रुपान्तर कृषि सहकारीको अभियान : विरुवा उत्पादनदेखि व्यवसायीक तरकारी खेती

राजकुमार आले दुलेगौंडा

च्याउसरी सहकारी खुलेका छन् । गाउँदेखि शहरका सटर सटरमा सहकारीको बोर्ड देख्न सकिन्छ । त्यसमा कृषि सहकारीहरु पनि नगन्य मात्रामा छन् । कृषि सहकारीको ऐन तथा नियमावलीमा कृषि क्षेत्रमा लगानी गर्ने भनेर उल्लेख गरिएता पनि व्यवहारत त्यस्तो पाइदैन ।

धेरै सहकारीहरुले घर जग्गा, गाडीमा ऋण प्रवाह गर्दै आए पनि कृषिमै लगानी गरेको दाबी गर्छन्। यता, सहकारी विज्ञहरुले भने सहकारीको नीति तथा मुलभुत उद्देश्य एकातिर, कारोबार अर्कोतिर भइरहेको बताउँछन् । कृषि सहकारी भन्ने तर कृषि क्षेत्रमा कुनै पनि काम नगर्ने भनेर पनि आरोप आउने गरेको छ । तर पछिल्लो समय कृषि सहकारीहरु धेरथोर कृषि तथा पशुपालनमा लगानी गर्न प्रेरित भएको देखिन्छ ।

तनहुँको शुक्लागण्डकी-६, खैरेनीटारमा स्थित रुपान्तर कृषि सहकारीले ५ रोपनी जग्गा भाडामा लिई तरकारी खेती शुरु गरेको छ । सहकारीले खैरेनीटारको प्रगति टोलमा आवासीय सुविधासहित एकजना हेरालु राखेर तरकारीको नर्सरी तथा खेती नै शुरु गरेको हो । सहकारीको फार्ममा अहिले बोडी, सिमी, ब्रो काउली, काउली, बन्दा लगाइएको सहकारीका अध्यक्ष कुलकुमार कुमालले बताए । सहकारीले पाँच सदस्यीय उपसमिति नै गठन गरी बेर्ना उत्पादन गरेर विरुवा समेत बिक्री गरेकोे उनले बताए ।

‘केही बर्षअघिदेखि नै हामीले विरुवाको नर्सरी गर्दै आएका थियौँ, यसपाली भने तरकारी नै फलाउने गरी लागि परेका छौं’, उनले भने, ‘बेर्ना तयारी भएर पनि बिक्री शुरु भइसक्यो, बोडी भने तयारी हुदैछ ।’

अध्यक्ष कुमालका अनुसार सहकारीले यसपाली ब्रोकाउली १२००, काउली ८०० र बन्दा १५०० वटा बेर्ना उत्पादन गरेको छ । फार्मबाटै काउली र बन्दा पाँच रुपैयाँको दुइ वटा र ब्रोकाउली प्रतिगोटा ४ रुपैयाँका दरले बेर्ना बिक्री भएको छ । रायको साग सहकारीले नै लगाएको छ । बेर्ना उत्पादनबाट पनि राम्रो आम्दानी भएको सहकारीले जनाएको छ । ५ सय रुपैयाँको विउबाट करिब ६ हजार आम्दानी भएको अध्यक्ष कुमालले बताए । यसअघि तोरीको साग बारीबाटै विक्री भएको उनले बताए । बजारमा ४० रुपैयाँ मुठ्ठा बिक्री भइरहेको थियो, हामीले २५ रुपैयाँमा दियौँ, सबै साग बारीबाटै बिक्री भएको अध्यक्ष कुमालले बताए ।

अध्यक्ष कुमालले भने, ‘कृषि सहकारीको नाम अनुसार कृषिमै क्रान्ति गर्ने गरी काम पनि वृहत रुपमै गर्ने योजना रहेकोे छ । यसपटक हामीले वृहत रुपमै कृषिमा काम गर्दैछौ । मौसमी तथा बेमौसमी तरकारीसंगै च्याउ, गोलभेडा, तरुल, २०० किलो आलु पनि रोप्दैछौ । सहकारीको १९ रोपनी जग्गामा बाख्रापालन र विभिन्न प्रजातिका फलफूल लगाउने योजनाका साथ सहकारी अगाडी बढेको छ ।’

यस्तै सहकारीका प्रवन्धक मार्टिना कुमालले सहकारी मार्फत् कृषिमा करिब ४ करोड लगानी भएको जानकारी दिइन् । उनले कृषकहरुलाई १३ प्रतिशतको दरले ऋण प्रवाह गर्दै आएको बताउँदै आगमीदिनमा व्याजदरमा अझै सौलियतको व्यवस्था मिलाउने बताइन् । वि.सं २०६८ सालमा स्थापित सहकारीले शुक्लागण्डकी-६, जाम्दीमा १९ रोपनी जग्गा खरिद गरी दालचिनी, कटहर, कागती, अम्रिसो लगायतका विभिन्न प्रजातिका ७०० विरुवाहरु रोपेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker