साउन र तीजमा कस्तो फेसन चल्तीमा ?

अहिले साउनको महिना चलिरहेको छ । केही समयपछि तीज पनि आउँछ । साउन र तीजको प्रसंग किन निकालिएको हो भने यो समयमा महिलाहरु परम्परागत पहिरन र गहनामा सजिन रुचाउँछन् ।

सामान्य दिनमा क्याजुअल र अफिसियल पहिरनमा ठाँटिनेहरु साउनको बेला भने हरियो, रातो, पहेंलो रंगका सारी, कुर्ता, त्यसमाथि हातभरि चुरा, मेहेन्दी, जुत्ता र मेकअपमा सजिन्छन् । तीजमा पनि यसैगरी महिलाहरु सजिन्छन् । फरक साउनमा हरियो र पहेंलो रंगका पहिरन हुन्छन् भने तीजमा रातो रंगका ।

समयसँगै साउन र तीजको फेसन पनि परिमार्जित हुँदै आएको पाइन्छ । आजभोलि पहिला जस्तो भारी लुगा र गरगहना लगाउने चलन खास छैन।  ‘लेस इज मोर’ भन्ने कुरालाई अहिलेका महिलाहरुले पछ्याएको पाइन्छ । अर्थात् थोरै लगाउने तर आकर्षक देखियोस् । अहिले साउन र तीजमा कस्तो फेसन शैली चलिरहेका छन् ? यसबारे चर्चा गरौं ।

उज्यालो पहिरन

मुख्यतया साउनको ब्रत र तीजमा सारी नै लगाइन्छ । उज्यालो रातो सादा, थोरै बुट्टा भरेको, बोर्डर मात्र भरेको वा प्रिन्टेट सिम्पल सारी महिलाहरुको रोजाइमा परेका छन् । त्यस्तै अविवाहित युवतीका लागि भने गुलाबी रंगको राम्रो हुन्छ । यस्तो उज्यालो रंगले अनुहार झन् चम्किलो बनाउन मद्दत गर्छ । यसबाहेक रफल सारी, कुर्ता, लेहेंगा, वानपिस, कफ्टान, गाउन लगाउन पनि सकिन्छ । पहिला धेरै बुट्टा भरेको सारी रुचाइन्थ्यो भने अहिले कम बुट्टा भएको सारीको फेसन चलेको छ ।

 नेक ब्लाउज

आजभोलि भी नेक र भी डिप नेकका ब्लाउज चलेका छन् । त्यस्तै ब्लाउजको बाहुलामा फूल र स्लेभेस फेसनमा छ । हाफ र क्वाटर बाहुला खासै चलेको छैन । यसमा सादा सारी वा कम भरेको सारीमा ब्लाउज अलि हेभी मिलाएर लगाउन सकिन्छ । यसले महिलालाई अझ स्टाइलिस लुक दिन्छ । चुरा कस्तो र कति लगाउने ब्लाउजमा बाहुलामा भर पर्छ । यदि फुल बाहुला भएमा थोरै चुरा लगाउने र स्लेभेस भएमा हातभरि लगाउन सकिन्छ ।

साधारण चुरा

आजभोलि डिजाइनरको विचार पनि लेस इज मोर भन्ने स्लोगन चलेको छ । भारी चुरा, गरगहना लगाउनुभन्दा आफूले लगाएको लुगासँग सुहाउँदो चुरा मिलाएर लगाउनुपर्छ । अविवाहितले केटीहरुले बाला लगाउने फेसन छ भने विवाहित महिलाहरु भने सकेसम्म हातभरि सिसाका चुरा लगाउँछन् । चुरामा पनि हेभी बुट्टा भरेको भन्दा पनि सिम्पल साधारण थोरै बुट्टा भरेका र सादा जुरा फेसनमा चलेको छ । लुगासँग मिलाएर चुरा लगाउँदा महिलाहरु एकदम आकर्षक देखिन्छ । बजारमा चुरा सिसा, प्लास्टिक, मेटलमा विभिन्न डिजाइनका पाइन्छ । जुन इच्छाअनुसार सुहाउने गरी लगाउन सकिन्छ ।

गरगहना

हेभी गरगहना वा धेरै गरगहना लगाउनुभन्दा पनि साधारण एउटा मात्र गहना लगाउने फेसन छ । जुन डाइमण्ड, सुन, क्रिष्टल, मोटी, पोटेबाट बनाइएका डिजाइनर नेकलेस तथा आफूसँग भएको गहगहना मिलाएर लगाउन सकिन्छ । साथै तीजको दिन छड्के तिल्हरी, माइली तिल्हरी भने विवाहित महिलाले अनिवार्य रुपमा लगाउने गरिन्छ । यसलाई फेसनसँग जोड्न मिल्दैन । यो धार्मिक आस्था र संस्कृति हो । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ ।

ओपन सुज

ओपन सुज (जुत्ताको अगाडि वा पछाडि खुल्ला भएको) जुत्ता फेसनमा छन् । अहिले वर्षायाम तथा गर्मीले क्लोज सुज लगाउने खासै चल्दैन । फेसनबल जुत्तामा सुनौलो, गुलाबी, रातो रंगका थोरै हिल भएका जुत्ता पर्दछन् । साथै सोमबारको ब्रत बस्दा तीर्थस्थल घुम्ने र तीजमा महिलाहरु दिनभरि साथीभाइ नातागोतासँग नाच्ने भएका कारण यसबेला हाइ हिल जुत्ता भन्दा पनि सहज ओपन सुजको लगाउन सकिन्छ । यसबाहेक साधारण सुहाउँदो मेकअप गरे झन् राम्रो हुन्छ ।

(अधिकारी आईसी ग्रुपकी प्रबन्ध निर्देशकसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker