सयपत्री फूलको बजारीकरणमा आँबुखैरेनी गाउँपालिकाले सघाउँदै

दमौली : यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ ।

गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ ।”

यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ । तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।”

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

“धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ । यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ । त्यसैले स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो”, अध्यक्ष चुमानले भन्नुभयो, “यसले स्थानीय उत्पादन प्रवर्द्धन र महिलालाई आत्मनिर्भर बनाउन पनि योगदान गरिहरहेको छ । त्यस कारणले यस खेतीलाई थप व्यवस्थित बनाउने गरी पालिका लागिरहेको छ ।”

गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिरहेका छौँ, आफ्नै क्षेत्रमा उत्पादित फूललाई प्रयोगमा ल्याउन हामीले जोड दिएका छौँ। यसमा सबैको सहयोग जरूरी छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker