मौसम पूर्वानुमान : शनिबार घाम लाग्ने, आइतबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ ।

पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ । काठमाडौंको वर्षा पनि केही घण्टामै रोकिने महाशाखाले जनाएको छ ।

कहाँ कस्तो वर्षा ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार सबैभन्दा धेरै डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।

‘१० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ, यस अनुसार पश्चिम नेपालका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भएको छ,’ मौसमविद झाले भने ।

पहाडी क्षेत्रको तुलनामा पश्चिमकै तराई क्षेत्रमा भने कम पानी परेको छ । उदाहरणका लागि बाँकेको नेपालगञ्ज १ मिलिमिटर मात्र वर्षा भएको छ ।

काठमाडौंको अवस्था कस्तो ?

आज अपराह्नदेखि काठमाडौं उपत्यकामा पनि पानी परेको छ । यसअघि मौसमविदले काठमाडौंमा पानी पर्ने सम्भावना कम रहेको जनाएका थिए । परिहालेछ भने पनि फाट्टफुट्ट मात्र पर्ने उनीहरुको भनाइ थियो ।

मौसमविद झाका अनुसार काठमाडौंमा अपराह्नदेखि फाट्टफुट्ट मात्र वर्षा भएको छ । उपत्यकाभित्रका जिल्लाहरुमा एकनासको वर्षा भने छैन ।

काठमाडौंमा परेको पानी केही घण्टामै रोकिने उनले बताए । ‘पश्चिमबाट पूर्वतिर बादल सर्ने क्रममा छ । त्यही भएर काठमाडौंमा पनि फाट्टफुट्ट पानी पर्यो,’ मौसमविद झाले भने, ‘अहिलेको अवस्थामा भोलिदेखि नै सुधार देखिन्छ ।’

काठमाडौंमा भोलि बिहान पानी नपर्ने तर बादल भने लाग्ने पूर्वानुमान उनले गरे । उनले यो वर्षासँगै काठमाडौं आसपासका अग्ला डाँडाहरुमा हिउँ पर्ने सम्भावना रहेको पनि बताए ।

तर त्यसको प्रकृति कस्तो हुन्छ अहिले नै भन्न नसक्ने उनले बताए । बादल कति जम्मा हुन्छ त्यसको आधारमा मात्र हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने मौसमविदहरु बताउँछन् ।

आइतबारदेखि फेरि पार्न पर्ने

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज रातिदेखि नै काठमाडौंमा पानी पर्न रोकिने छ । भोलि काठमाडौंमा बादल लाग्ने सम्भावना छ । तर शनिबार भने घाम लाग्ने गरी बादल हट्ने उनले बताए ।

आइतबार भने फेरि पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा हुने प्रक्षेपण उनले गरे । ‘फेरि अर्को प्रणाली नेपाल आउँदैछ । त्यसको प्रभावले आइतबार र सोमबार आज जस्तो भयो, त्यस्तै खालको हुनेछ,’ डा. पोखरेलले भने ।

तर अहिलेका मौसमी प्रणालीहरु कमजोर खालका भएकाले त्यसले ठूलो असर भने नपुर्याउने पूर्वानुमान छ ।

यद्यपि पानी पर्दा चिसो बढ्ने भएकाले जनजीवन प्रभावित हुने छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले चिसोबाट जोगिन ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

तर यो वर्षाले प्रदूषण कम हुने, हुस्सु तथा कुहिरो छिट्टै हट्न सहयोग मिल्ने र क्रमशः तापक्रम पनि वृद्धि हुँदै जाने मौसमविदहरु बताउँछन् ।

हिउँदे वर्षा बालिनालीलाई किन आवश्यक ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर प्रक्षेपण गरेअनुसार हिउँदे वर्षा भएको छैन ।

विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर हिउँदयामको एक महिना बितिसक्दा पनि प्रक्षेपण अनुसार हिउँदे वर्षा भएको छैन ।

नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।

तर पर्याप्त पानी नपरेका स्थानमा किसानहरुलाई मर्का परेको छ । यही हिउँदको बेला तराई क्षेत्रमा गहुँ खेती गरिएको हुन्छ । सामान्यता मंसिरमा गहुँ छर्ने किसानहरुलाई त्यसको करिब एक महिनापछि सिंचाइको आवश्यकता हुन्छ । किनभने गहुँले जरा फैलाउने र गाँज फस्टाउने बेला यही हो ।

‘गहुँ छरेको करिब २३ देखि एक महिनाको बीचमा गहुँलाई सप्रिन सिंचाइ चाहिन्छ । कुलोपानी नलाग्ने ठाउँमा आकासे वर्षा पनि भइदिएन भने बाली सप्रिँदैन,’ पूर्व वरिष्ठ कृषि प्रसार अधिकृत अम्मरराज शर्मा भन्छन्, ‘त्योभन्दा ढिला पानी पर्यो भने पनि अन्न र तरकारी खेती फस्टाउँदैन ।’

उनले भने, ‘हिउँदे बाली र तरकारी सप्रिन कम्तिमा पाँच सेन्टिमिटर भिज्ने गरी पानी पर्नुपर्छ । यदि पानी परेन र जाडो बढ्यो भने आलु, टमाटर लगायत तरकारी बालीमा पनि असर गर्छ ।’ पहाडी क्षेत्रमा परेको पानी र हिउँले त्यहाँका किसानलाई फाइदा भए पनि तराई क्षेत्रका किसानका लागि भने यो पानी अपर्याप्त रहेको उनले बताए । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker