पुस्तान्तरण : राजनीतिबाट समाजको समग्र रूपान्तरणतर्फ

गल गुरुङ (दिपु)

पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा “पुस्तान्तरण” शब्द अत्यधिक चर्चामा छ। राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको प्रवेशले देशमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा स्वाभाविक हो । तर प्रश्न उठ्छ– के केवल राजनीतिमा पुस्ता फेरिएपछि मात्र मुलुक आधुनिक, सक्षम र समृद्ध बन्छ ? के नेतृत्वको अनुहार बदलिँदैमा सोच, संरचना र संस्कार स्वतः रूपान्तरित हुन्छ ? यथार्थ के हो भने, पुस्तान्तरणको बहस यदि राजनीतिमा मात्र सीमित रह्यो भने समाज परिवर्तन अधुरो नै रहन्छ । समाजलाई राजनीतिले मात्र होइन, प्रशासन, शिक्षा, प्रविधि, न्याय, अर्थतन्त्र र नागरिक चेतनाले समान रूपमा अगाडि बढाउँछन् ।

नेपालको राजनीतिक इतिहास हेर्दा नेतृत्व परिवर्तनका धेरै चरणहरू पार गरिएका छन्। तर अपेक्षित संस्थागत रूपान्तरण भने अझै अपूरो छ । यसको मुख्य कारण राजनीतिक निर्णय कार्यान्वयन गर्ने संरचना, प्रशासनिक संयन्त्र, पुरानै सोच, शैली र कार्यप्रणालीमा अड्किनु हो। आजको डिजिटल युगमा हामी फाइलको भारी बोकेर कार्यालय धाउने, ढिलासुस्तीलाई स्वाभाविक मान्ने र व्यक्तिगत पहुँचलाई सेवा पाउने आधार बनाउने संस्कारबाट पूर्णतः मुक्त हुन सकेका छैनौँ । यस्तो अवस्थामा नीतिगत पुस्तान्तरणले मात्र सार्थक परिणाम दिन सक्दैन । प्रशासनिक संरचनामा नयाँ सोच, आधुनिक सीप र जिम्मेवार कार्यसंस्कृतिको प्रवेश बिना राजनीतिक परिवर्तन निष्प्रभावी हुन्छ ।

राजनीतिजस्तै कर्मचारीतन्त्रमा पनि पुस्तान्तरण अपरिहार्य छ । यहाँ पुस्तान्तरण भन्नाले केवल उमेर घटाउनु होइन, सोच र कार्यशैलीको अद्यावधिक हो । राष्ट्रिय प्रशासनमा दक्ष, प्रविधिमैत्री, पारदर्शी र सेवामुखी मानसिकता बोकेको पुस्ता प्रवेश गर्दा मात्र फाइल थन्क्याउने संस्कृति, अनावश्यक प्रक्रिया र “बसी खाने” प्रवृत्ति क्रमशः हट्न सक्छ । राजनीतिक नेतृत्व परिवर्तन भए पनि कार्यान्वयन गर्ने संयन्त्र उस्तै रहँदा परिवर्तनको गति अवरुद्ध हुन्छ । त्यसैले संघदेखि स्थानीय तहसम्म राज्यका हरेक संरचनामा समसामयिक सोच र क्षमताको पुस्तान्तरण आजको आवश्यकता बनेको छ ।

तर पुस्तान्तरणको चुनौती राजनीतिदेखि प्रशासनसम्म मात्र सीमित छैन । नागरिक चेतनामा पुस्तान्तरण अझै गहिरो र जटिल विषय हो । विश्व तीव्र गतिमा बदलिँदैछ– कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, स्वचालन र वैश्वीकरणले जीवनशैली नै रूपान्तरण गरिसकेको छ । तर हामीकहाँ सोच र व्यवहार भने अझै धेरै हदसम्म पुरानै ढाँचामा अड्किएका छन् । परम्पराको नाममा परिवर्तनसँग डराउने, नयाँ अभ्यासलाई खतरा ठान्ने र अधिकारको खोजीमा कर्तव्य भुल्ने प्रवृत्ति समाजका विभिन्न तहमा देखिन्छ। संस्कृति र मूल्य–मान्यता समाजको आत्मा हुन्, तर समयअनुसार परिष्कृत नहुँदा तिनै मूल्यहरू प्रगतिका बाधक बन्न सक्छन् ।

समाजका केही ‘संभ्रान्त वर्ग’ समेत परिवर्तनप्रति अनुदार देखिनु चिन्ताको विषय हो। नयाँ सोच र प्रविधिलाई चुनौतीका रूपमा हेर्ने, युवाको आवाजलाई अपरिपक्व ठान्ने र आफ्नै स्थापित हैसियत जोगाउन परिवर्तन रोक्ने मानसिकता पुस्तान्तरणको मूल बाधक बनेको छ । वास्तवमा नयाँ पुस्ता भनेको केवल उमेरको आधारमा होइन, दृष्टि, सोच र क्षमताको आधारमा परिभाषित हुनुपर्छ । ६० वर्षका व्यक्तिमा पनि आधुनिक सोच, प्रविधि बुझ्ने क्षमता र प्रगतिशील दृष्टिकोण हुन सक्छ; त्यस्तै ३० वर्षका युवामा जड मानसिकता र प्रतिगामी सोच पनि हुन सक्छ । त्यसैले पुस्तान्तरण उमेर होइन, चेतना र दृष्टिकोणको रूपान्तरण हो ।

शिक्षा, स्वास्थ्य, प्रविधि, उद्योग–व्यवसाय र सञ्चारजस्ता क्षेत्रहरूमा पनि यही समस्या दोहोरिएको छ। परम्परागत ढाँचा र पुरानै नेतृत्वले यी क्षेत्र चलिरहँदा नवप्रवर्तन, प्रतिस्पर्धा र गुणस्तर विकास अवरुद्ध भएको छ । शिक्षा प्रणाली अझै परीक्षा–केन्द्रित र सिर्जनशीलताविहीन छ; स्वास्थ्य सेवा व्यवस्थापनमा प्रविधि र दक्ष जनशक्तिको अभाव देखिन्छ; उद्योग–व्यवसायमा जोखिम लिन सक्ने, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने सोचको कमी छ। यी सबै क्षेत्रमा सोच र नेतृत्वको पुस्तान्तरण बिना दीगो विकास सम्भव छैन ।

नेपाल परिवर्तन चाहन्छ, तर परिवर्तनका आधारभूत पूर्वाधार– संस्थागत संस्कृति, कार्यशैली र नागरिक चेतना– एकै ठाउँमा अड्किएका छन् । राजनीतिमा मात्र पुस्तान्तरण गरेर केही हासिल हुँदैन, जबसम्म न्यायालय, कानून–व्यवस्था, शिक्षा प्रणाली, वैज्ञानिक अनुसन्धान, उद्योग–व्यापार, सञ्चार र नागरिक व्यवहारमा समानान्तर रूपमा समकालीन मानसिकता प्रवेश गर्दैन। परिवर्तन कुनै एक क्षेत्रको एकल प्रयासले हुने प्रक्रिया होइन; यो समाजका हरेक तहमा एकैसाथ अघि बढ्नुपर्ने सामूहिक यात्रा हो ।

समाजले खोजेको रूपान्तरण तब मात्र सम्भव हुन्छ जब राज्यका सेवाप्रदायक निकायहरू आधुनिक सोचमा ढल्छन्, स्थानीय तहहरू डिजिटल र पारदर्शी प्रणालीमा रूपान्तरित हुन्छन्, नागरिक अधिकार र कर्तव्यप्रति समान रूपमा सजग हुन्छन्, र कार्यक्षेत्रहरूमा योग्य, दक्ष र रचनात्मक पुस्ता अघि आउँछ । परम्परा र प्रविधिको सन्तुलन मिलाउँदै अघि बढ्ने विवेकपूर्ण सोच विकास गर्नु आजको अनिवार्यता हो ।

त्यसैले अब पुस्तान्तरणलाई केवल राजनीतिक नारा बनाइराख्ने समय सकिएको छ। यसलाई समाजका हरेक क्षेत्रमा समान महत्वका साथ अपनाउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको छ । प्रशासनदेखि नागरिक तहसम्म, शिक्षादेखि प्रविधिसम्म, नेतृत्वदेखि विचारसम्म– समग्र संरचनामा युगसुहाउँदो, प्रगतिशील र रचनात्मक पुस्तान्तरण बिना नेपाल समयसँगै अघि बढ्न सक्दैन । यही समग्र पुस्तान्तरण नै समृद्ध र सक्षम नेपालको आधार हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker