मासले बजार पाएपछि तनहुँको आँबुखैरेनीका कृषक उत्साहित

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् ।
छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज रूपमा बिक्री भइरहेको छ । यहाँ कृषकलाई मागअनुसार मास पु¥याउनै हम्मेहम्मे भइरहेको छ ।
खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यसपटक यहाँ उत्पादित मासले बजार पाएपछि आफूहरू खुसी भएको बताउनुुभयो । उहाँले भन्नुभयो, “विगतमा मास बिक्रीका लागि भौँतारिनुपथ्र्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो ।” आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उहाँको भनाइ छ ।
बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताउनुभयो । “बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन् तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ ।”
आँबुखैरेनीस्थित हाटबजारमा छ हजार ७५ किलोग्राम मास बिक्री भएको छ । पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो । त्यस क्रममा कृषकले रु १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् । पहिलो चरणमा रु आठ लाख ४० हजार र दोस्रो चरणमा रु तीन लाख ७५ हजारको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकिलो रु दुई सयमा मास बिक्री गरिएको छ । “माग धेरै हुँदा सबैलाई पु¥याउन सकिएको छैन”, केसीले  भन्नुभयो ।
गाउँपालिकाले हाटबजारसम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो । यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताउनुभयो । गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ । हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन् ।
हाटबजारमा प्रत्येक शुक्रबार कृषकले कृषिउपज वस्तु बिक्री वितरणका ल्याउँछन् । हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले वार्षिक रु दुई लाख ५० हजार भाडा तिर्नेगरी गाउँपालिकाले जग्गा भाडामा लिएको बताउनुभयो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने व्यवस्था गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker