ऋषिङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
तनहुँको ऋषिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि ऋषिङलाई एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका खोप उमेर समूह जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता नाराका साथ पूर्णखोप घोषणा गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र पालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पूर्णखोप सुनिश्चितता घोषणा गरेका थिए । समन्वय प्रमुख वाग्लेले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताए । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन आवश्यक रहेको उनले बताए ।
हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रम अनुसार सबै सूचक पुरा गरेर पूर्णखोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको छ ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनु माया थापा, प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट, विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका लगायतको सहभागितामा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो ।