तनहुँ जलविद्युत्को मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँ जलविद्युत् आयोजनको प्याकेज-१ अन्तर्गतको मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा पुर्याइएको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्यलाई तीब्रता दिइएको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको र अब २१० मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए ।
आयोजनाको मुख्य सुरुङतर्फ कूल एक हजार ४५६ मिटर खन्नुपर्नेमा हालसम्म एक हजार २४६ मिटर खन्ने कार्य सम्पन्न भएको छ । सुरुङ खन्ने र डयाम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यले पनि तीव्रता पाएको उनले बताए । दसैं, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाको हालसम्म ४२ प्रतिशत आर्थिक प्रगति भएको छ । प्रत्येक महिनामा एक प्रतिशत कार्य प्रगति हुने गरेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । तीनवटा प्याकेजमा गरी दैनिक एक हजार पाँच सयको हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
यस्तै, तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-३ अन्तर्गत ट्रान्समिटरको कार्य रोकिएको करिब छ महिनापछि पुनः सुरु गरिएको छ । वनको नीतिगत समस्याका कारण रोकिएको निर्माण कार्य पुनः सञ्चालन आएको छ ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी विसं २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनामा पर्ने ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्ये ७० टावरको जग हालिएको छ भने ३४ टावर खडा गरिसकिएको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत -प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । सो रकममध्ये एशियाली विकास बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।