्तै, नेकपा (एमाले)का तर्फबाट एक बहादुर राना, रामबहादुर गुरुङ, किरण गुरुङ लगायत आकाङ्क्षी देखिएका छन् । गत मंसिरमा निर्वाचन लडेर पराजित भएका रानाले पार्टीले निर्णय गरेको खण्डमा उपनिर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) उपनिर्वाचनमा दाबी गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर ४ गतेको निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरूले उक्त सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

तनहुँ-१ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा उक्त निर्वाचन क्षेत्र छाडेर बारा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा नेकपा (एस)का तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए ।

उनले भने, ‘गत निर्वाचनमा हाम्रो पार्टीले तनहुँमा एक सिट पनि पाएन, तैपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्‍यौँ, उपनिर्वाचनमा हाम्रो सशक्त दाबा रहन्छ ।’ एकीकृत समाजवादीले आवश्यक परेको खण्डमा केन्दीय नेतालाई नै उम्मेदवारका रूपमा अगाडि सार्ने निर्णय पनि गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker