पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी : ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।
जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताउनुभयो ।
उहाँले प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने बताउनुुभयो । कूल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।
पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।
यस गाउँमा ९० प्रतिशत गुरुङ छन् । त्यसैले गुुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्वपूर्ण थलो बनेको छ । गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ ।
गाउँका प्राचीन गुुम्बा, चिया बगान, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा उपयोग गरिने होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङले बताउनुभयो । सन्तान प्राप्त नभएका दम्पत्तिले यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास छ ।
यहाँ पहिलो पटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आयआर्जनका लागि घरबास पर्यटन सुरुवात गरिएको थियो । सो कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ । सुरुमा १५ वटा घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ ।
भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुुरुङ सम्पदा पदमार्गमा समेटिएको गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुुरुङले बताउनुभयो । “कास्की, लमजुङलगायत यहाँका विभिन्न गुरुङ गाउँबाट सुुरु गरी दूधपोखरी, गुरुङ देउरालीलगायतका स्थान समेट्दै प्राचीन नून बोक्न जाने मार्ग, भेडीगोठ र खर्क जोड्ने मार्गलाई हामीले गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो, “यस पदमार्गमा भुजुङलगायतका गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने लक्ष्य छ ।”
सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्होलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा हालै भुजुङसहित सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दूधपोखरीसम्म खोज तथा अन्वेषणत्मक पदयात्रा गरिएको छ ।
जथाभावी बाटो खन्दा पदमार्ग मासिँदै गएकाले पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रुपमा गुरुङ सम्पदा पदमार्ग विकास गर्न लागिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker