मुग्लिङ–आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी नदी पारी नयाँ सडक बनाइँदै, साविकको खण्ड एकतर्फी

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारी नयाँ सडक निर्माण गरिने भएको छ । मुग्लिङ–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडक रहेको छ । जसमध्ये मर्स्याङ्‍दी नदी पारी ४.४५६ किलोमिटरमा नयाँ सडक निर्माण गर्न लागिएको हो । सो प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरी आयोजनाले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजनाको सुरुवात मुग्लिङस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।

यो मुग्लिन–पोखरा सडक खण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ । आयोजनाका अनुसार अहिले सुचारु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइने छ । मर्स्याङ्‍दी पारी भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ । त्रिशूली नदी र मर्स्याङ्‍दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्नेछ । यो आयोजनाले गोरखा जिल्लाको इच्छाकामना र शहीद लखन गाउँपालिकालाई छुने छ । आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ ।

पृथ्वी राजमार्गमा रहेको मर्स्याङ्‍दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडकमा विस्तार गर्न असम्भव भएसँगै यो आयोजनाका लागि मर्स्याङ्‍दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन रहेको तर गोरखातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति पुर्‍याउन नपर्ने भन्दै नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ ।

यस्तो बन्ने छ मुग्लिङ–आँबुखैरेनी सडक खण्ड

यसले गोरखातर्फको ग्रामीण बस्तीलाई शहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको ईआईए रिपोर्टमा उल्लेख छ । मुग्लिनमा त्रिशूली नदीमाथि एउटा १२० मिटर लामो पुल र मर्स्याङ्‍दी नदीमाथि बन्ने १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्ने भएको छ । सरकारले २०७५ सालमै मर्स्याङ्‍दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखांकन स्वीकृत गरेको थियो ।

१३.३६ हेक्टर जमिन प्रयोग हुने, ३.८४ हेक्टर जमिन निजी

यो आयोजनाले कुल १३.३६ हेक्टर जमिन प्रयोग गर्ने भएको छ । जसमध्ये ९.५२ सरकारी वन क्षेत्र र ३.८४ हेक्टर निजी जमिन पर्छ ।

सडक निर्माणका दौरान १५३ बिजुली र टेलिफोनका पोल तथा ५ वटा ट्रान्सफर्मरमा बाधा पुग्ने भएको छ । यस दौरान २२७ वटा निजी र ११ वटा सामुदायिक संरचना अधिग्रहण गर्नुपर्ने समेत आयोजनाले जनाएको छ । यस आयोजनका दौरान कुल २ हजार रुख काट्नु पर्ने देखिएको छ । ४ वटा मन्दिर स्थानान्तरण गर्नुपर्ने देखिएको छ । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker