प्रधानमन्त्री सहित ८ जनाले लिए शपथ, तीनवटा बाहेक मन्त्रालय भागबण्डा बाँकी

भञ्ज्याङ समाचारदाता/तनहुँ

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिइसकेका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालय समेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राइ र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा एमालेका राजेन्द्र राइ र जनमतका अब्दुल भने पहिलोपटक मन्त्री भएका हुन् ।

यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधान अनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।

अब बन्द कोठामा कुनै काम हुँदैन : अर्थमन्त्री पौडेल

यस्तै, सोमबार अर्थ मन्त्रालयमा दिनभरजसो चहलपहल रहृयो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालका कामबारे जानकारी दिन सोमबार अपरान्ह पत्रकार सम्मेलन गरे । उनको बर्हिगमनसँगै साँझ नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयमा इन्ट्री गरे । मन्त्रालयमा सचिव कृष्णहरि पुष्करसहित मातहतको निकायका प्रमुख र कर्मचारीले पौडेललाई स्वागत गरे । कार्यकक्षमा आफ्नो पहिलो निर्णय स्वरुप अर्थ मन्त्रालय र मातहतका निकायलाई डिजिटलाइज गर्ने विषयको फाइलमा हस्ताक्षर गरे ।

त्यसपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिए । त्यसक्रममा उनले अर्थतन्त्र संकटको डिलमा रहेपनि काबु बाहिर नरहेको बताए । उनले यसको समाधानका लागि सरोकारवाला निकायसँग बसेर छलफल गर्ने समेत बताए । पदभार ग्रहणपछि मन्त्रिपरिषद् बैठकमा जान हतार भएका उनले अर्थ मन्त्रालयको हलमा करिब १५ मिनेट बिताए । जहाँ उनले कर्मचारीलाई निर्देशन दिने कार्यक्रम राखिएको थियो । सो क्रममा उनले प्रारम्भमा आफ्नो आगमनको परिस्थितिबारे बोले । त्यसपछि कर्मचारीलाई फकाउने कोसिस गरे । उनले पूर्वाग्रह नराखी काम गर्ने भन्दै अर्थ मन्त्रालयलाई असफल हुने छुट नरहेको बताए ।

त्यसपछि उनले सांकेतिक भाषामा पारदर्शितालाई जोड दिने बताए । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि बन्द कोठामा बसेर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको थियो । यद्दपि संसदीय विशेष छानविन समितिबाट यो पुष्टि हुन सकेन । अर्थमन्त्री पौडेलले यसै विषय तर्फ संकेत गर्दै उनले व्यंग्य कसे । उनले भने, ‘म पारदर्शितामा विश्वास गर्छु, बन्द कोठामा कुनै काम हुने छैन ।’ यहाँ उनले टुंडिखेल शब्द निकाल्दै सबै काम खुला रुपमा गर्न कर्मचारीलाई समेत निर्देशन दिए ।

अर्थमन्त्रीहरु माथि लाग्ने अर्को आरोप हो, मन्त्रीले भनेजस्तै नभए सरुवा वा कारबाही गर्ने । विष्णु पौडेलले यस पटक यस बारेमा पनि अग्रिम स्पष्टीकरण दिए । ‘मन्त्रीबाट कुनै गलत काम हुँदैछ भने यो काम गर्नु हुँदैन भनेर कारणसहित भन्न पाइने छ’, उनले भने, ‘त्यो भनेवापत अन्यथा व्यवहार गरिने छैन ।’

स्थायी सरकार हो, प्रतिनिधिसभाले ५ वर्ष काम गर्छ

उनले गठबन्धन भएपनि वर्तमान सरकार स्थायी सरकार भएको उनले बताए । ‘हामी संयुक्त सरकारमा छौं, राजनीतिक स्थायित्वको प्रश्न सुनिश्चित भएको छ, अस्थिरताको बाछिटाले कुनै असर गर्दैन ।’ प्रतिनिधिसभाले पुरै कार्यकाल काम गर्ने भन्दै उनले ढुक्कसँग काम गर्न आहृवान समेत गरे । उनले सञ्चारमाध्यम र आम जनताले आलोचना गर्नै नपर्ने गरी काम गर्न समेत कर्मचारीलाई निर्देशन दिए ।

अर्थतन्त्रमा रहेका समस्याबारे आफूले छिट्टै सरोकारवालासँग छलफल गरी जानकारी लिने समेत उनको कर्मचारीलाई जानकारी गराए । अर्थ मन्त्रालय सफल हुँदा राष्ट्र सफल हुने भन्दै उनले वर्तमान समस्या समाधान गर्ने नसक्ने अवस्थामा समेत नरहेको स्पष्ट पारे । सरकारी वित्तका अधिकांश सूचकांक खराब रहेको अवस्थामा मन्त्रालय सम्हाल्दै गरेका अर्थमन्त्रीले चालु खर्च कटौतीदेखि पूँजीगत खर्च बढाउनेसम्मका काममा जोड दिनु पर्ने बताए ।

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : गृहमन्त्री लामिछाने

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए ।

विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उनले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताए । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उनको भनाई थियो । ‘आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु’, उनले भने, ‘आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।’

गृह प्रशासन मातहतका संगठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उनको भनाइ छ । आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताए ।

आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उनको प्रतिबद्धता छ । साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उनले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताए ।

गृहमन्त्री लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय लेखेर ल्याउन मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिए । उनलाई मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker