कृषक अधिकारीलाई “प्रदेश उत्कृष्ट कृषि पुरकार”
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१२ घलेछापका कृषक कुशलचद्र अधिकारीले ‘प्रदेश उत्कृष्ट कृषि पुरकार’ प्राप्त गर्न सफल भएका छन् । कृषक अधिकारीले भानु-१२ स्थित घलेछापमा मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका छन् ।
कृषक अधिकारीलाई गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत उत्कृष्ट कृषि पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु ३० हजार रहेको छ । धान दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गरेका थिए ।
कृषि तथा पशुपालनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । स्नातकोत्तर अध्ययन गरेका अधिकारीले घलेछापमा बाख्रापालन गर्दै आएका छन् । कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोचसहित बाँझो जग्गाको प्रयोग गरी उनले बाख्रापालन गरेका हुन् ।
उनको फार्ममा ६५ बाख्रा, १२ भैँसी, एउटा ब्याडे राँगो छ । तीस वर्ष बहराइनमा रोजगारी गरेका बुबाको प्रेरणाले यो व्यवसायमा लागेको अधिकारीले बताए । पर्यटन व्यवसायमा लागेका अधिकारी उक्त व्यवसाय छाडेर काठमाडौँबाट गाउँ फकिएर पशुपालन व्यवसाय गरेका हुन् ।










