आँवुखैरेनीको प्राथमिकता : स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकास

नारायण खड्का/तनहुँ

आँवुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वारका रुपमा रहेको छ । पूर्वमा चितवन र गोरखा जिल्ला, पश्चिममा बन्दिपुर र देवघाट गाउँपालिका, उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला, दक्षिण तर्फ देवघाट गाउँपालिका र चितवन जिल्ला सिमाना रहेका छन् । ६ वटा वडा कायम गरिएको गाउँपालिकामा साविक आँबुखैरेनी नगरपालिका, छिम्केश्वरी र देउराली गाविस समावेश गरिएको छ । मर्स्याङदी नदीको किनारमा अवस्थित यस गाउँपालिका भित्र आँधीमुल, अकला मन्दिर, शिवालय मन्दिर, ऐना पहरा, तनहुँकै अग्लो पहाड छिम्केश्वरी र छिम्केश्वरीमाईको मन्दिर, पौवा, भुकुण्डे, हिलेखर्क, मर्स्यादी ड्याम लगायतका पर्यटकीय स्थल छन् । यीनै क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारको विकास गर्दै गाउँपालिको समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको छ ।

शुक्र चुमान : अध्यक्ष

आँवुखैरेनी गाउँपालिकाले जनताका आधारभूत आवश्यकतालाई सहज रुपमा उपभोग गर्ने वातावरण सृजना गर्ने गरी स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । स्थानीय पालिका जनताको घरदैलोको पहिलो सरकार भएकाले संविधानले प्रदान गरेको अधिकार र हामीले गर्नुपर्ने कर्तव्यहरुमा पनि सामाजिक क्षेत्रको सेवा मुख्य प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् ।

गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत तहसम्म पुर्‍याउने हिसाबले सोच्नुपर्छ भनी पहिलो चरणमा आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहको शिक्षा आम जनताको पहुँचमा पुर्‍याउने र त्यसलाई गुणस्तरीय सिकाइको व्यवस्थापन गर्ने हिसाबमा केन्द्रित भएको अध्यक्ष चुमानले बताए । ‘गाउँपालिकाको नीति तथा कार्यक्रमहरु पेश गरी बजेट व्यवस्थापन गर्दा आँबुखैरेनी गाउँपालिकाले १५ सय शैय्याको अस्पताल तत्काल नै सञ्चालन गर्ने निर्णय गरेको थियो । मंसिर १ गते हामीसंग भएका संरचनाहरु वडा कार्यालय, गाउँसभाको हल, पुरानो स्वास्थ्य चौकी यी सबैलाई एकै ठाउँ एकीकृत गरेर वडाले दिने सेवा, गाउँसभाको हललाई सारेर अस्पतालमा ल्याब, भिडियो एक्सरे लगायतका सबै सेवाहरु सुरु गरेका छौ’, उनले भने, ‘ठुलै विशेषज्ञ सेवाको जरुरत पर्‍यो भने काठमाडौ, चितवन जानुपर्ने त छदै छ तर आधारभूत रुपमा बिरामी पर्दा ज्यान नै जाने स्थिति छैन । जनताहरुलाई बिरामी भयो भने अब कहाँ जाने भन्ने भएन । नेपाल भरको पालिका सरकारको व्यवस्थापनमा आफ्नै श्रोत र साधनमा स्थापना गरेको अस्पताल मध्यको औलामा गन्न मिल्ने एउटा अस्पताल आँबुखैरेनी गाउँपालिकाको हो यस साथै गण्डकी मै पालिका स्तरको अस्पतालमा पहिलो डिजिटलाइज गर्ने अस्पताल हाम्रो हो ।’

गाउँपालिकाको एम्बुलेन्सलाई सुत्केरीलाई आकस्मित सेवा र ज्येष्ठ नागरिकहरुको निम्ति नीति तथा कार्यक्रम र कार्यपालिका निर्णयबाट एम्बुलेन्स सेवा पूर्ण रुपमा निःशुल्क घोषणा गरिएको छ । अध्यक्ष चुमान भन्छन्, ‘हामीले स्वास्थ्य क्षेत्रमा एक हदको क्रान्ति गरेका छौं भन्ने गरेका छौं ।’

‘अहिले नेपालभर सामुदायिक विद्यालयको स्थिति ‘बचाउने की मर्न दिने’ भन्ने अवस्था रहेको छ । ३५ वटा विद्यालयमा ६ वटा मा.वि तह, ६ वटा आधारभूत तह र बाँकी २३ वटा प्रा.वि तह मात्र अध्ययन हुने रहेछ । त्यसमध्ये प्रा.वि. तह पढाइ हुने २१ वटा विद्यालयहरुमा विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षक दरबन्दीको आधारमा अब आउने शैक्षिक सत्र चल्ने कि नचल्ने भन्ने अवस्थामा छ’, अध्यक्ष चुमानले भने, ‘अहिले एक जना शिक्षकलाई कार्यपालिकाको जनप्रतिनिधिको बैठकबाट आउने भत्ताले तलब व्यहोर्ने र बाँकी १२ जना शिक्षकको पालिकाको कोषबाट व्यहोर्ने गरी १३ जना भोलेन्टियर शिक्षक खटाइएको छ । यसो गर्दा शिक्षक दरबन्दिको अभावमा विद्यालयका ढोका नै लाग्ने स्थितिलाई नियन्त्रण गरी विद्यालय चलाउन सहज भएको छ ।’

गाउँपालिको अबको नयाँ शैक्षिक सत्रसंगै प्रत्येक जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पठनपाठन गराउने, विद्यालयको दुरीका हिसाबले नजिक रहेकालाई एकआपसमा समायोजन गर्दा राम्रो हुने सम्भावना देखिएका विद्यालयलाई एकीकृत गर्ने अभियान सुरु गरिएको अध्यक्ष चुमानले बताए । ‘यो कार्यक्रम अन्तर्गत ३ वटा वडामा ३ वटा स्कुल बस पालिकाको पूर्ण लगानीमा दिदैछौ र विद्यालयहरुको चुहिने छानाहरु फेर्ने, सिलिङ फेर्नेदेखि नर्सरीदेखि २ कक्षासम्मका कक्षाकोठालाई स्तरीय कक्षाकोठा बनाउने निर्णय गरेका छौ’, उनले भने, ‘स्मार्ट टिभि जडानदेखि हरेक कक्षाकोठामा लाइबेरीको व्यवस्था, विद्यार्थीको उमेर समुह अनुसार र मनोविज्ञलाई पनि समायोजन गर्ने गरी बर्साई व्यवस्थापन गर्ने गरी हामी अगाडि बढेका छौ ।’

यस्तै आँबुखैरेनी क्याम्पसमा अध्ययनरत ३०० जना युवा विद्यार्थीलाई बिहानमा निःशुल्क क्याम्पस पढेर दिउँसोमा दरबन्दि अभाव रहेका विद्यालयहरुमा भोलेन्टियर शिक्षकको रुपमा पढाउने गरी कार्यक्रम अगाडि ल्याइएको अध्यक्ष चुमानले बताए । ‘गाउँपालिकाबाट उच्च शिक्षाका लागि बाहिरिएका वा गाउँपालिका भित्रै अध्ययन गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति आवेदन गर्न अनुरोध गर्‍यौ, त्यस अन्तर्गत २६ जना विद्यार्थीहरुलाई उच्च शिक्षा अन्तर्गतको १ वर्षभरि पढिरहेको विषयको शुल्कको जिम्मा गाउँपालिकाले व्यहोर्ने भएको छ’, उनले भने, ‘एम.बि.बि.एस इन्ट्रान्सको परिक्षा सम्पन्न भए लगत्तै यस वर्ष १ जना आँबुखैरेनी गाउँपालिकाबाट एम.बि.बि.एस अध्ययन गर्न जाने विद्यार्थीको पूर्ण छात्रवृत्तिको जिम्मा लिने भएको छ । गाउँपालिकाले आफ्नो लगानीमा अबको ४ वर्षपछि १ जना डाक्टर खडा गरी डाक्टरको समस्या समाधान गर्न र डाक्टर विद्यार्थी उत्पादन गर्ने हिसाबमा शिक्षा र स्वास्थ्यमा केन्द्रित भएका छौ ।’

‘पूर्वाधार निर्माणमा भौतिक विकास भइरहेको छ तर जनताको आधारभूत अवस्था फेरिएन भने त्यो विकासको प्रत्याभूति जनतालाई आउँदैन । बाटो पिच त भयो तर त्यो बाटोमा चल्ने गाडी जनतासंग छैन भने त्यो पिच बाटोको अर्थ नहुने रहेछ । जनताहरु पिच बाटोसंगै रहेको गोरेटो बाटो मर्मत गरिदिनु भन्दै आउनुहुन्छ । कारण विहान बेलुका भारिबोकेर त्यही गोरेटो बाटो हिडुनुपर्ने भएकोले । २०० रुपैया तिरेर हिड्ने स्थिति बनेको छैन, विकासको प्रत्यक्ष अनुभूति त्यतिबेला हुने रहेछ, जतिबेला जनताको जीवनस्तर फेरिन्छ’, अध्यक्ष चुमानले भने, ‘यसका लागि गाउँपालिकाले उद्यम विकासको कार्यक्रममा केन्द्रित भई जनता र स्थानीय सीप, श्रोत र साधनको प्रयोग गरी पालिकाको लगानीमा प्रदेश सरकारसंग सहकार्य गर्दै उद्योग स्थापना गर्ने तयारीमा छौ । करिब २ करोडमा वडा नं. २ मा जेठ मसान्तभित्र उद्योग खडा गर्दैछौ । त्यसमा बासजन्य उत्पादन र फलामबाट हुन सक्ने कृषिजन्य सामग्रिको उत्पादन गर्ने र लगभग १०० जनालाई उद्योगमा प्रत्यक्ष रुपमा रोजगारि दिने र कच्चा पदार्थ अथवा अन्य ठाउँमा जनताले आफ्नै घरमा बसेर त्यो उद्योगसंग जोडिदा लगभग ३०० परिवारलाई लाभान्वित गराउने हिसाबमा लागिरहेका छौ ।’

गाउँपालिकाले कृषिलाई उद्यमीकरण गर्ने हिसाबले १ वडा १ उत्पादन कार्यक्रमको लागि ७० लाख बजेट विनियोजन गरेको छ। सामुदायिक वनमा अदुवा, हलेदो खेतीको प्रक्रिया अगाडी बढाइएको छ। त्यस्तै पालिकाभित्रका र पछि बाहिरका जनताले पनि उत्पादन गरेका वस्तुहरु खरिद गर्ने उद्देश्यले पालिकाले र्सार्वजनिक पार्टनरसीपमा कम्पनी सञ्चालन गर्न सुचना निकालिसकेको अध्यक्ष चुमानले बताए । ‘कम्पनीमा उत्पादित वस्तुहरुको व्रान्डिङ, लेबलिङ र मार्केटिङ गर्ने योजना छ । यसो गर्दा जनताले उत्पादन गरेको वस्तु सडकमा फाल्नुपर्दैन भन्ने हिसाबमा र्सार्वजनिक रुपमा साझेदारी गर्न चाहने सहकारी वा कम्पनीलाई आव्हान गरेका छौ’, उनले भने, ‘अबको आर्थिक वर्षेखि गाउँपालिकाभित्र भएका उत्पादित वस्तुको जिम्मा गाउँपालिकाले र्सार्वजनिक पार्टनरसीपको आधारमा चल्ने कम्पनीले खरिददेखि बजारीकरण गर्ने ग्यारेन्टि लिन्छ । यदी त्यसबाट कुनै क्षति भयो भने कम्पनीले क्षतिपुर्ति व्यहोर्ने निर्णय गरेका छौ ।’

यस्तै गाउँपालिकाले पर्यटन र पूर्वाधारको विकासबाट मात्र आर्थिक विकासमा अगाडी बढ्न सकिने निष्कर्षनिकालेको छ । ‘आर्थिक विकासको एक नम्बरमा पर्यटनलाई राखेका छौ । त्यस अन्तर्गत हामीले ऐना पार्कमा राजस्व उठ्ने तरिकाले विभिन्न मुर्ति बनाउने काम तीव्र रुपमा अगाडी बढाइरहेका छौ । आँधीमुलमा १५ रोपनी जग्गामा कृत्रिम ताल निर्माणको लागि डिपिआर सम्पन्न भइसकेको छ । अहिले मर्स्याङदी हाइड्रो प्रोजेक्टले निर्माण गरेको कृत्रिम तालमा बोटिङ लगायत मिनी जहाजसम्मको जलपर्यटनको सम्भावनालाई अगाडि बढाएका छौ’, अध्यक्ष चुमानले भने, ‘छिम्केश्वरीलाई त्यहाँको फाइदाजनक जिपफ्लाइङ जस्ता खेलकुदसंग जोडेर पर्यटनबाट आम जनताको जीवनस्तर अगाडी बढाउन र गाउँपालिकाको आम्दानी बढाउने हिसाबले अगाडि बढेका छौं ।’

गाउँपालिकाले ६ वटै पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासी कोही नरहने हिसाबमा नापी निस्सा वितरण गरेर आयोगले समयमै सहयोग र सहकार्य गर्‍यो भने यो वैशाखसम्ममा भूमि सम्बन्धी समस्याहरु समाधान गर्ने विधिसम्म पुगेको छ । यस्तै जग्गा वर्गीकरणमा ११ वटै क्याटोगोरीमा जग्गा वितरण गर्ने गण्डकी प्रदेशकै पहिलो गाउँपालिका बन्ने आधारमा लागेको उनले बताए ।

‘संविधानले आधारभूत स्वास्थ्य सेवाको जिम्मा गाउँपालिकाको एकल अधिकार हो भनेको छ तर त्यो शीर्षकमा संघले र्सशर्तमा बजेट पठाउछ । संघको सरकार सञ्चालक, विभिन्न कर्मचारी अथवा मन्त्रालयका प्रमुखहरुसंग कुरा गर्दा स्थानीय तह सक्षम नभइराखेको हुनाले हामीले अड्कलिराखेछौ भन्ने भाषामा शब्द प्रयोग गर्नुहुन्छ, यो समस्याको विषय बनेको छ’, अध्यक्ष चुमानले भने, ‘हामीलाई संविधानले प्रदान गरेको अधिकार आधारभूत स्वास्थ्य सेवामा समानिकरणमा अनुदान पाउनुपर्नेमा १० हजारको कुपोषणको मुल्याङ्कन गर्ने भनेर र्सशर्तमा बजेट पठाएको र यसमा नीतिगत र संविधानको कार्यान्वयनमा समस्या देखिन्छ ।’

‘माध्यमिक तहको शिक्षाको जिम्मा पालिकाको भनेपछि त्यसभित्र शिक्षकको तलब बाँढ्ने अधिकार वा तलब मात्र पठाएर मा.वि तहको शिक्षाको व्यवस्थापन त हुँदैन, यसले गर्दा देशभरको सामुदायिक शिक्षाको गुणस्तर बिग्रिदो वा मर्ने स्थितिमा छ’, उनले भने, ‘संविधानमा राखिएको बाडफाँडको अधिकारलाई बिर्सिएर संघीयताका संघ र प्रदेश सरकारले स्थानीय तहलाई निकायको रुपमा हेर्ने दृष्टिकोण छ, यसमा निरन्तर लड्नुपर्ने आवश्यकता अहिले पनि देखिन्छ । संविधानले दिएको अधिकार स्थानीय तहसम्म आइपुगेको पाइदैन । कुनै ठाउँमा कानुनी रुपमा जनताको लागि अत्यावश्यक पर्ने भवन बनाउनलाई संघ सरकारकोमा गएर २ महिनाको प्रक्रिया लगाएर हारगुहार गर्नुपर्ने स्थिति छ । यो यसका लागि संघ सरकार र प्रदेश सरकारले आफैमा बनाउन पर्ने कानुनहरु बनाउनुपर्ने देखिन्छ । यसलाई कार्यान्वयनमा ल्याउन स्थानीय तहबाट खवरदारी गरिरहेका छौ ।’

‘स्थानीय सरकार कतिपय ठाउँमा विगतमा केही गल्ती भएका छन । पूर्वाधार निर्माणलाई १ नं. मा राखेर जान खोज्यौ, गाउँपालिकाको एउटा मात्र वडा कार्यालय जोड्ने सडक बनाउन लाग्यौ भने ५ वर्षसम्म हामीसंग हुने पुँजीगत हिसाबको बजेट सबै लगायौ भने लगभग एउटा सडक बनाइएला’, उनले भने, ‘न संविधानले परिकल्पना गरेको हो, न ठुला पूर्वाधारको आयोजना स्थानीय तहले लागेर बनाउने भन्ने होइन । यसको लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्ने कुरा हो तर हाम्रो मुख्य दायित्व जनताको सेवालाई नै सहज तरिकाले उहाँहरुको घरदैलौमा पुर्‍याउने हो ।’

‘शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले नलिएसम्म समाजवादको अभ्यास रहदैन । स्थानीय तह जनतासंग प्रत्यक्ष जोडिने भएकोले बजेटको ठुलो हिस्सालाई झण्डै ५० लाख विनियोजन गरेको थियौ’, अध्यक्ष चुमानले भने, ‘यदि आँबुखैरेनी गाउँपालिकामा कसैलाई प्राणघातक रोग लागेमा गाउँपालिकाले उपचारको लागि ५० हजार नगद प्रत्यक्ष सहयोग गर्ने कार्यविधि बनाएर सेवा गर्ने नेपालभरको पहिलो पालिका आँबुखैरेनी गाउँपालिका हो ।’

दुर्गा अर्याल : उपाध्यक्ष

आँवुखैरेनी गाउँपालिकाले मुख्त स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएर अगाडि बढेको उपाध्यक्ष दुर्गा अर्यालले बताइन् । गाउँपालिकाको न्यायीक समितिमा बढिमात्रमा लेनदेन, घरेलु हिंसा र पालन पोषण सम्बन्धीका मुद्दाहरु आउने गरेको उनले बताइन् । ‘पालिकाका नागरिकहरुलाई आर्थिकोपार्जनसंग जोड्नका लागि उद्यमशिलता कार्यक्रम भनेर बजेट छुट्याएका छौ’, उनले भनिन्, ‘यस्ता कार्यक्रममार्फ महिला सशक्तिकरण, आर्थिक बृद्धि र महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउने गरी अगाडि बढेका छौं ।

यस्तै, महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउनका लागि लघुउद्यमका तालिम, सचेतना, महिला नेतृत्व बिकासका तालिम सञ्चालन गर्दै आइएको छ । योजना अनुगमनका क्रममा जनताको घरदैलोमा पुग्दा कामको गुणस्तर र आवश्यकताको पहिचान गरी विकास निर्माणका कामलाई अगाडि बढाउन सहज भएको छ। अनुगमनको संयोजक भएर काम गरिरहदा टेवलमा फाइल पुग्दैमा पास नगरी स्थलगत अनुगमन गरी कामको गुणस्तर र परिणाम हेरेर भुक्तानी प्रक्रियामा अगाडि बढाउने गरेको उनले बताइन् ।

विष्णु प्रसाद शर्मा : प्रमुख प्रशासकीय अधिकारी

आँबुखैरेनी गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफ्ना नीति तथा कार्यक्रमहरुलाई अगाडी सारेको छ । चालु आर्थिक वर्षको गाउँसभाबाट मुख्य रुपमा स्वास्थ्य र शिक्षालाई बढि प्राथमिकता दिइएको छ भने कृषि, उद्योग, पर्यटनलाई पनि समेटेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बताए। ‘समग्रमा गाउँपालिकाले विकास निर्माणको पूर्वाधारदेखि मानवीय संसादन विकास गर्ने लक्ष्य पनि लिएको छ ।

विभिन्न जातजाति, वर्ग, लिंगका मानिसहरु बसोबास गर्ने गाउँपालिकाका केही वडाहरु विकट क्षेत्रमा पर्ने हुँदा, यहाँका भुजेल, चेपाङ समुदायको जीवनस्तरमा सुधान गर्ने गरी कार्यक्रम अगाडि बढेका छन्’, उनले भने, ‘परम्परागत घरेलु सीपमा आधारित भुजेल समुदायलाई डोको, नाम्ला बुन्ने, दलित पहुँच विस्तार गर्दै व्यवसायिक र आधुनिकीकरण गर्दै उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिने योजना गाउँपालिकाको रहेको छ । यसका लागि प्रदेश सरकारबाट २ करोड रुपैयाँ बजेट प्राप्त भई जेठ मसानतसम्म योजना सम्पन्न गर्ने गरी काम भइरहेको छ । यो कार्यक्रमले गाउँपालिकाको मानवीय विकासमा फड्को मार्ने आशा लिएको छ ।’

यस्तै परम्परागत कृषि उत्पादनलाई प्रविधिमत्री बनाउन नसके किसानले राम्रो प्रतिफल प्राप्त गर्न नसक्ने अवस्थालाई ध्यानमा राखि उत्पादित उपजलाई बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले शुक्रबारे हाट बजार सञ्चालनमा ल्याएको छ । यो हाटबजारले कृषकलाई आफ्नो उत्पादन विचौलियालाई नभई सोझै आफैले उपभोक्ताहरुसंग विक्रि वितरण गर्ने माध्यम बनेको छ । हाटबजारका लागि गाउँपालिकाले वडा नं. ३ को अमिलेबोटमा निःशुल्क रुपमा ठाउँको व्यवस्थापन गरेको छ ।

गाउँपालिकाका बासिन्दालाई सहज रुपमा सेवा लिने र सेवा प्रवाहमा सहज बनाउन कर्मचारीलाई निर्देशन दिने, शाखागत कर्मचारीको अनुगमन निरिक्षण गर्ने, आर्थिक पारदर्शीताको हिसाबले योजनाको समयमै लक्ष्य हासिल गरिसक्नुपर्ने गरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेको छ । नागरिकलाई सहज रुपमा उपचार सेवा प्रदान गर्न १५ शय्या क्षमताको अस्पताल सञ्चालन, अस्पतालमा आवश्यक दरबन्दीको व्यवस्था, एमडिजिवि डाक्टरसहितको ३ जना डाक्टर ल्याई अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पताल सञ्चालन हुनुपूर्व प्राथमिक स्वास्थ्य केन्द्रमा दिनको ३५/४० जना सेवाग्राही आउथे भने अहिले लगभग १०० जनाले स्वास्थ्य सेवा लिने गरेका छन् । गाउँपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न कठिनाई भएकाले श्रोत जुटाएर दन्त सेवा, आँखा शिविर सञ्चालन गर्ने गरेको उनले बताए ।

स्थानीय सरकारले विकास निर्माण र जनताको सेवा प्रवाह काम गरिरहँदा सेवाग्राहीले केही राहत भएको अनुभूति गरेका छन । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा वृद्धवृद्धाहरुलाई बैंकमा आइ घण्टौसम्म लाइन कुर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार प्रत्येक त्रैमासिक किस्तामा गाउँगाउँमा गई सेवा दिने र संगसंगै घुम्ती शिविर पनि सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले नागरिक सहायता कक्षको स्थापना गरी एउटै छानाबाट निवेदन लेख्नेदेखि आवश्यक कागजातहरु मिलाइदिने जस्ता एकीकृत प्रणाली लागु गरी सेवा प्रवाह गरेको उनले बताए ।

आँवुखैरेनी हस्पिटलमा बुधबार स्वास्थ्य सेवा लिन आएका सेवाग्राहीहरु । तस्विर : भञ्ज्याङ

संविधानको परिकल्पना गरेको तीन तहको सरकारमा कतिपय संघ, प्रदेश, केन्द्रबाट नीति कार्यक्रमहरु बन्दै आएर स्थानीय तहले बनाएन कार्यान्वयन गर्दा सहज हुने थियो । त्यस्तो नहुँदा विभिन्न खाले समास्याहरु पनि झेल्नुपरेको छ । गाउँपालिकाको बजार क्षेत्रमा पैदलयात्रीको लागि बाटो सघुरो भएको हुँदा दुर्घटना न्यूनिकरणका लागि सडकको दायाँबाँया ३/३ मिटरको फुट ट्रयाक निर्माण गर्ने क्रम अगाडी बढाइएको छ । गाउँपालिकाका हरेक टोलको भित्री बाटोहरुलाई पिच गर्न आँबुखैरेनी चक्रपथ योजनाको लागि ५ करोड ५२ लाख टेण्डर आव्हान गरिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश भएका ११६ वटा मध्ये लगभग १०० वटा योजना सम्झौता भइसकेको र केही योजना मात्र बाकी रहेको अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता बाहेक ६१ करोड वाषिर्क बजेट रहेको छ । यस्तै भौतिक प्रगतिमा ४५ प्रतिशत भएको र लगभग ३० प्रतिशतको हाराहारिमा आर्थिक प्रगति भएको छ । अबको ४ वर्षमा सम्झौता भएअनुसारका प्रगति हुन्छ भन्ने आशामा छौ । समग्र रुपमा जनतालाई सामाजिक विकास, मानवीय विकास, आर्थिक विकास, पूर्वाधार, संस्कार संस्कृतिको संरक्षण जस्ता क्षेत्रमा गाउँपालिकाले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको शर्माले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker