व्यासको पुनः मतगणनाका लागि निर्वाचन कार्यालयले पठायो मेयर पदका उम्मेदवारलाई जानकारीपत्र

निर्वाचन कार्यालय तनहुँले व्यास नगरपालिकाका मेयर पदका उम्मेदवारहरुलाई असार २ गते पुनः मतगणना हुने सम्बन्धमा जानकारीपत्र पठाएको छ । कार्यालयले मंगलबार ११ जना मेयरका उम्मेदवारलाई पत्र पठाउँदै असार २ गते मतगणना हुने जानकारी दिएको हो ।
कार्यालयकी निमित्त जिल्ला निर्वाचन अधिकारी दुर्गामाया आलेले उच्च अदालत पोखराको संयुक्त इजलासबाट विसं २०८१ जेठ १ मा व्यास नगरपालिका तनहुँको नगरप्रमुख पदको निर्वाचनका लागि विसं २०७९ मा भएको निर्वाचनको मतगणना कार्य बदर भइ मिति २०८१ असार २ गते बिहान १० बजे मतगणना गर्ने गरी आदेश भएकाले उच्च अदालत पोखरामा मतगणना हुने जानकारी गराएकी छन् ।
कार्यालयले नेकपा -माले) का उम्मेदवार अन्जना थापा, स्वतन्त्र उम्मेदवार पार्वती कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनका अनिता थापा मगर, मौलिक जरोकिलो पार्टीका रमेश पौडेल, विवेकशील साझा पार्टीका रमेशप्रसाद आचार्य, स्वतन्त्र उम्मेदवार धनबहादुर परियार, दीपकराज जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दौलत अधिकारी, नेकपा (माओवादी) केन्द्र अतिन्द्रकेशरी न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका मिना थापा र नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपानेलाई जानकारी पत्र पठाएको छ ।
यस्तै, व्यास नगरपालिका प्रमुखको पुनः मतगणना गर्न उच्च अदालत पोखराले दिएको आदेश विरुद्ध सर्वोच्च पुगेका वैकुण्ठ न्यौपानेको रिटको पेशी अब असार २ गते तोकिएको छ ।
यसअघि जेठ २७, २८ र २९ गते पेशी तोकिएकामा तीन दिन नै उक्त पेशी हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदाललते अब उक्त पेशी असार २ गतेलाई तोकेको छ ।