आँबुखैरेनीका विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका सामुदायिक विद्यालयमा नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रहरी विद्यालय सम्पर्क पुस्तिका समावेश गर्ने सहमति भएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानबीच विद्यालयमा उक्त पुस्तिका समावेश गर्ने बारेमा सहमतिपत्रमा हस्ताक्षर गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क पुस्तिका २०८०’ मा उल्लेख गरिएका सामग्री गाउँपालिकाभित्रका सबै विद्यालयका पाठ्यक्रममा समावेश गर्ने सहमति भएको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
यस पाठ्यपुस्तकले विद्यार्थीमा कानुनी चेतना, सामाजिक उत्तरदायित्व र सुरक्षाबारे जानकारी बढाउने विश्वास लिइएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाले आगामी दिनमा प्रहरी र विद्यालयसँग सहकार्य गर्दै शिक्षालाई अझ सुरक्षित, सशक्त र जिम्मेवार बनाउने मार्गमा अघि बढेको छ ।”
यो पाठ्यपुस्तकले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।










