बन्दीपुरको इतिहास र पर्यटनको सुरुवात
के.बि. मसाल

बिकास भनेकै परिवर्तन हो । बन्दीपुर पुरानो बजार हो । अहिले बन्दीपुर तनहुँ जिल्लाको एक गाउँपालिका भएको छ । बन्दीपुर ऐतिहासिक व्यापारिक केन्द्र पनि हो। मूलतः राणाकालमा बन्दीपुर भारत र तिब्बतबीचको व्यापारिक मार्ग थियो । यही बाटो हुँदै भोटको व्यापारमा नेपाली र भारतीयहरु पुग्ने गर्दथे। तिब्बततिर ब्रिटिश साम्राज्यका औद्योगिक उत्पादन निकासी हुन्थ्यो भने तिब्बतबाट जडीबुटी, धातु लगायतका सामान पैठारी हुन्थ्यो । त्यसैले बन्दीपुर कुनैबेला भोट र भारतीय सामान व्यापारको ट्रान्जिट प्वाइन्टकै रुपमा चर्चित थियो । लमजुङ, गोरखा, मनाङ र तनहुँकै मानिसहरु नुनतेल लिनको लागि चितवनको ठोरी जादा बन्दीपुर बजारको बाटो नाकानै थियो । बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट वि.सं. २०२५ सालमा दमौली सारिएको थियो । ती पुराना कुरा अहिलेको युवा पुस्ताहरुलाई कथा बनेको छ ।
आजभन्दा ठीक २५० वर्षअघि नेपाल एकिकरणको क्रममा १ मंसीर १८२६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गरे । तीन दिनसम्मको युद्धपछि भक्तपुरका राजा रणजित मल्लले हार स्वीकार गरे । नेपाल एकिकरण गर्ने समयमा राजा पृथ्वीनारायण शाहले भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंह थापा, कालीदास खडका आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिए । त्यहि समयमा काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल सुरक्षित हुनको लागि भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगेका थिए । राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अग्रेजसँग समेत सहयोग मागेका थिए । भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो । पृथ्वीनारायण शाहले उपत्यकामा आक्रमण गरेपछि भक्तपुरबाट भागेर प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरु सुरक्षित बसोवासका लागि बन्दीपुर आएका हुन । सयौ वर्षदेखी भोटसंग भारत तर्फब्यापार गर्ने ठाउ बन्दीपुर भक्तपुरे नेवारहरुले बसोवासको लागि बन्दीपुर रोजे । नेवारहरुको पहिलो समुह बिसं १८३२ देखी १८५७ को बिचमा बन्दीपुर पुगेको इतिहास छ । नेवारहरुको प्रबेश पछि बन्दीपुरमा भक्तपुरे शैलीका घरहरु बन्न थाले । भक्तपुर शैलीमा नै मन्दिर बनाए । ब्यापारिक सोचमा आएका नेवारहरुले बन्दीपुरलाई क्रमश गाँउलाई शहरको रुपमा परिवर्तन गराए ।

भक्तपुरका नेवारहरुले बन्दीपुरमा बसाइ मात्र सारेनन आफुसंगै भक्तपुरका विभिन्न जात्रा र मेला पनि भित्राए । भक्तपुरे नेवारहरुले भक्तपुरे शैलीका घर निर्माण गर्नुका साथै त्यहाँका विभिन्न चाडबाड पनि भित्राए। अहिले बन्दीपुरमा मनाइने विस्केट जात्रा, लाखे नाच, गाईजात्रा आदि भक्तपुरबाटनै बन्दीपुरमा भित्रीएको संस्कृति हो । बन्दीपुरको अर्को पाटो भनेको नेवारी संस्कृति हो । कन्दीपुरमा भक्तपुरे नेवारको सस्कृतिका जात्रा लाखेनाँच, बाघ जात्रा, रोपाई जात्रा, पुतलीको बिहे, विस्केट जात्रा लाग्ने गर्दछ । गुरुङ र मगरको नाचले पनि बन्दीपुरलाई स्थानीय संस्कृतिलाई बचाएको छ । चुटका नाँच र घाँटु नाँच मात्र होइन नेवार जातीको डोका नाचले पनि बन्दीपुरलाई सस्कृतिको बचावट गरेको छ । बन्दीपुरमा विन्ध्यवासिनी, गणेश मन्दिर, महालक्ष्मी थान, थानीमाई, चामुण्डा, तीनधारा महादेव र गुम्बादेखि चर्चसम्म रहेको छ । थानीमाईबाट देखिने मर्स्याङदी नदीको आकर्ष शब्दमा वर्णन गरेरै सकिन्न । बन्दीपुरको अर्को आकर्षक स्थल भनेको दक्षिण एसियाकै सबैभन्दा लामो गुफा सिद्ध गुफा पनि हो । पृथ्वी राजमार्गमा पर्ने बिमलनगरमा रहेको यो गुफा ४३७ मिटर लामो छ । नेवारी संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना पुराना तर सुन्दर घरहरु बन्दीपुर बजारको पहिचान हो । अहिले बन्दीपुरको मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरुको संरक्षण गरिएको छ । जुन कार्यले इतिहासको सुरक्षा र पर्यटकहरुलाई लोभ्याउने काम गरेको छ ।
राजा मुकुन्द सेनको शासनकाल देखिनै इतिहास जोडिएको बन्दीपुरको नाम मगर भाषामा रहेको छ । समुन्द्री सतहभन्दा एक हजार ३० मिटरको उचाईमा बन्दीपुर पर्दछ। बन्दीपुर बजार भन्दा केही माथि रामकोट गाउँ पर्दछ। जुन गाउँमा मगरहरुको पुरानो बस्ती छ । वनको अर्थ जगंल दीको अर्थ पानी र पुरको अर्थ गाउँ हो । तर बन्दीपुरको नामका बारेमा अनेकौ किम्वदन्दी छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन । गण्डकी क्षेत्रका अधिकास ठाउका नाम डी बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी, माडी, मर्स्याङदी, चुँदी, दरौदी आदि .. । मगर भाषामा डि लाई पानी भनिन्छ । बन्दीपुर वरपर मगर जातिको बस्ति भएको र परापर्ूव कालमा वनको पानी खानपर्ने भएकोले ठाउँको नाम बन डी अर्थात वनको पानीबाट बन्दीपुर भएको भन्ने भनाई छ । भने राणाकालीन समयमा अपराधीहरुलाई थुन्ने अर्थात बन्दी गर्ने स्थान भएकोले बन्दीपुर भनिएको हो भन्ने कुरापनि पाइन्छ । तर बन्दीपुरको बारेमा अनुसन्धान गर्ने इटालीका लिण्डा इटालिएनले खड्क देवीको पुजारीको नाम बन्दी थियो र उनकै नामबाट बन्दीपुर हुन गएको कुरा उल्लेख गरेका छन ।

बन्दीपुरको इतिहास खोज्दै जाने हो भने राजा मुकुन्द सेनको शासनकाल समेत जोडिन्छ । बन्दीपुर भन्दा माथी रहेको मुच्चुक डाँडा अर्थात गढीमा मगरहरु तथा कामीहरुको बस्ति रहेको थियो । मुकुन्द सेन केही दिन राजकाजदेखि छाडेर शान्तीसंग बस्न मुच्चुक डाँडामा आएका थिए । एक दिन नजिकैको ब्राम्हण बस्ति झाप्री फाँटको एक बृद्धाले एक्लो बसेको देखेर खाना खान बोलाए छन् । बृद्धाले चौरासी ब्यञ्जन सजाएर खाना पस्काए छन् । मुकुन्दसेनले सबै एकै ठाउँमा मुछेर खान लागेको देखेर भनेछन्, तिमी त राजा मुकुन्दसेन जस्तै रहेछौ । सबैलाई एकै ठाउँमा मिसाउन खोज्ने । राजाले पनि बिभिन्न जातजाती संस्कार धर्म भएका जनतालाई एकै ठाउँमा मिसाएर राज्य चलाउन खोजे । तिमी पनि सबै खानेकुरालाई एकै ठाउँमा मिसाएर खाना खान खोज्दैछौ । प्रत्येक ब्यञ्जनको आ-आफ्नै बिशेषता हुन्छ, आ-आफ्नै स्वाद हुन्छ। त्यसलाई अलग अलग खानुपर्छ । त्यसपछि राजा केही नबोली उठेर हिडे । बृद्धाको कुरा सुनेर राजकाज त्यागेर योगी बनेर देवघाटमा मन्दिर बनाएर बसे । देवघाटमा बसेको केही समय पछि मुकुन्दसेनको मृत्यु भयो । अहिले पनि मुच्चुक डाँडामा मुकुन्दसेन बसेको गढीमा मन्दिर रहेको छ । जुन मन्दिरलाई मुकुन्देश्वरीको मन्दिर भनिन्छ । मुकुन्देश्वरी मन्दिरमा खासगरी मगरहरुले पूज्ने गर्दछ ।
पृथ्वी राजमार्ग निर्माणको सुरुवात र बन्दीपुरमा रहेको सदरमुकाम २०२५ सालमा दमौलीमा सार्दाको बखत स्थानीय बासिन्दाको विरोध भयो। त्यतिबेला तनहुँको पहिलो स्कुल थियो भानु हाइ स्कुल । केही युवा र बिद्यार्थीको सक्रियतामा बन्दीपुरमा ठूलो विरोध भयो । प्रहरीको गोलीबाट निर्मल रानाभाटको मृत्यु समेत भयो । बिरोधमा उत्रनेहरुलाई केही दिन प्रहरीले नियन्त्रणमा लियो। त्योबेला बन्दीपुरमै सदरमुकाम राख्न धेरै मिहिनेत गरे । सदरमुकाम दमौली सारेपछि बन्दीपुर सुनसान हुन धेरै बेर लागेन । बन्दीपुरेको व्यापार सुक्दै गयो । बन्दीपुरेहरु पोखरा, चितवन र काठमाडौं मात्र होइन पृथ्वी राजमार्गमा पर्ने डुम्रे, बिमलनगर लगायत ठाउँमा बसाइ सरे । केही पुराना व्यक्तिहरु जो थातथलो छोडन सक्दैनन् उनीहरु मात्र बन्दीपुर बजारमा बस्न पुगे ।

बन्दीपुरमा पुरानो खानेपानी वि.सं. २०१७ सालमा सुरुवात भै २०१९ सालमा सम्पन्न भएको हो । यसको मुहान छिम्केश्वरी नजिक बडस्वाँरामा पर्दछ । अहिले त्यो खानेपानी बन्दीपुर बजारदेखि ४ किमी पूर्व भञ्ज्याङ गाउँसम्म मात्र आएको छ । बन्दीपुरमा राजा महेन्द्र २०१५ साल पुष महिनामा पुगेका थिए । बन्दीपुरको बिकास निर्माणका लागि प्रत्यक्ष जनताहरुसंग राजा महेन्द्र भेटघाट गर्न जादा बन्दीपुरेहरुले बजारभरी तुलको कपडा बिछयायर स्वागत गरेका थिए । यी कुराहरु बन्दीपुरका पुराना बासीहरुलाई मात्र थाहा हुन सक्दछ।
अहिले बन्दीपुरमा बिकासका पूर्वाधारहरु थपिदै छन । गाउँपालिकाले बन्दीपुरको विकासका लागि २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माण गरेको छ । बन्दीपुरमा वि.सं. २०५४ सालदेखि इको टुरिजमको सुरुवात भयो । बजार क्षेत्रमा ढुंगा बिछाउनेदेखि लिएर पर्यटन बिकासका लागि होटल र होमस्टे सञ्चालनमा आए । त्यसपछि बन्दीपुरमा विदेशी पर्यटकहरु भित्रन थाले । पर्यटकहरुको आगमन पछि बन्दीपुरमा चहल-पहल सुरु हुन थाल्यो । कुनै बेलाको व्यापारिक केन्द्र, सात सालको क्रान्तितामा बिगुल फुक्ने क्षेत्र बन्दीपुरको प्रचार हुन थाल्यो । मगर र नेवारहरुको बस्ति छर्लङ्गै देखिने हिमाली श्रृंखलाका कारण बाहृय र आन्तरिक पर्यटकहरुको बन्दीपुर लोकप्रिय हुन थाल्यो । अहिले बन्दीपुरमा तमुखोलाको पानी लिफटिङ गरी पुरानो ट्याङ्कीबाटनै बितरण गरिदै आएको । अर्को योजना मर्स्याङदी नदीबाट समेत लिफ्टिङ गर्ने काम पनि भै रहेको छ ।

पर्यटनकै लागि अहिले बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा १२ वटा समूहले होमस्टे चलाएका छन्। तीमध्ये ५ वटा बजार क्षेत्र वरपर नै छन् । बजार क्षेत्रको वडा नं. २ र ४ मा मोहरीया, बन्दीपुर, विन्दवासिनी, तीनधारा र बन्दीपुर पाहुना घर नामका होमस्टे चलेका छन् । एउटा समूहमा १० वटासम्म घर छन् । बजार क्षेत्र बाहेक वडा नं. ३ को रामकोट, वडा नं. ६ को धरमपानी, कमलवारी र डाँडाछाप लगायतका ठाउँमा पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा छन् । बन्दीपुर घुम्न जाने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र संस्कृति देखाउने उद्देश्यले होमस्टे सन्चालनमा आएका हुन । होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ । लोकल कुखुराको मासुसहितको खाना खाएर, एटयाच टवाइलेट बाथरुम सहितको कोठामा बसेर, बिहान कोदोको रोटीसहितको नास्ता खाएर जम्मा १ हजार रुपया भए पुग्छ । पर्यटकहरु र्फकने बेलामा स्थानीय महिला दिदी-बहिनीहरुले फूलमाला र टीका लगाएर विदाइ गर्नुहुन्छ ।’
बन्दीपुरमा साना ठूला गरी ३० वटा होटल र ४० वटा रेष्टुरेन्टहरु पनि छन् । एक रातमा होटल र होमस्टे गरेर बजार क्षेत्रमा १५०० जनासम्मलाई राख्न सक्ने क्षमता छ। पछिल्लो समयमा उज्यालो बन्दीपुर अभियान अर्न्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्ष सडक वत्तीहरु राख्ने अभियान चलेको छ । बजारका विभिन्न ठाउँमा बन्दीपुरे ढुंगा छाप्ने कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आकर्षाको केन्द्र बन्न थालेको छ । केबलकार अब सञ्चालनको तयारीमा छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकारमा रेष्ट्रो-कार र तारे होटल बनाइरहेको छ । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित साँझ ६ बजेबाट राति ९ बजेसम्म केबलकार चल्ने छ भने बिहान ६ बजेबाट साँझ ६ बजेसम्म केबलकार चल्ने छ ।

बन्दीपुरका पुराना घरले भक्तपुरका घरकै झल्को दिन्छन । त्यस्तै, बन्दीपुरको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खडदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलमा पर्यटकहरु पुग्दछन । बन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरुले आकर्षा गराउँछ ।
बन्दीपुरमा १८औं शताब्दीमा स्थापीत खडक देवीको मन्दीर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मीकस्थल मानिन्छन । बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तिनधारामा आजभोली पिकनिक स्पोट भएको छ । बन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुँदै दमौली पुग्ने मोटर मार्ग पनि छ । खडगदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक सम्पदा हो । खडगदेवी मन्दिरमा दुइजना पूजारी हुन्छन । एक मगर पूजारी जसले वर्षो एक पटक दशैमा खडगलाई छुन सक्छन्। तर ब्राम्हण पूजारीले खड्गलाई छुन पाइदैन ।

दशैमा पूजापछि खड्ग लिएर मगर पूजारी मन्दिर बाहिर निस्केर सबैलाई देखाएपछि खड्ग कामीलाई दिइन्छ । कामीले खड्ग लिएर बजार परिक्रमा गर्ने गर्दछ । बन्दीपुरको खड्गदेवी मन्दिरमा कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने, नेवारहरुले मंगलधुन बजाई भजन किर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दमाईले मंगलधून र नगरा बजाउने, सुनारले देवीका गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने र अन्य जातिकाले शोभायात्राभर सेवा, धूपबत्ती बाल्ने र गुरुङ समुदायले शोभायात्रामा पहरा र सुरक्षा दिने अनि रातमा चुडका नाचँ प्रदर्शन गर्ने गर्दछन ।
पोखरा घुम्न जानेले प्रायः बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर पुग्ने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झयालहरु लगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । बन्दीपुरबाट सूर्योदयको सुन्दर दृश्य देख्न सकिन्छ । बन्दीपुरबाट मनोरम हिमश्रृंखला, पहाड, टाकुरा हेर्न सकिन्छ । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बिदाको समयलाई सदुयपोग गर्ने र सहरको कोलाहल, धुवाधुलोबाट छुटकारा पाउन गाउँले परिवेशमा रमाउन पर्यटकहरु बन्दीपुर पुग्ने गर्दछन । अर्कोतर्फ बन्दीपुरका स्थानीयले गर्ने स्वागत र आत्मीय व्यवहार झनै राम्रो छ । केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्दछ। बन्दीपुर पुग्ने पर्यटकहरु बन्दीपुरको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकषिर्त हुन्छन ।











