पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

कास्की : पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ ।

फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।

प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले शनिबार महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनुभएको हो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद खोलाको खोला नापजाँच सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक पौडेलले बताउनुभयो ।

प्राविधिक समितिले एक महिना लगाएर गत साउन ३ देखि भदौ ३ गतेसम्म खोलाको नापजाँच गरेको थियो । फिर्केखोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० परिचालित भएका थिए । संयोजक पौडेलका अनुसार खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ ।

फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । साविक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ ।

यो खोला कम्तीमा तीन दशमलव ३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको छ ।

फिर्केखोलाको प्राविधिक नापजाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् । यसको नापजाँचकार्य ३२ दिनसम्म दुई सय ८८ घण्टामा सम्पन्न गरिएको हो ।

उहाँले भन्नुभयो, “महानगरले हामीलाई फिर्केको सिमाङ्कनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी सबैको साथ र सहयोगबाट सम्पन्न गरी प्रतिवेदन बुझाएका छौँ । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइयो ।”

प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँचसहितको एक महत्त्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो । प्रतिवेदनले खोलाघरमाथिको अवस्था देखाइदिएकाले यसको कार्यान्वयनका लागि महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय गरिने उहाँले बताउनुभयो ।

महानगर प्रमुख आचार्यले भन्नुभयो, “सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचना हटाइनेछ ।” दिगो पर्यटन विकास परियोजनाअन्तर्गत यसको संरक्षण, संवर्द्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के करिडोरको विकास कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले फिर्केखोलामाथि बनेका संरचना हटाउने कार्यमा आम पोखरेलीको साथ र सहयोग रहने अपेक्षा गर्नुभयो । महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उहाँले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । समितिले सम्बन्धित वडाका वडाध्यक्षको रोहवरमा प्रतिवेदन महागनरलाई बुझाएको हो ।

प्रतिवेदनमा फिर्के तथा बुलौदीखोला हुँदै फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहर तथा सिसा र विषाक्त रसायनका कारण प्राणी जीवन सङ्कटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker