तनहुँमा डेङ्गु नियन्त्रण गर्न रेडक्रसको अग्रशरता
भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँमा डेङ्गु संक्रमितको संख्या सात हजार नाघेको छ । डेङ्गु पूर्ण रुपमा नियन्त्रणमा नआएपछि नेपाल रेडक्रस सोसाइटी तनहुँ यतिबेला डेङ्गु नियन्त्रण गर्न बजार क्षेत्रका साथै गाउँ बस्तीमा पुगेर सचेतना अभियानमा जुटेको छ । टोलीले सचेतनामूलक कार्यक्रम गर्ने, पम्प्लेट वितरण, माइकिङ गर्ने कार्यलाई पनि त्रि्रता दिएको छ ।
शाखाका सभापति प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको नेतृत्वमा डेङ्गु नियन्त्रण टोलीले आइतबार डुम्रेबजारमा रेडक्रसकर्मी र प्रतिनिधि मूलक सरोकारवालाहरु बीच सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । खोजौं र नष्ट गरौं भन्ने अभियानमा रेडक्रसका मन्त्री सूर्यचन्द्र हड्खले, जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी, भानुका जनस्वास्थ्य निरीक्षक सुभाष रेग्मी, बन्दीपुर-४ का वडा सदस्य भिम घले, रेडक्रसका कोषाध्यक्ष प्रतापसिंह अधिकारी, प्रदेश सदस्य कृष्णचन्द्र पाण्डे, हरी सिग्देल, केशु गुरुङ्ग, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटि तनहुँका वरिष्ठ अधिकृत शिवकाजी पियाले जानकारी दिए ।
यस्तै, स्वास्थ्य कार्यालय तनहुँले आईतबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म तनहुँमा ७ हजार १३३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । गत भदौ अन्तिम सातादेखि तनहुँमा डेङ्गु संक्रमण देखिएपनि हालसम्म नियन्त्रणमा आउन नसकेको जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिका रहेको छ । व्यासमा पाँच हजार ८२२ जनामा डेङ्गु संक्रमण देखिएको छ । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गुबाट संक्रमित छन् । तथ्याङ्क अनुसार शुक्लागण्डकीमा ५५९, ऋषिङमा २१४, भिमादमा १९०, म्याग्देमा १३२, भानुमा ८९ जना, बन्दिपुरमा ४९, अँबुखैरेनीमा ३९ र देवघाटमा २३ जनामा डेङ्गु संक्रमित रहेका छन् ।
डेङ्गुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडाको प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डाक्टर परिवर्तन बरालले बताउनुभयो । चिकित्सकको परामर्श अनुरुप औषधी सेवन गर्न, झोलिलो खानेकुरा प्रशस्त खाने, फलफूल खाने र आराम गर्न चिकित्सकहरुले सुझाएका छन् ।










