तनहुँको व्यास र ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कायम गरिएको छ । अध्ययन अवलोकन भ्रमणका लागि बर्दिया पुगेका व्यास नगरपालिका टोलीले मितेरी सम्बन्ध कायम गरेको हो ।
‘समृद्धिको यात्रामा संगसंगै…..’ भन्दै व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने र ठाकुरबाबाका नगरप्रमुख धननारायण श्रेष्ठले मंगलबार सम्झौता पत्र आदानप्रदान गरेर मितेरी सम्बन्ध कायम गरेका हुन् ।
दुवै पक्ष बीच मित्रता आदान प्रदान तथा पारस्परिक भेटघाटका माध्यमबाट दुवै नगरपालिकाबिचको समझदारी र मित्रतालाई सुदृढ गराउन आपसी छलफल गर्दै संस्कृति, खेलकुल, शिक्षा, कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण एवं स्वास्थ्य क्षेत्रका अनुभव साटासाट गर्ने सहमति भएको व्यास-५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार साझा विषयवस्तु र सिकाईका क्षेत्रहरु पहिचान गरी दुवै पक्षले आफ्ना प्रतिनिधिहरु मार्फत आपसमा संस्कृति, खेलकुद, शिक्षा, कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण एवं स्वास्थ्य क्षेत्रका अनुभवहरु साटासाट गरिने सहमति भएको छ । दुवै नगरले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका कानुन तथा नियमहरु पालना गर्न अनुबन्धित हुनुका साथै साझा कानुन तथा नियमहरु तयार तथा कार्यान्वयन गर्न आपसी छलफल र परामर्श गर्ने सम्झौता भएको छ ।
मौलिक सांस्कृतिक मेला, पर्व तथा प्रदर्शनीहरुको आयोजनामा एक आपसम सहभागी भई मित्रता र समझदारीलाई अझ बढी सुदृढ गर्दै जाने सम्झौता भएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । उनले भने, ‘मितेरी सम्बन्ध पारदर्शी बनाएर दुइ नगरपालिकाको रिति, संस्कृति र परम्परा साटासाट तथा पर्यटकीय प्रवर्द्धनमार्फत समृद्ध बनाउन टेवा पुग्ने छ ।’
मितेरी सम्बन्ध ५ वर्षसम्म कायम रहने र समय सकिएपनि दुवै पक्षबीचको सम्बन्ध कुनै पक्षले अन्त्य नगरेसम्म कायम हुँदै जाने व्यास नगर उपप्रमुख मिरा जोसीले बताइन् । दुइ पालिकाबिच मितेरी सम्बन्ध कायम गर्ने व्यास तेस्ा्रो पालिका हो । यसअघि बन्दिपुर गाउूपालिकाले गुल्मिको धुर्कोटसंग र देवघाट गाउँपालिकाले गोरखाको सहिद लखन गाउँपालिकासंग मितेरी सम्बन्ध गाँसेको थियो ।










