आफैले जन्माएको चार महिनाको छोराको ढुङ्गाले हानेर हत्या
दमौली : तनहुँको घिरिङ गाउँपालिका–४ थामडाँडामा एक आमाले चार महिनाको छोरालाई ढुङ्गाले हानेर हत्या गरेकी छन् । नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मले स्थायी वतन भएकी ३६ वर्षीया कमला परियारले आफैले जन्माएको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानेर हत्या गरेकी हुन् ।
तनहुँ प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भिमादबाट नवलपरासी सुस्ता पुर्व डेढगाउँ जाने सडकखण्डमा कमलाले छोरालाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएकी थिइन् ।
स्थानीयले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगेकामा उपचारका क्रममा राति ९ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
निज कमलालाई इलाका प्रहरी कार्यालय डेढगाउँले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएकामा तनहुँ अदालतबाट मंगलबार कर्तव्य ज्यान मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।










