सुन्तलाबाट तनहुँमा करिब रु ४२ करोड भित्रियो, जलवायु परिवर्तनको असरले सुन्तलामा रोगको प्रकोप

तनहुँ : सुन्तला बिक्रीबाट तनहुँमा यस वर्ष करिब ४२ करोड रुपैयाँ बढि भित्रिएको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार सुन्तला बेचेर झण्डै ४२ करोड ५० लाख रुपैयाँ कृषकले कमाएका छन् । गत वर्षको तुलनामा यो वर्ष तनहुँमा २ करोड ५० लाख रुपैयाँ बढी सुन्तलाबाट आम्दानी भएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी एवं वाली संरक्षण अधिकृत किरण परियारका अनुसार तनहुँका कृषकले यस वर्ष ५ हजार ८३१ मेट्रिक टन सुन्तला विक्री गरेका छन् । कृषकले औसत ७३ रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गरेका छन् ।
तनहुँमा गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ४० करोड रुपैयाँ सुन्तला बिक्रीवितरण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा सुन्तला बिक्री बाट २९ करोड रुपैयाँ बराबरको आम्दानी भएको थियो ।
तनहुँमा १ हजार ४५७ हेक्टर क्षेत्रफल सुन्तला खेतीका लागि योग्य रहेको छ । सूचना अधिकारी परियाले भने, ‘सबै क्षेत्रमा उत्पादन हुँदैन । कही भर्खरै हुर्कदै गरेका विरुवा छन् । कतै पूराना रुख छन् । उत्पादन दिइरहेको क्षेत्रफल ९१८ हेक्टर रहेको छ ।’
देवघाट गाउँपालिकामा यो वर्ष बढी सुन्ताला उत्पादन भएको छ। देवघाटको छिपछिपे, दगारा, लुङग्रिङ सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । देवघाटपछि शुक्लागण्डकी नगरपालिकाको नाम्सीकोट, पाल्पालीछाप, अलैंचे क्षेत्रमा किसानले सुन्ताल खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन्। म्याग्दे गाउँपालिकाको उमाचोक क्षेत्र पनि सुन्तला खेतीका लागि प्रख्यात मानिन्छ ।
आँबुखैरेनी गाउँपालिका–५, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ। सुन्तला खरिदका लागि व्यापारी किसानको बगैँचासम्म पुग्ने भएकाले बजारको समस्या नरहेको ज्ञान केन्द्रले जनाएको छ ।
तनहुँका सुन्तला काठमाडौं, पोखरा, नारायणगढ लगायतका बजारमा बिक्रीवितरण हुने गरेको छ । जिल्लाको दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद, डुम्रे, आँबुखैरेनी, भीमाद लगायतका बजारमा पनि स्थानीय सुन्तला खपत हुँदै आएको छ ।
यस्तै, तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा विकास गरिएको छ। केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउँछन् ।
उनले भने, “दुई÷तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोगका समस्या आएको छ । आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मार पर्न थालेको छ ।”
“पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन”, विकले भने, “करिब १५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो ? कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ । यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाउने गरेका छौ ।”
विगतमा एउटा बोटको सुन्तला एक क्रेट हुने भए पनि अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको विकको गुनासो छ । अघिल्लो वर्षसम्म पनि प्रशस्त उत्पादन लिएको सम्झँदै उनले यो वर्ष फल कम लागेकाले उत्पादन घट्दै गएको सुनाए । गत वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका विकले यस वर्ष त्यसको आधा पनि आम्दानी नहुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।
किसान रामबहादुर अधिकारीले भने, “सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ । फूल खेल्ने बेलामा पानी नपर्ने र सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको हो जस्तो लाग्छ ।”
“यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ”, अधिकारीले भने, “त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ । आकाशे पानीको भरपर्नुपर्ने भएपनि आजकाल पानी पर्ने समय फेरिएको छ ।”
सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी परियार बताउँछन् ।
उनले भने, “प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ । कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन्। प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन् ।”
विकसित मुलुकमाभन्दा विकासिल मुलुकमा बढी जलवायु परिवर्तनको प्रभाव परिरहेको सूचना अधिकारी परियारले बताए । उनले भने, “किसानले जलवायु परिवर्तनको प्रभावका कारण यस्ता परिवर्तन भइरहेका भन्ने थाहा पाएका छैनन् । प्रत्यक्ष रूपमा खेतीबालीमा जलवायु परिवर्तनको प्रभाव परिरहेको छ ।”
सुन्तलामा समस्या आएको किसानबाट गुनासो आउने गरेको भन्दै जलवायु परिवर्तनको प्रभाव भन्ने किसानले नबुझेकाले बुझाउन समस्या हुने गरेको उनले बताए। सुन्तलामा विभिन्न संक्रमणका कारण लाग्ने रोग र उपचार केन्द्रसँग नभएको परियार बताउँछन् । सामान्य रूपमा संक्रमण न्यूनीकरणका उपाय अनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको उनले जनाए ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले विगतमा छ देखि आठ सय मिटरसम्मको उचाइ सुन्तला उत्पादन राम्रो हुने गरेको बताए । “अहिले बिस्तारै तापक्रम बढ्दै गएको छ, नौ सय मिटरभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्”, उनले भने, “सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्दछ । पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ । कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन् ।”
देवघाटको ग्रामीण क्षेत्रमा उत्पादित सुन्तला तुइन मार्फत बजार पठाइदै । तस्विर : भञ्ज्याङ
नौ सय मिटर उचाइभन्दा माथिका स्थानमा सुन्तला उत्पादन राम्रो भएको पाइएको प्रमुख लामिछानेले जानकारी दिए । गुञ्जारका सुन्तलाखेती सातदेखि आठ सय मिटर उचाइमा गरिएका छन्, ती क्षेत्रभन्दा माथिल्लो क्षेत्र उमाचोकमा करिब नौ सय मिटर उचाइमा रहेकाले यहाँ प्रशस्त उत्पादन हुने उनको भनाइ छ ।
प्रमुख लामिछानेका अनुसार जिल्लाका सुन्तला पकेट क्षेत्रमध्ये नौ सय मिटर उचाइ माथिका म्याग्दे गाउँपालिका–२ उमाचोक, देवघाट गाउँपालिका–२, ३ नम्बर वडामा सुन्तलाखेती प्रशस्त भइरहेको छ । देवघाट क्षेत्रमा बढी उचाइमा उत्पादन हुने भएकाले यस क्षेत्रका सुन्ताला स्वादिला र रसिला मानिन्छन् ।
तनहुँको म्याग्दे-३ उमाचोकको सुन्तला बगानबाट सुन्तला टिपेर ल्याउँदै गरेका स्थानीय महिलाहरु । सुन्तला खेतीले गाउँमै रोजगारीको वातावरण बनेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker