सांगितक कार्यक्रमसहित डुम्रेमा रमाइलो तीज कार्यक्रम

डुम्रे : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पवैका अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा रमाइलो तीज कार्यक्रम गरिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि डुम्रेमा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
डुम्रे साँस्कृतिक एवं सामाजिक विकास संरक्षण समितिले आयोजना गरेको उक्त कार्यक्रमको हरिहर महिला समूहको संयोजन र बन्दिपुर गाउँपालिकाको संरक्षकत्व रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु विनिता घर्ती मगर, मैना रेश्मी मगर तथा स्थानीय कलाकार र दिदीबहिनीहरुले सांगितक प्रस्तुती दिएको हरिहर महिला समूहकि सरिता पियाले जानकारी दिइन् ।

संरक्षण समितिका अध्यक्ष घनश्याम श्रेष्ठ देवानको सभापतित्वमा आयोजित कार्यक्रमको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शुभारम्भ गर्दै हाम्रा परम्परागत संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको तनहुँ उद्योग वाणिज्य संघ डुम्रे ईकाइका सचिव महेन्द्र शाहीले जानकारी दिए ।











