विश्वसम्पदा दिवसमा तनहुँसुर आएका राष्ट्रपति पौडेलले भने : विकासको आधार कृषि, पर्यटन र जलस्रोत

भञ्ज्याङन्यूज

विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । दिवसका अवसरमा सोमबार तनहुँसुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए ।

उनले भने, ‘यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य छ ।’

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भैरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन र्फकदै छन ।’

नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमासमेत गौरवपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाँउबाट गरिएको स्मरण गरे ।

‘त्यतिखेर बन्दिपुरमा भएको संघर्षमा राणा फौजको गोली लागि ६ जना सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तवहादुर राना मगर, चन्द्रवहादुर सार्की -नेपाली) र खड्ग वहादुर गोदारले सहादत प्राप्त गरेका थिए । वि.सं २०१८ सालमा पनि धेरै शहिद भए जसमध्ये वुद्धसिंह राना मगर यसै क्षेत्रका थिए’, राष्ट्रपति पौडेलले भने, ‘म ती शहीदहरूप्रति यस अवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशको लागि प्राणाहुति दिने ती शहिदहरू र शहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ ।’

आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन संघर्षका दिनहरूमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उनले स्मरण गरे ।

‘यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतकृत छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईहरू बीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ’, उनले भने, ‘यो सबै तपाईहरूकै शुभेच्छा एंव सद्भाववाट सम्भव भएको हो भन्ने मैले ठानेको छु र यसप्रति म आभार व्यक्त गर्न चाहन्छु ।’

सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको वौद्विक केन्द्रसमेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी -भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो ।

यसैलाई उजागर गर्दै चुँदी-रम्घामा भानु साहित्य उद्यानको वृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको १०८ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भैरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहुँसुरमा शहीद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यहरूको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए ।

राष्ट्रपति पौडेलले भने, ‘पछिल्लो समयमा बन्दिपुर, दमौली, मानहुँ लगायतका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रहरूसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकहरूलाई तनहुँसुर लगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकषिर्त गर्नुपर्ने आवश्यकता छ ।’

उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले “भानुप्राणी उद्यान” योजना समेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्यन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिनेनै छ भन्ने विश्वास व्यक्त गरे । देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत योजना हाम्रो धेरै प्रयास पश्चात आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उनले अर्को योजना तल्लो सेती जलविद्युत परियोजना समेत प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गरे ।

‘यस्ता आयोजनाहरूसँगै जोडिएको तनहुँसुर सम्पदा क्षेत्र जस्ता पिछडिएका क्षेत्रमा अधिकाधिक विकासको प्रतिफल पुर्‍याउनुनै तीनै तहका सरकारको लक्ष्य हुनुपर्दछ’, राष्ट्रपति पौडेलले भने, ‘विगतमा तनहुँसुर आफैमा एउटा प्राकृतिक किल्ला छ, यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिंगो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपालललाई बचाएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker