१८ लाख रुपैयाँको लागतमा घिरिङमा प्रगतिशील आमा समुहको भवन निर्माण
भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिका-५ किटिया टोलमा प्रगतिशील आमा समुहको भवन निर्माण गरिएको छ । उक्त भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाले घिरिङमा फरक राजनीतिक दल भएको बहानामा विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जनप्रतिनिधि र कर्मचारीबाट सेवा लिदा कुनै समस्या झेल्नुपरेको भए, भ्रष्टाचार, अनियमितता गरेको पाइएमा आफुलाई खबर गर्न अपिल गर्दै घिरिङका जनताको शिर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा घिरिङ गाउँपालिकाका निबर्तमान अध्यक्ष रन बहादुर रानाले आफ्नो कार्यकालमा उक्त भवन निर्माणको लागि बजेट बिनियोजन गरेको र अहिले पुरा गरिएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणका लागि गरिएको प्रस्तावमा केही तत्व बाधक बनेतापनि आफुले समाधान गर्न सफल भएको बताए ।
आमा समुहकी अध्यक्ष फुल माया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं ५ का अध्यक्ष बिष्णु वीर आले, नेकपा एमाले जिल्ला कमिटी सदस्य सेतिमायाँ गौतम र एमाले गाउँकमिटी उपाध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, आमा समुहको ४ कोठे भवन १८ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको बताइएको छ। भवन निर्माणका लागि गाउँपालिकाले तीन आर्थिक बर्षा ८ लाख, आमा समुह, चन्दादाताहरुबाट संकलित १० लाख र स्थानीयको जनश्रमदानबाट भवन निर्माण गरिएको स्थानीय जसमान थापाले बताए ।










