सार्वजनिक संरचना निर्माण गर्दा व्यासले न्यूनतम १० प्रतिशत लागत सहभागिता लिने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले उपभोक्ता समिति मार्फत सार्वजनिक संरचना निर्माण गर्दा न्यूनतम १० प्रतिशत लागत सहभागिता अनिवार्य रुपमा लिने भएको छ । नगर कार्यपालिकाको विहीबार बसेको बैठकले नगरपालिका भित्रका सार्वजनिक विद्यालय, मठमन्दिर, सार्वजनिक खेलमैदान निर्माणमा उपभोक्ता समिति मार्फत काम गर्दा गराउँदा ससर्त बजेट बाहेकमा न्यूनतम १० प्रतिशत लागत सहभागिता अनिवार्य रुपमा लिने निर्णय गरेको हो ।

नगरपालिकाको विगत ३१ वर्षको यात्रामा फोहोरमैला व्यवस्थापनको स्थायी समाधान गर्न बाकिँनै रहेकाले स्थायी समाधानका लागि वडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा गठित समितिलाई जग्गा व्यवस्थापन प्रस्ताव पेश गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

उक्त बैठकले व्यास नगरपालिका अन्तर्गतका उद्योग वाणिज्य संघ प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष वा प्रतिनिधि, सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष वा प्रतिनिधिको संयुक्त बैठक मंसिर १५ गते आव्हान गरेको छ । उक्त बैठकमा फोहोरमैला व्यवस्थापन, मौसम परिवर्तन, गण्डकी प्रदेश सरकारबाट जारी नयाँ वन ऐन, प्लाष्टिक झोला मुक्त अभियान सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ ।

नेपाल सरकारको नीति कार्यक्रम र व्यास नगरपालिकाको पटकपटकको निर्णयानुसार व्यास नगरपालिकामा प्लाष्टिक झोला प्रयोग नगर्न नगराउन सम्पूर्ण नगरबासी, उद्योगी व्यवसायी, टोल विकास संस्था, विद्यालय लगायत सबैमा अनुरोध गर्ने र वडा समितिबाट प्रभावकारी अनुगमन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, व्यास नगर शिक्षा ऐन २०७५, नियमावली संशोधन प्रस्ताव तयार गरी १५ दिनभित्र पेश गर्न विधायन समितिलाई निर्देशन दिइएको छ । लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियानलाई पुर्ण सफल एवं प्रभावकारी बनाउन उप-प्रमुख इन्दिरा दरैको अध्यक्षतामा नगरपालिकाका सबै महिला प्रतिनिधि, सरोकारवाला निकाय, संस्थाका प्रतिनिधि सम्मिलित मुल समारोह समिति गठन गरी मंसिर ९ गते एक बजे व्यास-३ अनसन चौतारीबाट र्‍याली गर्दै उद्घाटन गर्ने, मंसिर १० गतेदेखि २३ गतेसम्म सबै वडाहरुमा कानुनी साक्षरता अभियान सञ्चालन गर्ने, विद्यालयहरु बिच चित्रकला, निबन्ध प्रतियोगिता गर्ने र २४ गते विश्व मानव अधिकार दिवसका दिन नगर सभा कक्षमा समापन गर्ने कार्यक्रम तय गरिएको छ । मंसिर १७ गते डिसेम्बर ३ मा हुने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसलाई सहयोग गरिने भएको छ ।

यस्तै, नगरपालिकाले चालु आवको कार्तिक मसान्तसम्म ४ करोड ७२ लाख २७ हजार ६१३ रुपैयाँ आन्तरिक आय भएको बैठकमा जानकारी गरिएको थियो । वडा नं १० मा निर्माणाधिन नारेश्वर तालको बाँध निर्माण कार्यलाई तत्काल सम्पन्न गर्न प्रदेश सरकार सिँचाई तथा जलस्रोत कार्यालय तनहुँलाई अनुरोध गर्दै अन्य पूर्वाधार निर्माण प्रक्रियामा विनियोजित आन्तरिक बजेटबाट कार्य प्रारम्भ गर्न कार्यालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker