२८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि सहयोग
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाका क्षेत्रभित्रका अपाङ्गगता भएका व्यक्तिहरुलाई आयआर्जनसंग जोड्नका लागि सहयोग गरिएको छ । नगरपालिकाको सहयोगमा रिसेड तनहुँले २८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि सहयोग गरेको हो ।
व्यावसायिक काम गरी तथा पेशागत सीप सिकेर आयआर्जन बढाउन चाहने अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग वितरण गरेको छ । नगरपालिकाको सभाहलमा शनिबार आयोजीत कार्यक्रममा उपप्रमुख मिरा जोशीले अपाङ्गता भएका व्यक्तिहरुलाई सो सहयोग वितरण गरेकी हुन् । नगरपालिकाका १४ वटै वडाबाट रिसेडले अपाङ्गता भएका व्यक्तिहरुको माग संकलन तथा फिल्ड भ्रमण गरी २ जनालाई सिलाइकटाइ व्यवसाय, १ जनालाई खाजा पसल, ६ जनालाई कुखुरा पालन, २ जनालाई भैसिपालन, १० जनालाई बाख्रापालन, १ जनालाई बंगुर पालन, १ जनालाई बाँसको मुढा बनाउने तथा ५ जनालाई कम्प्युटर तालिमका लागि प्रति व्यक्ति ७/७ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेको छ ।
किराना पसल विस्तारका लागि सहयोग पाएकी व्यास-५ नेपालटारका शिवलाल श्रेष्ठकी श्रीमती विमला श्रेष्ठले आगामी दिनमा यस सहयोगबाट आफ्नो पसलमा सामान थपेर परिवारको आम्दानी बढाइ परिवारका २ जना अपाङ्गगता भएका सदस्यहरुलाई सहयोग पुर्याउने योजना रहेको बताइन् । त्यसैगरी, व्यास-१ खकौलीकी श्रीमाया दरैले पनि खाफ्नो खाली रहेको खोरमा बंगुरपालन गरी परिवारको आम्दनी बढाउने विचार व्यक्त गरिन् । कम्प्युटर तालिम लिन लागेकी व्यास-१३ की तुलसी अधिकारीले सो तालिमपछि आफुलाई भविष्यमा जागीर पाउन ज्यादै सजिलो हुने बताइन् ।
यो सहयोगलाई सदुपयोग गरी आफ्नो आम्दानीमा बृद्धि गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई आगामी दिनमा पनि नगरपालिकाले सहयोग जारी राख्ने उपप्रमुख जोसीले बताइन् । कार्यक्रमका सभाध्यक्ष तथा रिसेडका अध्यक्ष पदमवहादुर परियारले कोभिड-१९ का कारण अधिकांश अपाङ्गता भएका व्यक्तिहरुले आयआर्जनका श्रोत गुमाएको र यस सहयोगलाई सफल बनाउन रिसेडले घरघरमा गएर अनुगमन गरी आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराउने र सफलतापुर्बक काम गर्ने व्यक्तिहरुबाट अरु अपाङ्गगता भएका व्यक्तिहरुलाई पनि हौसला मिल्ने बताए ।










