पुस्तान्तरण : राजनीतिबाट समाजको समग्र रूपान्तरणतर्फ
गल गुरुङ (दिपु)

पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा “पुस्तान्तरण” शब्द अत्यधिक चर्चामा छ। राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको प्रवेशले देशमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा स्वाभाविक हो । तर प्रश्न उठ्छ– के केवल राजनीतिमा पुस्ता फेरिएपछि मात्र मुलुक आधुनिक, सक्षम र समृद्ध बन्छ ? के नेतृत्वको अनुहार बदलिँदैमा सोच, संरचना र संस्कार स्वतः रूपान्तरित हुन्छ ? यथार्थ के हो भने, पुस्तान्तरणको बहस यदि राजनीतिमा मात्र सीमित रह्यो भने समाज परिवर्तन अधुरो नै रहन्छ । समाजलाई राजनीतिले मात्र होइन, प्रशासन, शिक्षा, प्रविधि, न्याय, अर्थतन्त्र र नागरिक चेतनाले समान रूपमा अगाडि बढाउँछन् ।
नेपालको राजनीतिक इतिहास हेर्दा नेतृत्व परिवर्तनका धेरै चरणहरू पार गरिएका छन्। तर अपेक्षित संस्थागत रूपान्तरण भने अझै अपूरो छ । यसको मुख्य कारण राजनीतिक निर्णय कार्यान्वयन गर्ने संरचना, प्रशासनिक संयन्त्र, पुरानै सोच, शैली र कार्यप्रणालीमा अड्किनु हो। आजको डिजिटल युगमा हामी फाइलको भारी बोकेर कार्यालय धाउने, ढिलासुस्तीलाई स्वाभाविक मान्ने र व्यक्तिगत पहुँचलाई सेवा पाउने आधार बनाउने संस्कारबाट पूर्णतः मुक्त हुन सकेका छैनौँ । यस्तो अवस्थामा नीतिगत पुस्तान्तरणले मात्र सार्थक परिणाम दिन सक्दैन । प्रशासनिक संरचनामा नयाँ सोच, आधुनिक सीप र जिम्मेवार कार्यसंस्कृतिको प्रवेश बिना राजनीतिक परिवर्तन निष्प्रभावी हुन्छ ।
राजनीतिजस्तै कर्मचारीतन्त्रमा पनि पुस्तान्तरण अपरिहार्य छ । यहाँ पुस्तान्तरण भन्नाले केवल उमेर घटाउनु होइन, सोच र कार्यशैलीको अद्यावधिक हो । राष्ट्रिय प्रशासनमा दक्ष, प्रविधिमैत्री, पारदर्शी र सेवामुखी मानसिकता बोकेको पुस्ता प्रवेश गर्दा मात्र फाइल थन्क्याउने संस्कृति, अनावश्यक प्रक्रिया र “बसी खाने” प्रवृत्ति क्रमशः हट्न सक्छ । राजनीतिक नेतृत्व परिवर्तन भए पनि कार्यान्वयन गर्ने संयन्त्र उस्तै रहँदा परिवर्तनको गति अवरुद्ध हुन्छ । त्यसैले संघदेखि स्थानीय तहसम्म राज्यका हरेक संरचनामा समसामयिक सोच र क्षमताको पुस्तान्तरण आजको आवश्यकता बनेको छ ।
तर पुस्तान्तरणको चुनौती राजनीतिदेखि प्रशासनसम्म मात्र सीमित छैन । नागरिक चेतनामा पुस्तान्तरण अझै गहिरो र जटिल विषय हो । विश्व तीव्र गतिमा बदलिँदैछ– कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, स्वचालन र वैश्वीकरणले जीवनशैली नै रूपान्तरण गरिसकेको छ । तर हामीकहाँ सोच र व्यवहार भने अझै धेरै हदसम्म पुरानै ढाँचामा अड्किएका छन् । परम्पराको नाममा परिवर्तनसँग डराउने, नयाँ अभ्यासलाई खतरा ठान्ने र अधिकारको खोजीमा कर्तव्य भुल्ने प्रवृत्ति समाजका विभिन्न तहमा देखिन्छ। संस्कृति र मूल्य–मान्यता समाजको आत्मा हुन्, तर समयअनुसार परिष्कृत नहुँदा तिनै मूल्यहरू प्रगतिका बाधक बन्न सक्छन् ।
समाजका केही ‘संभ्रान्त वर्ग’ समेत परिवर्तनप्रति अनुदार देखिनु चिन्ताको विषय हो। नयाँ सोच र प्रविधिलाई चुनौतीका रूपमा हेर्ने, युवाको आवाजलाई अपरिपक्व ठान्ने र आफ्नै स्थापित हैसियत जोगाउन परिवर्तन रोक्ने मानसिकता पुस्तान्तरणको मूल बाधक बनेको छ । वास्तवमा नयाँ पुस्ता भनेको केवल उमेरको आधारमा होइन, दृष्टि, सोच र क्षमताको आधारमा परिभाषित हुनुपर्छ । ६० वर्षका व्यक्तिमा पनि आधुनिक सोच, प्रविधि बुझ्ने क्षमता र प्रगतिशील दृष्टिकोण हुन सक्छ; त्यस्तै ३० वर्षका युवामा जड मानसिकता र प्रतिगामी सोच पनि हुन सक्छ । त्यसैले पुस्तान्तरण उमेर होइन, चेतना र दृष्टिकोणको रूपान्तरण हो ।
शिक्षा, स्वास्थ्य, प्रविधि, उद्योग–व्यवसाय र सञ्चारजस्ता क्षेत्रहरूमा पनि यही समस्या दोहोरिएको छ। परम्परागत ढाँचा र पुरानै नेतृत्वले यी क्षेत्र चलिरहँदा नवप्रवर्तन, प्रतिस्पर्धा र गुणस्तर विकास अवरुद्ध भएको छ । शिक्षा प्रणाली अझै परीक्षा–केन्द्रित र सिर्जनशीलताविहीन छ; स्वास्थ्य सेवा व्यवस्थापनमा प्रविधि र दक्ष जनशक्तिको अभाव देखिन्छ; उद्योग–व्यवसायमा जोखिम लिन सक्ने, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने सोचको कमी छ। यी सबै क्षेत्रमा सोच र नेतृत्वको पुस्तान्तरण बिना दीगो विकास सम्भव छैन ।
नेपाल परिवर्तन चाहन्छ, तर परिवर्तनका आधारभूत पूर्वाधार– संस्थागत संस्कृति, कार्यशैली र नागरिक चेतना– एकै ठाउँमा अड्किएका छन् । राजनीतिमा मात्र पुस्तान्तरण गरेर केही हासिल हुँदैन, जबसम्म न्यायालय, कानून–व्यवस्था, शिक्षा प्रणाली, वैज्ञानिक अनुसन्धान, उद्योग–व्यापार, सञ्चार र नागरिक व्यवहारमा समानान्तर रूपमा समकालीन मानसिकता प्रवेश गर्दैन। परिवर्तन कुनै एक क्षेत्रको एकल प्रयासले हुने प्रक्रिया होइन; यो समाजका हरेक तहमा एकैसाथ अघि बढ्नुपर्ने सामूहिक यात्रा हो ।
समाजले खोजेको रूपान्तरण तब मात्र सम्भव हुन्छ जब राज्यका सेवाप्रदायक निकायहरू आधुनिक सोचमा ढल्छन्, स्थानीय तहहरू डिजिटल र पारदर्शी प्रणालीमा रूपान्तरित हुन्छन्, नागरिक अधिकार र कर्तव्यप्रति समान रूपमा सजग हुन्छन्, र कार्यक्षेत्रहरूमा योग्य, दक्ष र रचनात्मक पुस्ता अघि आउँछ । परम्परा र प्रविधिको सन्तुलन मिलाउँदै अघि बढ्ने विवेकपूर्ण सोच विकास गर्नु आजको अनिवार्यता हो ।
त्यसैले अब पुस्तान्तरणलाई केवल राजनीतिक नारा बनाइराख्ने समय सकिएको छ। यसलाई समाजका हरेक क्षेत्रमा समान महत्वका साथ अपनाउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको छ । प्रशासनदेखि नागरिक तहसम्म, शिक्षादेखि प्रविधिसम्म, नेतृत्वदेखि विचारसम्म– समग्र संरचनामा युगसुहाउँदो, प्रगतिशील र रचनात्मक पुस्तान्तरण बिना नेपाल समयसँगै अघि बढ्न सक्दैन । यही समग्र पुस्तान्तरण नै समृद्ध र सक्षम नेपालको आधार हो ।










