बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप

कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ ।

बहुवर्षीय खोप कार्ययोजना सन् २०१७-२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्षउमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो । एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीको तालिम चैत १४ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको छ ।

चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखि २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ । खोप प्रत्येक विद्यालयमा लगाउने व्यवस्था गरिने निर्देशक डा खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस खोप अभियानमा खोप लगाउनेपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ । यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ ।”

टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा रोशन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको बताइन्छ । टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ । विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुइ करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको संक्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० संक्रमण दर रहेको बताइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker