सिरुवारी पर्यटन र होमस्टेको महत्व

के.बि. मसाल

नेपालमा होमस्टेको शुरुवात गण्डकी प्रदेशको स्याङजाबाट भएको हो । भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना तथा अगुवाइमा स्याङजा जिल्लाको सिरुबारीमा वि.स. २०५४ मा होमस्टे शुरुवात भएको थियो । त्यस पछि गाउँघरको कला संस्कृति हेर्न पाइने मात्र नभएर गाउँमानै पाइने अर्गानिक परिकार खान पाउँदा होमस्टे तर्फ आन्तरिक तथा बाहृय पर्यटकहरु आकर्षित हुन थाले । जुन कारणले होमस्टे सञ्चालन गरी पर्यटकको आर्कषण बढाउने लहर अन्य जिल्लाहरुमा शुरु भयो । पर्यटनको क्षेत्रमा होमस्टेको महत्व बढदै जादा अहिले गण्डकी प्रदेशमा मात्र २ सय ७३ वटा गाउँमा होमस्टे सन्चालनमा आएका छन ।

होमस्टेको शुरुवात स्याङजाको सिरुबारीबाट भएपनि हाम्रो समाजमा पहिले अध्ययनका लागि परदेश हिँडेका मानिसहरु र नुनतेल लिन जाने आउनेहरु रात परेपछि बाटैमा बास बस्नुपर्ने अवस्था थियो । त्यतिबेला अहिलेजस्ता बाटोमा होटेल थिएनन् । गाउँघरमा बास बस्ने पाहुनालाई घरधनीले केही पैसा लिएर भाँडाकँुडा, दाउरा, पानी, नुनतेल दिने प्रचलन थियो । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समय बास बस्न आएका पाहुनालाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ, त्यही खान दिएबापत न्यूनतम रकममात्र लिने चलन पनि थियो। यही चलनको आधुनिक रुप होमस्टेमा परिणत भएको भन्दा पनि हुन्छ । अहिले पर्यटकहरु पुग्ने ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढदो छ । स्थानिय पर्यटन प्रवर्द्धनमा होमस्टेले सघाउ पनि पुर्‍याइ रहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प पनि हो । तर पनि होमस्टेको छुटै विशेषता, आनन्द र महत्व छ । पर्यटकहरु होमस्टेमा पाहुना बनेपछि स्थानिय समाजको रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न सक्दछन । त्यस्तै होमसटेको बसाइले आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ ।

स्याङजाको सिरुबार गुरुङ समुदायको गाउँ हो । यो क्षेत्र समुन्द्री सतहदेखि झण्डै दुइ हजार फिट उचाईमा पर्दछ । सिरुबारीको गुरुङ बस्तीका ३९ घर मध्ये २२ घरमा होमस्टे सन्चालनमा छ । सिरुबारीलाई बेलायती र भारतीय सेनामा जागिर भएका र रिटायर्डको बस्ती भने पनि हुन्छ । चिटिक्क मिलेको सिरुबारीको गाउँमाथि देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालको लामो लर्कन देख्न सकिन्छ । डाँडा चुचुरो गोरुजुरेमा पुग्न सिरुबारीबाट करिब दुइ घन्टा लाग्छ । सबैभन्दा अग्लो थुम्को जुरोबाट झन् राम्रो दृश्य देखिन्छ । डाँडामा डहरा ऋषिले आदिमकालमा तपस्या गरेका स्थलमा आश्रम पर्दछ । ढुंगैढुंगाले छापिएका सफा एवं सुन्दर बाटो, परम्परागत शैलीमा निर्माण गरिएका घरमा सञ्चालित होमस्टे अर्थात घरबासको अनुभव लिन जाने पर्यटकहरुलाई गाउँको प्रवेशद्वारमै गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयहरुले स्वागतले पर्यटक फुरुंग हुन्छन । बाँजागाजासाथ फूलमाला पहिर्‍याएर आमा समूह, युवा क्लब तथा पर्यटन समितिका पदाधिकारीले पर्यटकलाई गुम्बा दर्शन गराइ जलपान गराउँछन । त्यसपश्चात पर्यटकका लागि बास बसनका लागि विभिन्न घर तोकिन्छ । तोकिएका घरमा पर्यटकलाई त्यही खानेबस्ने व्यवस्था गरिन्छ । साँझ ८ बजे पर्यटकलाई सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन गराइन्छ भने भोलिपल्ट बिहान चियानास्ता खुवाएर ८ बजे फूलमालासहित बिदाई गरिनु सिरुवारीको मौलिक पहिचान भएको छ ।

अहिले सिरुवारी स्याङजा आँधीखोला गाउँपालिका-१ मा पर्छ । सिरुबारी गुरुङ संस्कृति र सभ्यताको ऐतिहासिक र उर्बर क्षेत्र मानिन्छ । पाहुनाको सन्तुष्टिका लागि दिनरात खटिने भएकैले गाँउ देशकै पहिलो नमुना पर्यटकीय गाउँ’ बनेको हो । सिरुवारी जादाआँधी खोलाको दृश्यले पर्यटकहरुलाई रमणिय बनाउछ । पौराणिक लोककथाअनुसार अयोध्याका राजा दशरथको शिकार यात्राक्रममा दृष्टिबिहीन मातापितालाई तीर्थाटन गर्न खटमा बोकेर हिँडेका श्रवणकुमारको मृत्युपछि बिलौनामा बगेको आँसु नै आँधीखोला बन्न पुगेको थियो । स्याङजा कार्कीनेटाबाट सुरु भएर जिल्लाको मध्यभाग भई नागबेली आकारमा बग्ने आँधीखोलाको मोहक दृश्य सिरुवारी जाँदा पर्यटकले देख्न पाउँछन् । सिरुबारी गाउँका प्रत्येक घरमा सफा शौचालय, चिटिक्क बिस्तरा, सोलार प्यानलजडित कोठा, सफा भान्सा देखिन्छन् । यी देख्दा पर्यटकहरुलाई सिरुवारी गाउँ कुनै सुगम ठाउँ जस्तो लाग्छ । सिरुबारीले सबै सभ्य र सु-संस्कृत बनौं, घरआँगन सफा राखौं’ भन्ने अभियान नै चलाइएको छ । सिरुबारीले आफूमा थपिएको सुन्दरता र उचाई विश्वलाई देखाएको छ । सिरुबारीगाउँ पर्यटनको पाठशालाजस्तो बनेको छ । आजभोली होमस्टे सञ्चालन कसरी गर्न पर्दो रहेछ भनेर सिक्न सिरुबारीमा पुग्ने गर्दछन ।

सिरुबारीको प्राकृतिक र ऐतिहासिक स्रोतसम्पदा अपार छ । यहाँको मानवीय स्रोत सम्पदा पनि उत्तिकै गतिशील बनाउन गाउँले कटिबद्ध छन । सिरुबारीको समाज ज्यादै मिलनसार र मेहनती छ । पर्यटकको उपस्थितिले गाउँमा रमाइलो वातावरण छ । घरघरमा पर्यटक राख्न पाउँदा गाउँले दंग छन् । सिरुबारी गाउँ पुग्ने अधिकांश पर्यटक नेपाली नै हुन्छन । तर पनि विदेशी पर्यटकहरु पनि सिरुबारी जाने गर्दछन । हिजो शिक्षा, रोजगारी र अवसरको खोजीमा सहर बजार जाने अथवा विदेशिने युवा अहिले बाहिर जानुभन्दा गाउँमै रोजगारी हुन्छ भन्ने बुझन थालेका छन । सबै किसिमका भौतिक पूर्वाधारले सिरुवारी आर्थिक रुपमा सम्मृद्धितर्फ लम्किँदै छ । सिरुवारी गाउँमा पर्यटकहरुलाई हेर्न र घुम्न धेरै ठाउ छन । सिरुवारीका मौलिक घरका बनोट, बौद्ध गुम्बा, गुरुङ संस्कार, सँस्कृति, स्थानीय जीवनशैली, अनुशासन, लगनशीलता, कला, सीप पर्यटकहरुलाई नौलो लाग्दछ । पर्यटनको बिकासको लागि होमस्टे अवधारण नेपालमा मात्रै हैन, अमेरिका लगायतका मुलुकमा पनि अघि बढेको छ । अमेरिका, अस्ट्रेलिया, यूरोप लगायत शक्तिशाली देशमा व्यापार र मनोरञ्जन उद्देश्यले ग्रामीण क्षेत्रमा पर्यटनका गतिविधि भएका छन । विकासोन्मुख देश मलेसिया र केन्याजस्ता देशमा व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि होमस्टे सुरु गरिएका छन । छिमेकी देश भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् ।

आजभोली गाउँघरमा रहेका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा पर्यटनसँग जोडिएका हुन्छन । हामी मध्य धेरैले घुमफिर गर्ने भन्नासाथ शहर वा कुनै चिनिएका गन्तव्यबारे सोच्दछौं । नाम चलेका ठाउँहरुको पर्यटकीय स्थलबारे सोधीखोजी गर्न थाल्दछौ । तर घुमफिरको लागि कुनै पनि गाउँमा गएर आफ्नो घुमफिरलाई रोमाञ्चक र स्मरणीय बनाउन सकिन्छ । घुमफिर गर्नको लागि पहिले घुमफिर गर्न सक्ने समय र आर्थिक कुरामा पनि बिचार पुर्‍याउनु पर्दछ । गाउँघरको जनजीवन, रहनसहन, चालचलन आदिसँग साक्षात्कार गर्ने हो भने तपाईंसँग यस्ता थुप्रै विकल्प हुन्छन । गाउँघरको घुमफिर गर्नु हुन्छ भने तपाइँले घुमफिरको प्याकेज बनाउन पर्ने हुन्छ । कुन जिल्लाको कुन गाउँमा घुमफिर गर्ने – प्राकृतिक सम्पदाको क्षेत्रमा रमाउने कि ? तीर्थाटन गर्ने की ? ताल तलैया अथवा जनजातिको लोक संस्कृतिमा रमाउन ? यी कुराको एकिन भयो भने घुमफिरको लागि सजिलो मात्र हुँदैन खर्चको समेत बचत हुन्छ ।

अहिले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा खाना बस्न सस्तोमात्र होइन, रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राको क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था जनाउँछ । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । अहिले प्राय पर्यटकहरु पुग्ने गाउँमा होमस्टे सञ्चालन भएको छ । गाउँमा खोजे जस्तो स्तरीय वा सुविधायुक्त होटल, रेस्टुराँ, लज नहोलान । तर, गाउँमा हार्दिकता पूर्वक स्वागत गर्ने घर पर्यटकहरुले भेटछन । ती घरमा तपाईं परिवारजस्तै भएर बस्न सक्नुहुनेछ । रैथाने बासिन्दासँग घुलमिल गरेर घुमफिरको फरक स्वाद लिन सक्नुहुनेछ । घुमफिरमा गाउँघरमा भेटिने हरेक मानिसले तपाईंसँग परिचित मुस्कान दिनेछन । गाउँमा नौलो अनुहार देख्ने बित्तिकै सोधि हाल्छन हजुर कहाँसम्म कहाबाट आउनु भयो ? हाम्रो गाउँमा यहालाई स्वागत छ । त्यतिमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउने छन । चियापानी टक्राउने छन । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन । बारीमा सुन्तला फलेको छ वा अम्बा, मकै पाकेको छ अथवा सिजन अनुसार काँक्रा, केरा जे छ तपाईंलाई चखाउँन खोज्दछन । आफ्नो घरमा आइदिएकोमा, आफ्नो चुलोमा पाकेको खानेकुरा खाइदिएकोमा कृतज्ञ समेत हुन्छन । अहो ! यस्तो हार्दिकता शहर बजारमा कहाँ पाइन्छ – गाउँमा पुग्ने पर्यटकहरु गाउँघरको स्वागत सत्कारले खुशि हुन्छन ।

गाउँघरको भौगोलिक बनावटले धेरै पर्यटकहरु लोभिन्छन । गाउँघरका उच्च डाँडाकाँडाबाट देखिने हिमश्रृंखला, विभिन्न किसिमका झरना, पाखा, पखेरा, टाकुरा, हरिया जंगल झाडी, नागवेली आकारमा बग्दै गरेका नदी नाला, गाउँमा पुगेपछि पर्यटकहरुलाई गरिने आतिथ्य सत्कारको भावना, सांस्कृति विविधता, जातजातिका भेषभूषा कला संस्कृति यीनै कुराहरुले गाउँमा पर्यटकहरु जान रुचाउछन । जब गाउँमा पर्यटकहरु पुग्दछन् गाउँघरको प्रकृतिक सौन्दर्य र जैविक विविधतासंग रमाउछन् । अर्को तर्फऐतिहासिक तथा साँस्कृतिक सम्पदाले पर्यटकहरु आकर्षण हुन्छन । गाउँहरुमा प्राकृतिक सौर्न्दर्य पर्यटनसँग जोडिएको छ । ती प्राकृतिक श्रृंखलाहरुको दृश्यावलोकन गर्न पर्यटकहरुलाई सहज हुन्छ । पहाडी डाडाकाडा पर्यटकहरुका लागि आफैमा प्राकृतिक भ्युटावर बनेका छन । कुनै एक डाडाको चुचुरोबाट हेर्दा दर्जनौ गाउँघरको अवलोकन गर्न सक्दछन् । त्यसै कारण धेरै पर्यटकहरुको रोजाई घुमफिरको लागि गाउँघर प्यारो हुने गर्दछ । तर पनि ‘होमस्टे’ सञ्चालन गर्न सजिलो भने छैन । पर्यटन तथा नागरिक उययन मन्त्रालयको कार्यविधि ऐनअनुसार होमस्टे सञ्चालन हुनुपर्छ । तर, कार्यविधि ऐन बेवास्ता गर्दै कतिपय गाउँमा ‘होमस्टे’ सञ्चालनमा छन् । ‘होमस्टे’को नाममा यस्ता सेवाले आन्तरिक अथवा बाहृय पर्यटकलाई ‘होमस्टे’ सुविधा नभएर होटलसरि व्यापार गरिरहेका छन् । होमस्टे पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले निजी वा सामूहिक रूपमा सञ्चालन गरिने सेवा हो । यसको उद्देश्य पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पुर्‍याउने हो । साथै, ‘होमस्टे’ सञ्चालन गरी ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागी गराउनु हो ।

पर्यटकहरुले नयाँ ठाउ घुमफिर गर्न खोज्दछन् । नयाँ ठाउँको महत्व छुट्टै हुन्छ । अर्को तर्फ नदेखेको कुनै गाउँठाउँ कसैको लागि नयाँ बन्दछ। कलम र कम्प्युटरको किप्याडमा रमाउने शहर बजारका मानिसहरुलाई एक दिनका लागि भएपनि हलो, कुटो, कोदालो समाएर गाउँघरमा रमाउने वातावरण हुन्छ । पर्यटकलाई आफ्ना केटाकेटीहरुसँगै गाउँ र वस्तिमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै गाउँघरमा घुमफिर गर्दा रमाउछन् । गाउँमा पुग्ने पर्यटकले कृषकसँगै प्रत्यक्ष रुपमा कृषि सम्वन्धी कुराकानीले धेरै ज्ञान आदान प्रदान गर्न सक्दछन् । गाउँमा पुग्ने एक जना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडी भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही र नौनी उत्पादन गरेको देख्दा सबै केटाकेटीहरुलाई नौलो अनुभूति हुन्छ । शहर बजारमा किनेर खाएका तर त्यसको बोट कस्तो हुन्छ भन्ने थाहा नपाएका केटाकेटीहरुलाई काफल र ऐसेलुको बोट कस्तो हुँदो रहेछ भन्ने कुरा थाहा हुन्छ।

गाउँमा पुग्दा पर्यटकहरुले धार्मिक एवं सांस्कृतिक महत्वका बारेमा पनि रुचि राख्दछन् । कतिपय अवस्थामा एकै धर्मका मानिसहरुको परम्परा र संस्कृति पनि फरक पनि हुनसक्छ । धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगित, मानिसका चासोका विषय हुन्छन । धार्मिक, सांस्कृतिक ऐतिहासिक, पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरु पर्यटकीय रुपमा कहिलै पुराना हुँदैनन । गाउँमा पुग्ने पर्यटकहरुले यस्ता सम्पदा खोज्ने गर्दछन् । अहिले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको खोजी संरक्षण र संस्कृति एवं परम्परालाई गाउँघरमा पर्यटनसंग जोडिन थालेका छन् । पुराना मठ मन्दिरहरुको संरक्षण गर्ने नयाँ निर्माण गर्ने क्रम पनि बढदै गएको छ। पछिल्लो समय गाउँ-गाउँमा पर्यटन लक्षित महोत्सव आयोजना भएका छन । यसबाट मध्यमवर्गीय परिवारमा पनि आफ्नै देशको गाउँघरमा घुमफिर गर्नुपर्छ भन्ने सोच उत्पन्न भएको छ ।

पर्यटन र वातावरण एक-अर्कामा ज्यादै नगिचको सम्बन्ध हुन्छ । किनभने मानिस अनुकूलको वातावरण भएन भने त्यो स्थानमा पर्यटक जान रुचाउँदैनन् । प्रकृतिबाट प्राप्त वातावरणलाई व्यवस्थित गरी पर्यटनको विस्तार गर्न भने सकिन्छ । हिमाल, वन जंगल, जीवजन्तु, वनस्पति, ताल, झरना, नदी, आदि सबै पर्यटनको बिकासको लागि संरक्षण गर्नुपर्ने हुन्छ । सामान्यतया पर्यटकहरु आफ्नो व्यस्त र भीडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा घुमफिर गर्न चाहन्छन जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नु पर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै पर्यटकको मुख्य उद्देश्य हुन्छ । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ । गाउँघरमा विभिन्न क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन । कतिपय अवस्थामा जो आफै मानवका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो मनमोहक र चुनौतीपूर्ण हुन सक्छन । जसमा सबैखाले पर्यटकहरु रमाउन सक्दछन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker