बन्दिपुर गाउँपालिका : शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा छलफल
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसाको अधिकारका विषयमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गाउँपालिकासंग उक्त विषयमा एक कार्यक्रमको आयोजना गरी छलफल गरेको हो ।
मानवअधिकार संरक्षण र सम्बर्द्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा राखेको बताए । अध्यक्ष थापाले संविधानले मौलिकहकको रुपमा व्यवस्था गरेको यी विषयहरुलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको जानकारी गराए ।
शिक्षाको मुख्य जग नै प्राथामिक र आधारभुत तहको शिक्षा भएको हुँदा प्राथमिक तहमा मन्टेश्वरी विधीको शिक्षा, धुलो रहित कक्षा कोठा तथा आधारभुत तहमा पूर्ण दरबन्दी, सुचना प्रविधिको पर्ढाई सुरु एवं माध्यमिक तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकषिर्त गर्न आवासिय र बसको व्यवस्थापन सुरु गरिएको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निःशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड-१९ संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोलेसन सहितको अस्पताल गाउँपालिकाले व्यवस्थापन गरेको अध्यक्ष थापाले दाबी गरेका छन् ।
जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको उनले बताए । बन्दिपुर अस्पतालको स्तरबृद्धी गरि ५० शैयाको बनाउने र मेडिकल शिक्षा समेत दिने गरी पूर्वाधारको निर्माण भईरहेको अध्यक्ष थापाले जानकारी गराए ।
कृषि क्षेत्रमा निकै धेरै बजेट विनियोजन गरिएको भन्दै थापाले गण्डकी प्रदेशमै पहिलो चक्लाबन्दीको कार्यक्रम बन्दिपुरबाट सुरु गरिएको बताए । खाद्यान्न मात्र नभई पोषणमा समेत योगदान दिने फलफूलको रोपणलाई समेत गाउँपाकिाले प्राथमिकतामा राखेको बताइएको छ । जनता आवास कार्यक्रम, खरको छानो विस्थापित कार्यक्रम, भुमिहिनलाई पनि आवास निर्माणको लागि पुनःनिर्माण प्राधिकरणमा सिफारिस जस्ता काम गरिएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार जनताको सबैभन्दा महत्वपूर्ण अधिकार भएको हुँदा नीति तथा योजना बनाउँदा त्यसलाई नै प्राथमिकतामा राख्ने गरेको बताइन् । नागरिकको अधिकारको कार्यान्वयन गर्दा महिलालाई विशेष प्राथमिकतामा राखिएको उनले बताइन् ।
गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा सन्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको समिक्षा तथा आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा समेटिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालबारेमा कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरुलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने र नीतिहरु बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताए ।
सुवेदीले मानवअधिकार समुहले पटक पटक बुझाएको ध्यानाकर्षा पत्रलाई पनि नीति तथा कार्यक्रम निर्माण गर्न सम्बोधन गरिएको बताए । मानवअधिकार समुह बन्दिपुरका सदस्य सुरेन्द्र थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष सन्तबहादुर गुरुङ, होटल एसोसियसन बन्दिपुरका अध्यक्ष विपिन प्रधान लगायतले आ-आफ्ना विचार राखेको कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले सहजिकरण गरेका थिए ।










