बन्दीपुरको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा

डुम्रे : बन्दीपुर गाउँपालिकाअन्तर्गत सञ्चालित बन्दीपुर अस्पतालले वडा नं. १ को डुम्रेस्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मंगलबार निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरेको छ। उक्त शिविरमा ३० जना महिला र २ जना पुरुष गरी ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालले चैत महिनाभर विभिन्न सरकारी स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत पिप्लेमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
सेवाग्राहीलाई सहजता प्रदान गर्न ती स्वास्थ्य संस्थादेखि बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क यातायात सेवा समेत उपलब्ध गराउँने भएको छ ।

अस्पतालले वार्षिक स्वीकृत नियमित कार्यक्रमअन्तर्गत चैत महिनाका लागि तय गरिएको तालिकाअनुसार गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा चिकित्सकसहितको टोली खटाई स्वास्थ्य सेवा विस्तार सुरु गरिएको अस्पतालका प्रमुख अनिल गिरीले बताए । यस कार्यक्रममार्फत स्थानीय नागरिकलाई नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा आवश्यक परे थप उपचारका लागि अस्पतालसम्म सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य रहेको उनले बताए ।
चैत महिनाको कार्यतालिका अनुसार पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. १) मा चैत १० गते, कलचोक आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. ५) मा चैत ११ गते, कुसुण्डी आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. २) मा चैत १७ गते र सुखौरा आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. ३) मा चैत १८ गते स्वास्थ्य सेवा सञ्चालन गरिनेछ। त्यस्तै, धरमपानी स्वास्थ्य चौकी (वडा नं. ६) मा चैत २४ गते र साराङघाट शहरी स्वास्थ्य सेवा केन्द्र (वडा नं. ६) मा चैत २५ गते सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

यस्तै, प्रत्येक सेवा सञ्चालनपश्चात सम्बन्धित स्वास्थ्य संस्थाबाट बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क यातायात सेवा पनि व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
चैत १३, २० र २७ गते शुक्रबारका दिन उक्त यातायात सेवा सञ्चालन हुने तालिका रहेको छ। यसले विशेषगरी टाढाका बस्तीका नागरिकलाई थप उपचारका लागि अस्पताल पुग्न सहज बनाउने अपेक्षा गरिएको छ ।
अस्पताल प्रशासनले कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित सबै स्वास्थ्य संस्थालाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ। साथै, स्थानीय नागरिकलाई समयमै जानकारी दिई सेवा उपयोग गर्न सहयोग पु¥याउन पनि अनुरोध गरिएको छ।
कार्यक्रम सञ्चालनका क्रममा प्राप्त सुझावका आधारमा थप सुधार गर्दै सेवामुखी तथा प्रभावकारी बनाइने अस्पतालका प्रमुख डा गिरीले बताए । यस्तो पहलले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।











