कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?

डा. माधव विष्ट/मुटुरोग विशेषज्ञ

हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ ।

यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ । हृदयघात भएको व्यत्तिललाई कसरी तत्काल बचाउन सकिन्छ ?

सबैभन्दा पहिला लक्षण पत्ता लगाउनुपर्छ

हृदयघातको लक्षण जति छिटो पहिचान गर्न सकिन्छ त्यति बच्ने आशा रहन्छ । हृदयघातको अट्याक आउँदा बिरामीलाई असहज हुन थाल्छ । छातीमा दुखाइसँगै बेचैनी बढ्न थाल्छ । बायाँ हात वा काँधतर्फ दुखाइ बढ्छ । गिजामा पनि दुखाइ सुरु हुन्छ । सास फेर्न कठिन हुन थाल्छ । पसिना आउँछ ।

यी लक्षणबाहेक मधुमेह भएकालाई पाचनमा समस्या, बान्ता आउने, सास लिन समस्या जस्ता लक्षण देखिन सक्छ ।

तुरुन्त एम्बुलेन्स बोलाउने

बिरामीमा यस्तो लक्षण देख्दा वरपर बस्ने व्यक्ति डराउन सक्छन् । यस्तोमा एकछिन दिमागलाई शान्त बनाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । शान्त दिमाग बनाई पहिला चिकित्सा मद्दत खोज्नु वा एम्बुलेन्सलाई कल गर्नुपर्छ । तर आलटाल गरी बस्नु हुँदैन ।

कतिपय अवस्थामा आलटाल गर्दा ज्यान जान सक्छ । हृदयघात हुनेबित्तिकै व्यक्ति ढल्दैन । केही मिनेट लक्षण देखिन्छ । यस्तोमा कैयौं बिरामी संकेत देखिए हृदयघात हुन लागेको मेसो पाउँदैनन् । एकछिनमा ठीक हुन्छ भन्दै अस्पताल जान हतार गदैनन् । ढिला गर्दा मुटुको मांसपेशीहरु मरिसक्छन् ।

त्यसैले लक्षण हेर्दा हृदयघातको शंका हुनेबित्तिकै एम्बुलेन्सलाई बोलाउनुपर्छ । त्यसमाथि पनि दीर्घरोग जस्तै मधुमेह, उच्च रक्तचाप भएको व्यक्ति घरमा छन् भने एक मिनेट पनि खेर जान नदिई एम्बुलेन्स वा गाडी घरमै छ भने तुरुन्त पायक पर्ने अस्पताल लाने तयारी गर्नुपर्छ ।

एम्बुलेन्स आउनुभन्दा अघि बिरामीलाई सजिलो समतल स्थानमा राख्नुपर्छ, जहाँ आराम महसुस गर्न सकोस् ।

एस्पिरिन लिने

एम्बुलेन्सलाई बोलाएपछि ३२५ एमजी डोजको एस्पिरिन औषधि छ भने एउटा ट्याबलेट ८१ एमजीको छ भने चारवटा ट्याब्लेट तुरुन्त खानुपर्छ । यो औषधि निल्नुभन्दा चपाउँदा छिटो प्रभाव देखाउँछ ।

एस्पिरिनले धमिनीभित्र जम्न सक्ने रगतको ढिक्कालाई टुक्राउन मद्दत गर्छ । र, अस्पताल नपुग्ने समयसम्म जोखिमलाई कम गर्छ ।

किनकि हृदयघातले मुटुको रक्तनली फुटेर रगतको ढिक्का जमाउन सक्छ । जसले रक्तसञ्चारलाई पूरा बन्द गरिदिनसक्छ ।

मुटुरोग, रक्तचाप र मधुमेह भएकाले यो औषधि सकिन्छ भने आफ्नो पकेटमा सधैं राख्ने गर्नुपर्छ । घरमा पनि यो औषधि अनिवार्य राख्नुपर्छ । ताकि संकेत देखिने बित्तिकै खान सकियोस् । यो औषधिले हृदयघात भए पनि जीवन बचाउन सक्ने कारण यसलाई ‘प्राणरक्षक औषधि’ पनि भनिन्छ ।

आफैं सवारी चलाएर अस्पताल नजाने

यस्ता लक्षण देखिंदैछ भने आफैं सवारी साधन चलाएर एक्लै जानु हुँदैन । किनभने यस्तो अवस्थामा व्यक्ति बिस्तारै बेहोस हुन पनि सक्छ । जसले सडक दुर्घटना हुनसक्छ ।

बेहोस हुन लागेमा नाडी परीक्षण गरी सीपीआर सुरु गर्ने

केही व्यक्ति सास लिनै कठिन भइराखेको छ वा बेहोस हुन लागेको अवस्था छ भने नाडी छाम्न सकिन्छ । नाडी छाम्दा नाडी र गर्दनमा दुई औंला बलियोसँग राखि स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्त सञ्चार भइरहेको थाहा हुन्छ ।

नाडी पत्ता लगाउन कठिन भइरहेको छ । र, अचेत अवस्थामा पुग्दै गरेमा तत्काल कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गर्न सुरु गर्नुपर्छ ।

सीपीआर गर्ने तरिका

सीपीआर गर्न छातीको केन्द्रमा बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ ।

कसरी हुन्छ उपचार ?

हृदयघात एकिन भएपछि रगत पातलो पार्ने औषधिहरु एसपिरिन र क्लोपीडोग्रेल खुवाइन्छ । त्यसपछि क्याथ ल्याबमा लगिन्छ । बिरामीको मुटुको अवस्था हेर्न बीपी मोनिटोरिङ गरी एक्सरे सहायताले हातको नाडी वा खुट्टामा सानो प्वाल पारी पाइप छिराएर बन्द रहेको रक्तनली पत्ता लगाई सो नली खोलेर त्यहाँ (जाली वा पाइप) स्टेन्ट राखिन्छ । र, रक्तप्रवाहलाई सुचारु गरिन्छ ।

यति गरेपछि अक्सिजनको प्रवाहमा सुधार आई छातीको दुखाइ काम हुन्छ । र, मुटमा रहेको मांसपेशी मर्दैन । बन्द भएको नसा जति चाँडो खोल्यो उति मुटुलाई बचाउने सम्भावना बढी हुन्छ ।

यसरी पाइप छिराएर नलीलाई खोल्ने प्रविधिलाई प्राइमरी एन्जियोप्लास्टी भनिन्छ ।

उपचार समयमा नपाउँदा

हृदयघात हुँदा मुटुमा रगत लैजाने रक्तनली शतप्रतिशत बन्द हुन्छ, जसले मुटुको मासु मर्न थाल्छ । र, बिस्तारै मुटु फेल हुँदै मुटु वरपरको मांसपेशी मर्दै गई फेल हुन्छ । त्यति नै बेला विद्युतीय गडबडी हुन्छ । र, मानिसको ज्यान जान सक्छ ।

हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ?

कहिलेकाहीं अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको मृत्युको खबर सुन्नुपर्छ । हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, कुराकानी भएका, हाँसीमजाक गरेका, एकसाथ खाना खाएका, एकै ठाउँमा काम गरिरहेका मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा हाम्रो ओठमुख सुक्छ । आखिर कसरी भयो मृत्यु ?

धेरैजसोको मनमा आउने एउटै उत्तर हो, हृदयघात । बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्युको आँकडा बढ्दो छ । आखिर हृदयघातको जोखिम कसरी हुन्छ ? कसलाई हुन्छ ? के यसको कुनै लक्षण हुन्छ ?

कस्ता व्यक्तिलाई बढी हृदयघातको जोखिम ?

प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ । हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ ।

अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत्तिकै बढी हुन्छ । दीर्घरोग नभएका व्यक्ति जसको परिवारमा कसैलाई पहिला नै मुटुरोग छ भने पनि त्यो परिवारको सदस्यमा यसको जटिलता थपिन सक्छ ।

त्यस्तै, महिलाहरुमा रजोनिवृत्ति पछि मात्रै हृदयघातको जोखिम बढी देखिने सम्भावना हुन्छ । महिनावारी सुकिसकेपछि महिलामा पनि पुरुषमा जतिकै हृदयघातको जोखिम हुन्छ । महिनावारीको बेला हर्मोनकोे परिवर्तन भइरहने हुँदा कुनै रोग छैन भने महिलालाई हुँदैन । जब महिनावारी सुक्छ तब भने पुरुषको जस्तै जोखिम हुने गर्छ ।

हृदयघातअघि देखिने लक्षण

हृदयघातअघि हाम्रो शरीरले केही लक्षण देखाउँछ । खासगरी छातीको मध्यभागमा निकै दबाब महसुस हुन्छ । शरीरमा अचानक पसिना आउँछ । वाकवाकी लाग्छ । चक्कर लागेजस्तो हुन्छ । छाती दुख्छ । ग्यास्ट्रिक हुने, छातीमा भारीपन हुने, अहसज महसुस हुने गर्छ ।

दीर्घरोग नभएका कम उमेरकै व्यक्तिलाई हृदयघातको जोखिम कम हुन्छ । तर हृदयघात नै हुँदैन भनेर ठोकुवा गर्न सकिंदैन । यदि उनीहरु अत्यधिक धुमपान गर्छन्, परिवारमा कसैको हृदयघात भएको छ भने उनीहरु पनि जोखिम वर्गमै पर्छन् । यदि उनीहरुलाई हृदयघात हुँदैछ भने त्यसअघि शरीरमा केही संकेत देखिन्छ । जस्तो कि छाती फुल्ने, स्वाँस्वाँ हुने, चक्कर लाग्ने, असहज हुने ।

हृदयघात भएमा के गर्ने त ?

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्वसचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ । यदि तपाईं उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी हुनुहुन्छ भने धेरै सतर्क हुनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नसाथ यो औषधि चपाउनुपर्छ ।

हृदयघातको शंका लाग्नासाथ आराम गर्नुपर्छ । हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ ।

हृदयघात व्यक्ति अनुसार फरक हुन्छ ?

हृदयघात व्यक्तिको स्वास्थ्य अवस्था अनुसार फरक-फरक हुन्छ । कसैलाई हृदयघात हुनासाथ तुरुन्त मृत्यु हुन्छ । कसैलाई तत्काल उपचार गर्ने समय पनि रहन्छ । उनीहरु उपचारपछि ठीक हुन्छन् । खासगरी मुटुको कुन भागको नसामा अवरोध भयो र त्यसले मुटुको कति भागलाई असर गरेको छ भन्ने कुराले यसमा निर्भर गर्छ । यदि अवरोध पुगेको नसा खोल्न सकेमा ज्यान बच्छ ।

किन हुन्छ हृदयघात ?

बढ्दो उमेर

५०-६० वर्षको उमेर कटेपछि विशेषगरी पुरुषमा र महिनावारी सुकेका महिलामा यसको सम्भावना उच्च रहन्छ । यद्यपि अस्वस्थकर जीवनशैलीका कारण पछिल्लो समय युवाहरु पनि हृदयरोगको सिकार भइराखेका छन् ।

धुम्रपान

वर्तमान समयमा बढ्दो विलासी जीवन र देखासिकीको रुपमा समेत युवाहरुमा यो लत देखिएको छ । परिणामस्वरूप धुम्रपान गर्ने व्यक्तिको मुटुका नसामा हानि गर्ने र कालान्तरमा यसले पनि हृदयघातलाई बढावा दिन सक्छ ।

तनाव

अहिलेको व्यस्त जीवनशैली, करिअर र अन्य कुराको तनावले मुटुरोगको समस्या बढ्दै गइरहेको छ । यसले पनि हृदयघात निम्त्याउन सक्छ ।

शारीरिक रुपमा निस्क्रिय रहने बानी

एकै ठाउँमा बसिरहने र बसेरै काम गर्ने अहिलेको समयमा व्यायाम पुग्दैन । शारीरिक व्यायामको कमी हुनु पनि हृदयघातको जोखिम बढाउने एउटा कारण हो ।

वंशाणुगत

परिवारका कुनै सदस्यलाई हृदयघात भएको छ भने अरुलाई पनि यस्तो समस्या हुन सक्छ । त्यसकारण घरका अन्य सदस्यले पनि समय-समयमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।

उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल भएका व्यक्तिमा पनि हृदयघातको जोखिम उत्तिकै रहन्छ ।

हृदयघात हुनबाट बच्न के गर्ने ?

-प्राकृतिक खानेकुरामा जोड दिने, फलफूल, हरियो सागसब्जी बढी खाने, चिनी, नून र चिल्लोको प्रयोग कम गर्ने ।

-नियमित व्यायाम गर्ने ।

-दैनिक आधा घण्टा मात्रै भए पनि व्यायाम गर्ने, यो मुटुका लागि राम्रो हुन्छ ।

-धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । मुटुको लागि यो झनै घातक हुन्छ । यसैगरी चुरोट पिएको मानिसको छेउमा बस्दा पनि हानिकारक हुन्छ ।

नेपालमा मुटुरोगको उपचार

नेपालमा मुटुसम्बन्धी प्रायः सबै रोगको उपचार सम्भव छ । एनजियोग्राफी, एनजियोप्लास्टी, पेसमेकर जस्ता प्रविधि नेपालमा उपलब्ध छन् । एनजियोग्राफी, एनजियोप्लास्टी मुटुमा जाली राख्ने, खोल्ने र मुटुका ब्लक खोल्ने उपचार पद्धति हो ।

त्यस्तै जन्मजात प्वाल भएका बच्चाको बिना अप्रेसन उपचार गर्ने व्यवस्था नेपालमै छ । बिना अप्रेसन बेहोस नपारी बिरामीको मुटुको चाल ठीक पार्न सकिन्छ । मुटुको चाल सामान्य अवस्थाभन्दा बढी भएमा उक्त समस्यालाई निको पार्न यो प्रविधिको प्रयोगद्वार उपचार गरिन्छ ।

(डा. माधव विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल, टंकीसिनुवारी, मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट उनले इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप गरेका छन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker