सम्पादकीय : बन्दीपुरको मौलिकता जोगाउँदै समृद्धिको यात्रा

मौलिक परम्परा हाम्रो सांस्कृतिक पहिचानको मेरुदण्ड हो। पुस्तौँदेखि बाँचिंदै आएको वास्तुकला, कला, संस्कृति र जीवनशैली केवल हाम्रो विगतको गौरव होइन, भावी पुस्ताको लागि अमूल्य धरोहर पनि हो । यिनै मौलिक परम्परा र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारी हाम्रो सामूहिक दायित्व हो। यही बोधका साथ अहिले तनहुँको पर्यटकीय नगर बन्दीपुरले एउटा सराहनीय अभियान अघि सारेको छ– मौलिक परम्परा र परम्परागत संरचनाको संरक्षणमार्फत समृद्धिको बाटो पहिल्याउने । “पहाडकी रानी” उपनामले परिचित बन्दीपुर कुनै समय धनी व्यापारिक केन्द्र थियो । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवार समुदायले यहाँ स्थापना गरेका मौलिक घर, कलात्मक झ्यालढोका, ढुङ्गा विछ्याइएका बाटा र सांस्कृतिक संरचनाले बन्दीपुरलाई केवल पर्यटकको गन्तव्य होइन, नेपाली परम्पराको सजीव संग्रहालय बनाएको छ । यही मौलिकताका कारण बन्दीपुर आज ‘नमूना शहर’को रुपमा ख्याती कमाउँदै आएको छ ।

तर, पर्यटन प्रवर्द्धनसँगै आएको आधुनिक निर्माणको चापले यो मौलिकता हराउने खतरा बढ्दै गएको थियो। आधुनिक शैलीका भवन, सटर, च्यानल गेट, एल्युमिनियमका झ्यालढोकाजस्ता संरचनाले परम्परागत सौन्दर्य बिगार्न थालेपछि बन्दीपुर गाउँपालिकाले सशक्त कदम चालेको छ। गाउँपालिकाले अब मौलिक स्वरूप विपरीत निर्माण हुने घरहरुको नक्सापास नगर्ने नीति लिएको छ। साथै सालको काठ महँगो पर्ने भएकाले सामुदायिक वनसँग सहकार्य गरी सहुलियत दरमा काठ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ, जसले परम्परागत घर निर्माणलाई थप सहज बनाएको छ । बन्दीपुरका काठका बुट्टा भएका झ्याल–ढोका, ढल्किएको छानो भएको प्यागोडा शैलीका घरहरु केवल सौन्दर्यका निम्ति होइन, उनीहरु आफ्नै किसिमको कथा बोक्ने संरचनाहरु हुन् । ती संरचनामा जीवन, संस्कृति, श्रम र इतिहासको छाप रहन्छ। त्यसैले, गाउँपालिकाले लिएको यो अभियान केवल नीतिगत परिवर्तन होइन, यो आफ्नै अस्तित्व जोगाउने सांस्कृतिक पुनर्जागरणको संकेत हो ।

पर्यटनको दृष्टिले बन्दीपुरले उल्लेखनीय प्रगति गरिरहेको छ। धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«्रे, मनास्लु, गणेश र लाङ्टाङ हिमाल देखिने भू–परिवेश, टुँडिखेल, शहीद पार्क, बाख्रा अनुसन्धान केन्द्र, सिद्ध गुफा, जलविहार, क्यानोनिङ र चट्टान आरोहण जस्ता गतिविधिहरुले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । यिनै मौलिकता र विविध क्रियाकलापले बन्दीपुरलाई एकदिनको भ्रमणस्थल होइन, बहुपल्ट फर्कन मन लाग्ने गन्तव्य बनाएका छन् । बन्दीपुरबाट बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटकको चाप पनि तीव्र रुपमा बढ्दो छ । यथार्थ के हो भने, पर्यटक यस क्षेत्रमा आउने मुख्य कारण यहाँको मौलिकता हो—नेवार शैलीका घरहरु, संस्कृति, परम्परागत चालचलन, र वातावरण। यी संरचना हटे वा मासिए, बन्दीपुर आफ्नो पहिचान गुमाउने जोखिममा पर्न सक्छ। यसैले गाउँपालिका, पर्यटन व्यवसायी र स्थानीय समुदाय मिलेर संरक्षणका कामलाई अभियानकै रुपमा अघि बढाउनु अहिलेको आवश्यकता हो ।

आज बन्दीपुरमा करोडौं रुपैयाँ लगानीमा बनेका रिर्सोट, होटल तथा गेष्ट हाउसहरु मौलिक शैलीमा निर्माण भइरहेका छन्। काठमाडौंबाट झिकाइएका आँखीझ्याल, बट्टे ढोका र भक्तपुर शैलीका झ्यालढोकाले ‘पुरातनमा पुनरागमन’को संकेत दिन थालेको छ । यो परिवर्तन सकारात्मक मात्र होइन, दीर्घकालीन सोचको उपज पनि हो। पर्यटनमार्फत आम्दानी वृद्धि गर्नु भनेको स्थानीय समुदायलाई समृद्ध बनाउनु हो, तर त्यो समृद्धि मौलिकता गुमाएर होइन, मौलिकताको संरक्षणमार्फतै सम्भव हुन्छ । पर्यटन व्यवसायीले आफ्ना सेवा–सुविधालाई पर्यटकमैत्री बनाउनुपर्छ। केवल सस्तो होटल वा पँचतारे सुविधा होइन, संस्कृति र जीवनशैलीको अनुभव दिन सक्ने किसिमको सेवा आजका पर्यटकको चाहना हो। बन्दीपुरका हरेक व्यवसायी र स्थानीयले यो कुरा बुझ्न जरुरी छ कि पर्यटकलाई आकर्षण गर्ने हाम्रो प्राकृतिक दृश्य वा हिमशृंखला मात्र होइन, हाम्रो साँस्कृतिक पहिचान हो ।

अबको आवश्यकता भनेको बन्दीपुर क्षेत्रलाई समग्रतामा समेट्ने रणनीति बनाउनु हो। बन्दीपुरसँग जोडिएका अन्य ग्रामीण बस्तीहरूमा पनि पर्यटक पु¥याउने व्यवस्था मिलाउनु पर्दछ । यसले बन्दीपुरको चाप कम गर्नेछ, पर्यटकको बसाई लम्ब्याउनेछ र ग्रामीण क्षेत्रमा समेत आर्थिक गतिविधि चलायमान बनाउनेछ । ग्रामीण पर्यटन, होमस्टे कार्यक्रम, हस्तकला प्रदर्शनी, परम्परागत खानाको प्रवर्द्धनजस्ता माध्यमले पर्यटनलाई विकेन्द्रित गर्दै आर्थिक लाभ समुदायसम्म पु¥याउन सकिन्छ। बन्दीपुरको समृद्धिको यात्रामा अहिलेको अभियान निर्णायक बन्न सक्छ । तर, यो अभियान सफल बनाउन तीन पक्षको मिलेर काम गर्नुपर्छ—स्थानिय सरकारको दूरदर्शिता, व्यवसायीको जिम्मेवारी र नागरिकको चेतना । इतिहासले बाँचेका संरचनालाई संरक्षण गरेर पर्यटनमैत्री वातावरण बनाउनु अहिलेको आवश्यक र दिगो रणनीति हो। बन्दीपुरको सौन्दर्य, मौलिकता र पर्यटनसम्बन्धी सम्भावनाको जगेर्ना गर्दै पर्यटनमार्फत समृद्धिको यात्रालाई सफल बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु आवश्यक छ। मौलिक सम्पदाको संरक्षण गर्नु केवल अतीतको सम्झना होइन, भविष्यका लागि सशक्त जग निर्माण गर्नु हो । बन्दीपुरले देखाएको यो मार्ग सिङ्गो देशका अन्य ऐतिहासिक, सांस्कृतिक नगर र बस्तीका लागि पनि उदाहरणीय बन्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker