बन्दीपुरको इतिहास र पर्यटनको सुरुवात

के.बि. मसाल

बिकास भनेकै परिवर्तन हो । बन्दीपुर पुरानो बजार हो । अहिले बन्दीपुर तनहुँ जिल्लाको एक गाउँपालिका भएको छ । बन्दीपुर ऐतिहासिक व्यापारिक केन्द्र पनि हो। मूलतः राणाकालमा बन्दीपुर भारत र तिब्बतबीचको व्यापारिक मार्ग थियो । यही बाटो हुँदै भोटको व्यापारमा नेपाली र भारतीयहरु पुग्ने गर्दथे। तिब्बततिर ब्रिटिश साम्राज्यका औद्योगिक उत्पादन निकासी हुन्थ्यो भने तिब्बतबाट जडीबुटी, धातु लगायतका सामान पैठारी हुन्थ्यो । त्यसैले बन्दीपुर कुनैबेला भोट र भारतीय सामान व्यापारको ट्रान्जिट प्वाइन्टकै रुपमा चर्चित थियो । लमजुङ, गोरखा, मनाङ र तनहुँकै मानिसहरु नुनतेल लिनको लागि चितवनको ठोरी जादा बन्दीपुर बजारको बाटो नाकानै थियो । बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट वि.सं. २०२५ सालमा दमौली सारिएको थियो । ती पुराना कुरा अहिलेको युवा पुस्ताहरुलाई कथा बनेको छ ।

आजभन्दा ठीक २५० वर्षअघि नेपाल एकिकरणको क्रममा १ मंसीर १८२६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गरे । तीन दिनसम्मको युद्धपछि भक्तपुरका राजा रणजित मल्लले हार स्वीकार गरे । नेपाल एकिकरण गर्ने समयमा राजा पृथ्वीनारायण शाहले भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंह थापा, कालीदास खडका आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिए । त्यहि समयमा काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल सुरक्षित हुनको लागि भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगेका थिए । राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अग्रेजसँग समेत सहयोग मागेका थिए । भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो । पृथ्वीनारायण शाहले उपत्यकामा आक्रमण गरेपछि भक्तपुरबाट भागेर प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरु सुरक्षित बसोवासका लागि बन्दीपुर आएका हुन । सयौ वर्षदेखी भोटसंग भारत तर्फब्यापार गर्ने ठाउ बन्दीपुर भक्तपुरे नेवारहरुले बसोवासको लागि बन्दीपुर रोजे । नेवारहरुको पहिलो समुह बिसं १८३२ देखी १८५७ को बिचमा बन्दीपुर पुगेको इतिहास छ । नेवारहरुको प्रबेश पछि बन्दीपुरमा भक्तपुरे शैलीका घरहरु बन्न थाले । भक्तपुर शैलीमा नै मन्दिर बनाए । ब्यापारिक सोचमा आएका नेवारहरुले बन्दीपुरलाई क्रमश गाँउलाई शहरको रुपमा परिवर्तन गराए ।

भक्तपुरका नेवारहरुले बन्दीपुरमा बसाइ मात्र सारेनन आफुसंगै भक्तपुरका विभिन्न जात्रा र मेला पनि भित्राए । भक्तपुरे नेवारहरुले भक्तपुरे शैलीका घर निर्माण गर्नुका साथै त्यहाँका विभिन्न चाडबाड पनि भित्राए। अहिले बन्दीपुरमा मनाइने विस्केट जात्रा, लाखे नाच, गाईजात्रा आदि भक्तपुरबाटनै बन्दीपुरमा भित्रीएको संस्कृति हो । बन्दीपुरको अर्को पाटो भनेको नेवारी संस्कृति हो । कन्दीपुरमा भक्तपुरे नेवारको सस्कृतिका जात्रा लाखेनाँच, बाघ जात्रा, रोपाई जात्रा, पुतलीको बिहे, विस्केट जात्रा लाग्ने गर्दछ । गुरुङ र मगरको नाचले पनि बन्दीपुरलाई स्थानीय संस्कृतिलाई बचाएको छ । चुटका नाँच र घाँटु नाँच मात्र होइन नेवार जातीको डोका नाचले पनि बन्दीपुरलाई सस्कृतिको बचावट गरेको छ । बन्दीपुरमा विन्ध्यवासिनी, गणेश मन्दिर, महालक्ष्मी थान, थानीमाई, चामुण्डा, तीनधारा महादेव र गुम्बादेखि चर्चसम्म रहेको छ । थानीमाईबाट देखिने मर्स्याङदी नदीको आकर्ष शब्दमा वर्णन गरेरै सकिन्न । बन्दीपुरको अर्को आकर्षक स्थल भनेको दक्षिण एसियाकै सबैभन्दा लामो गुफा सिद्ध गुफा पनि हो । पृथ्वी राजमार्गमा पर्ने बिमलनगरमा रहेको यो गुफा ४३७ मिटर लामो छ । नेवारी संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना पुराना तर सुन्दर घरहरु बन्दीपुर बजारको पहिचान हो । अहिले बन्दीपुरको मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरुको संरक्षण गरिएको छ । जुन कार्यले इतिहासको सुरक्षा र पर्यटकहरुलाई लोभ्याउने काम गरेको छ ।

राजा मुकुन्द सेनको शासनकाल देखिनै इतिहास जोडिएको बन्दीपुरको नाम मगर भाषामा रहेको छ । समुन्द्री सतहभन्दा एक हजार ३० मिटरको उचाईमा बन्दीपुर पर्दछ। बन्दीपुर बजार भन्दा केही माथि रामकोट गाउँ पर्दछ। जुन गाउँमा मगरहरुको पुरानो बस्ती छ । वनको अर्थ जगंल दीको अर्थ पानी र पुरको अर्थ गाउँ हो । तर बन्दीपुरको नामका बारेमा अनेकौ किम्वदन्दी छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन । गण्डकी क्षेत्रका अधिकास ठाउका नाम डी बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी, माडी, मर्स्याङदी, चुँदी, दरौदी आदि .. । मगर भाषामा डि लाई पानी भनिन्छ । बन्दीपुर वरपर मगर जातिको बस्ति भएको र परापर्ूव कालमा वनको पानी खानपर्ने भएकोले ठाउँको नाम बन डी अर्थात वनको पानीबाट बन्दीपुर भएको भन्ने भनाई छ । भने राणाकालीन समयमा अपराधीहरुलाई थुन्ने अर्थात बन्दी गर्ने स्थान भएकोले बन्दीपुर भनिएको हो भन्ने कुरापनि पाइन्छ । तर बन्दीपुरको बारेमा अनुसन्धान गर्ने इटालीका लिण्डा इटालिएनले खड्क देवीको पुजारीको नाम बन्दी थियो र उनकै नामबाट बन्दीपुर हुन गएको कुरा उल्लेख गरेका छन ।

बन्दीपुरको इतिहास खोज्दै जाने हो भने राजा मुकुन्द सेनको शासनकाल समेत जोडिन्छ । बन्दीपुर भन्दा माथी रहेको मुच्चुक डाँडा अर्थात गढीमा मगरहरु तथा कामीहरुको बस्ति रहेको थियो । मुकुन्द सेन केही दिन राजकाजदेखि छाडेर शान्तीसंग बस्न मुच्चुक डाँडामा आएका थिए । एक दिन नजिकैको ब्राम्हण बस्ति झाप्री फाँटको एक बृद्धाले एक्लो बसेको देखेर खाना खान बोलाए छन् । बृद्धाले चौरासी ब्यञ्जन सजाएर खाना पस्काए छन् । मुकुन्दसेनले सबै एकै ठाउँमा मुछेर खान लागेको देखेर भनेछन्, तिमी त राजा मुकुन्दसेन जस्तै रहेछौ । सबैलाई एकै ठाउँमा मिसाउन खोज्ने । राजाले पनि बिभिन्न जातजाती संस्कार धर्म भएका जनतालाई एकै ठाउँमा मिसाएर राज्य चलाउन खोजे । तिमी पनि सबै खानेकुरालाई एकै ठाउँमा मिसाएर खाना खान खोज्दैछौ । प्रत्येक ब्यञ्जनको आ-आफ्नै बिशेषता हुन्छ, आ-आफ्नै स्वाद हुन्छ। त्यसलाई अलग अलग खानुपर्छ । त्यसपछि राजा केही नबोली उठेर हिडे । बृद्धाको कुरा सुनेर राजकाज त्यागेर योगी बनेर देवघाटमा मन्दिर बनाएर बसे । देवघाटमा बसेको केही समय पछि मुकुन्दसेनको मृत्यु भयो । अहिले पनि मुच्चुक डाँडामा मुकुन्दसेन बसेको गढीमा मन्दिर रहेको छ । जुन मन्दिरलाई मुकुन्देश्वरीको मन्दिर भनिन्छ । मुकुन्देश्वरी मन्दिरमा खासगरी मगरहरुले पूज्ने गर्दछ ।

पृथ्वी राजमार्ग निर्माणको सुरुवात र बन्दीपुरमा रहेको सदरमुकाम २०२५ सालमा दमौलीमा सार्दाको बखत स्थानीय बासिन्दाको विरोध भयो। त्यतिबेला तनहुँको पहिलो स्कुल थियो भानु हाइ स्कुल । केही युवा र बिद्यार्थीको सक्रियतामा बन्दीपुरमा ठूलो विरोध भयो । प्रहरीको गोलीबाट निर्मल रानाभाटको मृत्यु समेत भयो । बिरोधमा उत्रनेहरुलाई केही दिन प्रहरीले नियन्त्रणमा लियो। त्योबेला बन्दीपुरमै सदरमुकाम राख्न धेरै मिहिनेत गरे । सदरमुकाम दमौली सारेपछि बन्दीपुर सुनसान हुन धेरै बेर लागेन । बन्दीपुरेको व्यापार सुक्दै गयो । बन्दीपुरेहरु पोखरा, चितवन र काठमाडौं मात्र होइन पृथ्वी राजमार्गमा पर्ने डुम्रे, बिमलनगर लगायत ठाउँमा बसाइ सरे । केही पुराना व्यक्तिहरु जो थातथलो छोडन सक्दैनन् उनीहरु मात्र बन्दीपुर बजारमा बस्न पुगे ।

बन्दीपुरमा पुरानो खानेपानी वि.सं. २०१७ सालमा सुरुवात भै २०१९ सालमा सम्पन्न भएको हो । यसको मुहान छिम्केश्वरी नजिक बडस्वाँरामा पर्दछ । अहिले त्यो खानेपानी बन्दीपुर बजारदेखि ४ किमी पूर्व भञ्ज्याङ गाउँसम्म मात्र आएको छ । बन्दीपुरमा राजा महेन्द्र २०१५ साल पुष महिनामा पुगेका थिए । बन्दीपुरको बिकास निर्माणका लागि प्रत्यक्ष जनताहरुसंग राजा महेन्द्र भेटघाट गर्न जादा बन्दीपुरेहरुले बजारभरी तुलको कपडा बिछयायर स्वागत गरेका थिए । यी कुराहरु बन्दीपुरका पुराना बासीहरुलाई मात्र थाहा हुन सक्दछ।

अहिले बन्दीपुरमा बिकासका पूर्वाधारहरु थपिदै छन । गाउँपालिकाले बन्दीपुरको विकासका लागि २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माण गरेको छ । बन्दीपुरमा वि.सं. २०५४ सालदेखि इको टुरिजमको सुरुवात भयो । बजार क्षेत्रमा ढुंगा बिछाउनेदेखि लिएर पर्यटन बिकासका लागि होटल र होमस्टे सञ्चालनमा आए । त्यसपछि बन्दीपुरमा विदेशी पर्यटकहरु भित्रन थाले । पर्यटकहरुको आगमन पछि बन्दीपुरमा चहल-पहल सुरु हुन थाल्यो । कुनै बेलाको व्यापारिक केन्द्र, सात सालको क्रान्तितामा बिगुल फुक्ने क्षेत्र बन्दीपुरको प्रचार हुन थाल्यो । मगर र नेवारहरुको बस्ति छर्लङ्गै देखिने हिमाली श्रृंखलाका कारण बाहृय र आन्तरिक पर्यटकहरुको बन्दीपुर लोकप्रिय हुन थाल्यो । अहिले बन्दीपुरमा तमुखोलाको पानी लिफटिङ गरी पुरानो ट्याङ्कीबाटनै बितरण गरिदै आएको । अर्को योजना मर्स्याङदी नदीबाट समेत लिफ्टिङ गर्ने काम पनि भै रहेको छ ।

पर्यटनकै लागि अहिले बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा १२ वटा समूहले होमस्टे चलाएका छन्। तीमध्ये ५ वटा बजार क्षेत्र वरपर नै छन् । बजार क्षेत्रको वडा नं. २ र ४ मा मोहरीया, बन्दीपुर, विन्दवासिनी, तीनधारा र बन्दीपुर पाहुना घर नामका होमस्टे चलेका छन् । एउटा समूहमा १० वटासम्म घर छन् । बजार क्षेत्र बाहेक वडा नं. ३ को रामकोट, वडा नं. ६ को धरमपानी, कमलवारी र डाँडाछाप लगायतका ठाउँमा पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा छन् । बन्दीपुर घुम्न जाने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र संस्कृति देखाउने उद्देश्यले होमस्टे सन्चालनमा आएका हुन । होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ । लोकल कुखुराको मासुसहितको खाना खाएर, एटयाच टवाइलेट बाथरुम सहितको कोठामा बसेर, बिहान कोदोको रोटीसहितको नास्ता खाएर जम्मा १ हजार रुपया भए पुग्छ । पर्यटकहरु र्फकने बेलामा स्थानीय महिला दिदी-बहिनीहरुले फूलमाला र टीका लगाएर विदाइ गर्नुहुन्छ ।’

बन्दीपुरमा साना ठूला गरी ३० वटा होटल र ४० वटा रेष्टुरेन्टहरु पनि छन् । एक रातमा होटल र होमस्टे गरेर बजार क्षेत्रमा १५०० जनासम्मलाई राख्न सक्ने क्षमता छ। पछिल्लो समयमा उज्यालो बन्दीपुर अभियान अर्न्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्ष सडक वत्तीहरु राख्ने अभियान चलेको छ । बजारका विभिन्न ठाउँमा बन्दीपुरे ढुंगा छाप्ने कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आकर्षाको केन्द्र बन्न थालेको छ । केबलकार अब सञ्चालनको तयारीमा छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकारमा रेष्ट्रो-कार र तारे होटल बनाइरहेको छ । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित साँझ ६ बजेबाट राति ९ बजेसम्म केबलकार चल्ने छ भने बिहान ६ बजेबाट साँझ ६ बजेसम्म केबलकार चल्ने छ ।

बन्दीपुरका पुराना घरले भक्तपुरका घरकै झल्को दिन्छन । त्यस्तै, बन्दीपुरको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खडदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलमा पर्यटकहरु पुग्दछन । बन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरुले आकर्षा गराउँछ ।

बन्दीपुरमा १८औं शताब्दीमा स्थापीत खडक देवीको मन्दीर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मीकस्थल मानिन्छन । बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तिनधारामा आजभोली पिकनिक स्पोट भएको छ । बन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुँदै दमौली पुग्ने मोटर मार्ग पनि छ । खडगदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक सम्पदा हो । खडगदेवी मन्दिरमा दुइजना पूजारी हुन्छन । एक मगर पूजारी जसले वर्षो एक पटक दशैमा खडगलाई छुन सक्छन्। तर ब्राम्हण पूजारीले खड्गलाई छुन पाइदैन ।

दशैमा पूजापछि खड्ग लिएर मगर पूजारी मन्दिर बाहिर निस्केर सबैलाई देखाएपछि खड्ग कामीलाई दिइन्छ । कामीले खड्ग लिएर बजार परिक्रमा गर्ने गर्दछ । बन्दीपुरको खड्गदेवी मन्दिरमा कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने, नेवारहरुले मंगलधुन बजाई भजन किर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दमाईले मंगलधून र नगरा बजाउने, सुनारले देवीका गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने र अन्य जातिकाले शोभायात्राभर सेवा, धूपबत्ती बाल्ने र गुरुङ समुदायले शोभायात्रामा पहरा र सुरक्षा दिने अनि रातमा चुडका नाचँ प्रदर्शन गर्ने गर्दछन ।

पोखरा घुम्न जानेले प्रायः बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर पुग्ने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झयालहरु लगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । बन्दीपुरबाट सूर्योदयको सुन्दर दृश्य देख्न सकिन्छ । बन्दीपुरबाट मनोरम हिमश्रृंखला, पहाड, टाकुरा हेर्न सकिन्छ । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बिदाको समयलाई सदुयपोग गर्ने र सहरको कोलाहल, धुवाधुलोबाट छुटकारा पाउन गाउँले परिवेशमा रमाउन पर्यटकहरु बन्दीपुर पुग्ने गर्दछन । अर्कोतर्फ बन्दीपुरका स्थानीयले गर्ने स्वागत र आत्मीय व्यवहार झनै राम्रो छ । केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्दछ। बन्दीपुर पुग्ने पर्यटकहरु बन्दीपुरको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकषिर्त हुन्छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker