सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीले बुझाए प्रजिअलाई ज्ञापनपत्र
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-९ स्थित गजुरे स्वास्थ्य चौकी प्रमुख खुशीराम क्षेत्रीमाथि आक्रमण भएको भन्दै स्वास्थ्यकर्मीहरुले सुरक्षा माग गरेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ व्यास नगर समितिले जनस्वास्थ्य निरीक्षक क्षेत्रीलाई शनिबार राति सोही ठाउँका ३० वर्षीय सन्तोष थापा लगायतका केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरी आक्रमण गरेको भन्दै सुरक्षा माग गरेका हुन् ।
संघले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई आइतबार ज्ञापनपत्र बुझाउँदै क्षेत्रीमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ ।
फर्जी मेडिकल रिपोर्ट बनाउन दबाब सिर्जना गर्ने र सो कार्य गर्न अस्वीकार गर्दा क्षेत्रीमाथि ढुङ्गा, मुढा र बियरको बोतल प्रयोग गरी आक्रमण गरिएको संघकी अध्यक्ष लक्ष्मी गुरुङले बताएन् र स्वास्थ्यकर्मीहरुले अमानवीय, निन्दनी र जघन्य किसिमका अपराध घटाउने प्रकृतिका कार्य गर्नेहरुलाई समाजमा दुर्गन्ध फैलाउन नदिन, कर्मचारीको जिउधनको रक्षा गर्न साथै विधिको शासन पालना गराउन माग गरिएको छ ।










