भानुको पुरानडिहि अस्पतालमा २४ सै घण्टा डाक्टर सेवा

तनहुँको भानु नगरपालिकाको वडा नं. ५ मा रहेको पुरानडिहि नगर अस्पतालमा २४ सै घण्टा डाक्टर निगरानी रहने भएको छ। नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अब विरामीले डाक्टरबाट सेवा लिन सक्ने हुँदा सामान्य विरामीले अन्यत्र धाउन नपर्ने भएको हो ।
केहि दिन अघि मेडिकल अधिकृत अप्राजिता सिंह नगर अस्पतालमा हाजिर भए सँगै विशेष गरी भानु नगरपालिकाका विरामीलाई सहज हुने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए। नगर अस्पतालबाट ओपिडी सेवा, २४ सै घण्टा इमरजेन्सी सेवा, गर्भवती जाँच, प्रसुती सेवा, खोप तथा पोषण सेवा, ल्याब सेवा लगाएतका सेवा प्रदान गरिँदै आईरहेको नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।
नगरपालिकाका उप-मेयर उमा गोतामेले पुरनडिहि नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक रहेकोले सबै नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै ग्रामीण क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो, छरितो र सहजरुपमा स्वस्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेकी छन् ।
नगरबासीको स्वस्थ्य जस्तो महत्वपूर्ण विषय भएकाले नगरपालिकाबाट हुन सक्ने सम्पुर्ण कार्यहरु पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आर्थिक वर्षको बजेटमा समेत स्वस्थ्य, शिक्षा, कृषि पर्यटन र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बताए ।










